२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाकिस्तानी अजिज चितवन टाइगर्समा

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन टाइगर्सले पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउँदो सिजनका लागि भित्राएको छ । अजिज ईपीएलका लागि चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् ।

पाकिस्तानी अजिज चितवन टाइगर्समा

स्टाइलिस युवा देव्रे हाते ब्याट्सम्यानले अप्रिलमा पाकिस्तानको दक्षिण अफ्रिका भ्रमणका क्रममा सेन्चुरियनमा एकदिवसीय अन्तर्राष्ट्रिय र हरारेमा जिम्बावेविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैलीमा समान्ता देखिएकाले पाकिस्तानमा उनलाई भारतका युवराज सिंहसँग पनि तुलना गर्ने गरिन्छ । अजिज पनि भारतीय स्टारलाई आफ्नो प्रेरक मान्दै आएका छन् ।

‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्राउदा हामी उत्साहित रहेका छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नयाँ आयाम दिनेछ,’ चितवन टाइगर्सको प्रेस विज्ञप्तिमा अप्रेसन्स डाइरटेक्टर विनिता चौधरीले भनेकी छिन् ।

घरेलु प्रतियोगिताबाट चर्चामा आएका खेलाडी हुन् २५ वर्षीय अजिज । उनले नेसनल टी २० कपमा असाधरण प्रर्दशन देखाएका थिए । सिन्धबाट त्यो प्रतियोगितामा खेल्दै उनले दुई अर्धशतकसहित ९ खेलमा २ सय २० रन बनाएका थिए । उनको औसत ७३.३३ र स्ट्राइक रेट १५४.९२ थियो । आफूलाई अलराउन्डर साबित गर्ने क्रममा उनले १९ को औसतमा ५ विकेट लिएका थिए । उनको इकोनोमी रेट ८.७६ रहेको थियो ।

उनले आफ्नो पावर हिटिङ क्षमता २०२१ को पाकिस्तान सुपर लिग (पीसीएल) मा देखाएका थिए । कराची किंग्सबाट खेल्दै अजिजले क्वेटा ग्लाडिएटर्सविरुद्ध १३ बलमा ४५ रन बनाएका थिए । उनले सो क्रममा ज्याक वाल्डरमथलाई एकै ओभरमा ३२ रन प्रहार गरेका थिए । त्यसमा ४ छक्का र एक चौका समावेश थियो । १८ ओभरमा १३६–५ को अवस्थामा रहँदा कराचीले उनको इनिङ्सपछि २० ओभरमा ६ विकेट गुमाइ १ सय ७६ रन बनाएको थियो । सो खेलमा १४ रनको विजय हात पार्दै कराची किंग्स प्लेअफमा पुगेको थियो ।

नेसनल टी २० कपमा उनले ४७ बलमा ७२ रन बनाएपछि सिन्धले खाइबर पाखुतन्खवामाथि अन्तिम बलमा विजय हात पारेको थियो । सिन्धलाई अन्तिम ३ बलमा १५ र अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा अजिजले इफ्तिखार अहमदको बलमा छक्का प्रहार गरी सनसनीपूर्ण विजय दिलाएका थिए । सिन्ध ३२–४ को अवस्थामा रहेको समयमा क्रिजमा आएका थिए र टोली थप पतन हुने क्रममा ७ विकेट गुमाइ ३४ रनको स्थितिमा पुगेको थियो । १ सय ३९ रनको विजय लक्ष्य लिएर आएको सिन्धबाट अजिजले अनवर अलीसँग ७७ रनको साझेदारी गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त ईपीएल असोज ९ गते देखि कीर्तिपुर मैदानमा आयोजना हुँदैछ ।

प्रकाशित : श्रावण २४, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?