कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टोकियो ओलम्पिक : भारतलाई एथलेटिक्समा १२१ वर्षपछि पदक

एएफपी

टोकियो — नीरज चोपडाले भारतलाई ट्रयाक एन्ड फिल्डमा पहिलो स्वर्ण पदक दिलाएका छन् । उनले शनिबार टोकियो ओलम्पिकको ज्याभलिन थ्रोमा ८७.५८ मिटर फाल्दै स्वर्ण जितेका थिए । यो ओलम्पिकमा भारतको पहिलो स्वर्ण पदक हो । 

टोकियो ओलम्पिक : भारतलाई एथलेटिक्समा १२१ वर्षपछि पदक

भारतले ट्रयाक एन्ड फिल्डमा १ सय २१ वर्षपछि पदक जितेको छ । सन् १९०० को पेरिस ओलम्पिकमा नोर्मन प्रिचार्डले भारतका लागि २०० मिटर दौड र २०० मिटर हर्डल्समा दुई रजत जितेका थिए । उनी ब्रिटिस–इन्डियन थिए ।

चोपडा भारतका लागि एसियाली खेलकुद र राष्ट्रमण्डलीय खेलकुदमा स्वर्ण जित्ने पहिलो खेलाडी हुन् । उनले यो सफलता २०१८ मा हात पारेका थिए । उनले टोकियोमा नयाँ कोसेढुंगा स्थापित गरे । चेक गणतन्त्रका खेलाडीद्वय ज्याकुब भाड्लेच्जले ८६.६७ मिटरबाट रजत र पूर्वविश्व च्याम्पियन भिटेजस्लाभ भेस्ली ८५.४४ मिटर फाल्दै कांस्य जिते ।

भारतले ओलम्पिक हकीमा अरू राष्ट्रभन्दा बढी पदक जितेको छ । हकीमा ४१ वर्षपछि पहिलो पदक जित्नेक्रममा भारतले टोकियोमा कांस्य जित्दा भारतमा ठूलो खुसी ल्याएको थियो । ट्रयाक एन्ड फिल्डमा पहिलो स्वर्ण जितेपछि चोपडा भारतका स्टार बनेका छन् ।

पूर्वविश्व च्याम्पियन जर्मनीका जोहन्स भेटरलाई यस इभेन्टमा स्वर्णको दाबेदार मानिएको थियो । तर उनको पहिलो तीन प्रहार निशानाभन्दा बाहिर पुगेको थियो । उनले चोपडाको तारिफ गर्दै भने, ‘उनी निकै प्रतिभावान खेलाडी हुन् र एकदमै मिलनसार छन् । उनका लागि म खुसी छु ।’

चोपडाको गृहनगर हरियाणा प्रान्तको पानिपटका बासिन्दाले ओलम्पिक ज्याभलिन थ्रोको फाइनल हेरिरहेका थिए ।

भारतका खेलकुदमन्त्री अनुराग ठाकुरले ‘गोल्डेन ब्वाइ’ को सफलतासँगै ट्विट गरेका थिए, ‘भारतको ओलम्पिक इतिहास लेखिएको छ । तपाईको एक प्रहार एक अर्ब तारिफयोग्य छ ।’

अभिनव बिन्द्राले सन् २००८ को बेइजिङ ओलम्पिकमा सुटिङको १० मिटर एयर राइफलमा स्वर्ण जितेका थिए, जुन भारतले हकीबाहेक जितेको एकमात्र स्वर्ण थियो । टोकियो ओलम्पिकमा शनिबारसम्म भारतले १ स्वर्णसहित २ रजत र ४ कांस्य पदक जितेको छ ।

प्रकाशित : श्रावण २३, २०७८ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?