१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ब्राजिल टाइब्रेकरमा मेक्सिकोलाई पन्छाउँदै फाइनलमा

राजु घिसिङ

टोकियो — डिफेन्डिङ च्याम्पियन ब्राजिल टोकियो ओलम्पिक २०२० मा मंगलबार पेनाल्टी सुटआउटमा मेक्सिकोलाई पन्छाउँदै पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिल टाइब्रेकरमा मेक्सिकोलाई पन्छाउँदै फाइनलमा

इबाराकी कासिमा रंगशालामा भएको सेमिफाइनलमा एक घन्टा २० मिनेट (अतिरिक्त समयको ३० मिनेटसहित) को प्रतिस्पर्धा गोलरहित सकिएपछि भएको टाइब्रेकरमा ४–१ को जित निकाल्दै ब्राजिल ओलम्पिक स्वर्णपदक रक्षाको नजिक पुगेको हो ।

ब्राजिली गोलकिपर सान्तोसले मेक्सिकोको पहिलो प्रहारमै एडुआर्डो अगुइरेलाई असफल पारिदिए । त्यसमा सान्तोसले उत्कृष्ट बचाउ गरे । त्यसपछि जोहान भास्क्वेजको प्रहारमा बल पोष्टमा लागेपछि ब्राजिललाई फाइनल प्रवेश गर्न गाह्रो भएन ।

बर्सिलोनाका पूर्वफुलब्याक ड्यानी आलभेस, ग्याब्रियल मार्टिनेली, ब्रुनो गुइमेरस र रेइनरले पेनाल्टी सुटआउटमा सटिक प्रहार गरेपछि ब्राजिल लगातार तेस्रोपल्ट ओलम्पिक फुटबलको फाइनलमा पुग्यो ।

निर्धारित समयमै ब्राजिल जितनजिक पुगेको थियो । तर, इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले ८२ औं मिनेटरमा गरेको हेडरमा गोलपोष्ट बाधक बनेको थियो । त्यसैले खेल टाइब्रेकरसम्म लम्बियो ।

लन्डन ओलम्पिक २०१२ मा स्वर्णको प्रतिस्पर्धामा मेक्सिकोले ब्राजिललाई २–१ ले हराएको थियो । घरेलु भूमिमा भएको रियो ओलम्पिक २०१६ मा भने ब्राजिल टाइब्रेकरमा जर्मनीलाई पराजित गर्दै पहिलोपल्ट ओलम्पिक च्याम्पियन भएको थियो ।

नेयमार प्रेरित त्यो सफलतालाई आलभेसको नेतृत्वमा ब्राजिलले टोकियोमा रक्षा गर्ने अपेक्षा गरिएको छ । ब्राजिलले योकोहामा रंगशालामा शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनल (जापानविरुद्ध स्पेन) को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : श्रावण १९, २०७८ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?