कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बोल्टका उत्तराधिकारी

क्यानेडियन स्प्रिन्टर आन्द्रे डे ग्रेसले रियो ओलम्पिक २०१६ मा उसेन बोल्टसँगै प्रतिस्पर्धा गरेका थिए । यसपालि १०० मिटरमा कांस्यमै सीमित भए पनि उनले २ सय मिटरको स्वर्ण जितेका छन् ।
राजु घिसिङ

टोकियो — जमैकन उसेन बोल्टले १ सय र २ सय मिटरमा लगातार तीनपल्ट ओलम्पिक स्वर्ण जितेका थिए । उनलाई पछिल्लोपल्ट (रियो ओलम्पिक २०१६) मा चुनौती दिँदै आन्द्रे डे ग्रेस १ सयमा कांस्य र २ सय मिटरमा रजत हात पारेपछि चर्चामा थिए । त्यसको अर्को वर्ष बोल्टले संन्यास लिएपछि डे ग्रेसलाई उत्तराधिकारीका रूपमा हेरिएको थियो ।

बोल्टका उत्तराधिकारी

क्यानेडियन धावक डे ग्रेसले बोल्टको संन्यासपछि पनि विश्व च्याम्पियनसिप २०१९ मा स्वर्ण जित्न सकेनन्, तर पदक गुमाएनन् । २ सयमा रजत र १ सयमा कांस्य प्राप्त गरे । त्यसैले उनलाई टोकियो ओलम्पिक २०२० मा दुवै स्पर्धामा स्वर्णको दाबेदार मानिएको थियो । ओलम्पिककै मुख्य आकर्षणको रूपमा लिइएको १ सय मिटरमा भने टोकियोमा उनी असफल भए । अनपेक्षित रूपमा इटालीका लेमोन्ट मार्सेल ज्याकोब्सले स्वर्ण कब्जा गर्दा उनी कांस्यमै सीमित भए । त्यसैले २ सय मिटरमा पनि उनको प्रदर्शनप्रति शंका गरिएको थियो ।

दोहामा दुई वर्षअघि भएको विश्व च्याम्पियनसिपमा डे ग्रेसलाई उछिन्दै अमेरिकी धावक नोआ लिलेजले स्वर्ण जितेका थिए । यो स्पर्धामा टोकियोमा फाइनल पुगेका आठ जनामध्ये लिलेजसहित चार धावक अमेरिकी थिए । त्यसैले ओलम्पिक रंगशालामा अमेरिकी धावक हाबी हुने अनुमान गरिएको थियो । तर, उनीहरूको चुनौती समाप्त पार्दै डे ग्रेसले १९.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउँदै २ सय मिटर पूरा गरी स्वर्ण कब्जा गरे । उनीपछि अमेरिकी चार धावक रहे । यस्तोमा केनेथ बेडनारेक (१९.६८ सेकेन्ड) ले रजत र नोआ लिलेज (१९.७४ सेकेन्ड) ले कांस्य हात पारे ।

‘म यो समयको प्रतीक्षामा थिएँ,’ २६ वर्षीय डे ग्रेसले पहिलोपल्ट ओलम्पिक च्याम्पियन भएपछि भने, ‘यसकै निम्ति मैले ट्रेनिङमा निकै मिहिनेत गरेको थिएँ । म १ सय मिटर (कांस्य प्राप्त गरेको) फर्किंदा केही निराश भएको थिएँ । किनभने मैले त्योभन्दा राम्रो गर्न सक्थें । मैले जानुपर्छ र २ सयमा दौडिनुपर्छ, जानैपर्छ र यसमा जित्नैपर्छ भनेको थिएँ ।’

उनले थपे, ‘अमेरिकी धावकहरूले कडा चुनौती दिनेछन् भन्ने मलाई थाह थियो । उनीहरूले नै मेरो करिअरकै उत्कृष्ट प्रदर्शनसम्म पुर्‍याएँ । व्यक्तिगत उत्कृष्ट प्रदर्शन पनि ५ वर्षयताकै राम्रो गरें । यो राम्रो भयो, जसले अन्ततः सफलता दिलायो । प्रतिस्पर्धा राम्रो रह्यो ।’ तीन स्पर्धामा सहभागी उनले चार गुणा १ सय मिटर रिलेमा पनि प्रतिस्पर्धा गर्नेछन् । उनले ५ वर्षअघि रियोमा यो टिम स्पर्धामा कांस्य हात पारेका थिए 

सिड्नीको विश्व कीर्तिमान

३२ औं गृष्मकालीन ओलम्पिकको १२ औं दिन एथलेटिक्समा केन्या, पोल्यान्ड, युगान्डा र अमेरिकाले पनि एक–एक स्वर्ण जित्यो ।

महिला ४ सय मिटर हर्डल्समा अमेरिकी सिड्नी म्याक्लफिनले ५१.४६ सेकेन्डसहित आफ्नै नामको विश्व कीर्तिमान तोड्दै स्वर्ण जितेकी हुन् । यसमा अर्की अमेरिकी डालिया मुहमदले रजत र नेदरल्यान्ड्सकी फेम्के बोलले कांस्य प्राप्त गरे ।

पेरुथ चेमुताईले अमेरिकी कर्टनी फ्रेरिसलाई पछाडि पार्दै महिला ३ हजार मिटर स्टिपलचेजको स्वर्ण युगान्डालाई दिलाइन् । वोज्किच पोविच्कीले पोल्यान्डलाई पुरुष ह्यामर थ्रोको स्वर्ण दिलाए । पुरुष ८ सय मिटर दौडमा केन्याका दुई धावकको प्रतिस्पर्धा रह्यो । त्यसमा इमानुयल कोरिरले फर्गुसन रोटिचलाई पन्छाउँदै स्वर्ण हात पारे ।

प्रकाशित : श्रावण २१, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?