कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

संन्यासपछि पारसको अर्को बाटो

विनोद पाण्डे

काठमाडौँ — ‘अब अर्को बाटोको बारेमा सोचिएको छ,’ बिहानबिहानै एकदमै ठूलो स्तब्धपूर्ण समाचार आयो भन्ने प्रश्न राख्न नपाउँदै पारस खड्काले यस्तो उत्तर तेर्स्याइसकेका थिए ।

संन्यासपछि पारसको अर्को बाटो

नेपाली क्रिकेटका सदाबहार खेलाडी पारसले मंगलबार बिहानै समाजिक सञ्जालमार्फत आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटलाई टुंगाएका थिए । पारसले राष्ट्रिय टोलीबाट खेल्न लागेकै १७ वर्ष भयो । यो एउटा खेलाडीको हिसाबमा निकै लामो हो । तर पारसको संन्यासले नेपाली खेलकुदमा एउटा तरङ ल्याएको छ ।

पारसले दसैं अगाडिसम्म संन्यास लिन सक्ने अड्कल नकाटिएको होइन । पारसको संन्यासको कारण त्यही अड्कल वरिपरि नै आयो । अर्थात् उनले ‘अब अर्को बाटोको बारेमा’ सोचिसकेका थिए, जसका लागि उनले संन्यास नलिइ सुखै थिएन ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बन फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन भएको असोजमा दुई वर्ष पुग्दै छ । यसको पदावधि ४ वर्षको कार्यकाल हुन्छ । क्यानको विधानमा हाल खेलिरहेका खेलाडी यदि जिल्ला, क्षेत्र वा खेलाडीमार्फत् बोर्डमा आउन खोज्छ भने उसले खेल्न छाडेको २ वर्ष हुनुपर्ने उल्लेख छ ।

क्यानमा अब आउने इच्छा त छ, इच्छा भन्दा पनि काम गरेर देखाउनु पर्नेमा पारसको जोड छ । ‘क्यानको विधानमै यदि खेलाडी जिल्ला पदाधिकारी हुँदै क्यानमा आउन खोज्छ भने उसले दुई वर्ष अगाडि खेल्न छाडेको हुनुपर्छ । सबै आफूले भनेको जस्तो पनि हुँदैन, तर संन्यास लिनुको एउटा कारण त्यो पनि हो,’ पारसले व्यवस्थापनमा आउन लाग्नुको कारण दिए, ‘क्यानको अगामी चुनावलाई ठ्याक्कै दुई वर्ष बाँकी छ । व्यवस्थापनमा म मात्र आएर पनि हुँदैन, यसमा टिम हुनुपर्छ । मेरो क्रिकेटको अनुभवलाई, सोचलाई एउटा पद्धतिमार्फत ल्याउन प्रयास गर्नेछौं । नेपालको सम्भावना धेरै छ, यसलाई अर्को भूमिकाबाट अलिकति बाटो देखाउन आफूलाई प्रस्तुत गर्नेछु ।’

बाहिरबाट हेर्दा टिम भित्रको भन्दा पनि टिम बाहिरको प्रयास चुनौतीपूर्ण रहेको उनको बुझाइ छ । उनी क्रिकेट खेलाडी संघको महासचिव पनि हुन् । उनी सबै पक्ष दोहोरिँदै आएकोमा आजित भइसकेका थिए ।

‘पछिल्ला वर्षहरुमा सबै कुरा धेरै नै भइसकेको थियो । नेपाली क्रिकेटको पद्धति परिवर्तन गर्ने र पद्धतिमै आउने पनि लक्ष्य हो, त्यसका लागि बाटो खुल्नु पनि पर्‍यो । गाह्रो छ यो बाटो तर चुनौती त लिनै पर्‍यो नि । चुनौती लिएर नै यहाँसम्म आइपुगेको छु । म त मान्छे हुँ, कति एउटै कुरामा अडकिएर बस्ने । पहिला जे गर्‍यो फेरि त्यसैलाई दोहर्‍याउनु सम्भव पनि छैन । क्रिकेटको जुन संरचना छ, जुन अवस्था छ, क्रिकेट खेलमा जोडिएका व्यक्तिहरु, टिममा जुन सोचाइ छ त्यो हेर्दा मैले मैदान भित्रबाट गर्नसक्ने यत्ति नै थियो,’ पारसले भने, ‘मैले कत्तिको योगदान दिन सक्थे त्यसको आधारमा आफैले आफैलाई मूल्यांकन गरेको हुँ । खेल्ने इच्छा भनेको त कहिल्यै पनि मर्दैन, तर त्यो सोच्दा सोच्दै यदी मैले खेल छाडेर व्यवस्थापनमा आउने बाटो खुल्छ भनेर मैले यो बाटो अपनाएको हुँ । यसमा सफल हुन्छु भन्ने केही निश्चित छैन, तर म कोसिस गरिरहने छु ।

कप्तानसँगै संन्यास लिन चाहन्थे

पारसले २००९ मा एसीसी ट्वान्टी–२० मार्फत नेपालको कप्तानी समहालेका थिए । त्यसको १० वर्षपछि उनले ओमानमा भएको भएको पाँच राष्ट्र सम्मिलित ट्वान्टी–२० राष्ट्रिय प्रतियोगितापछि कप्तानी त्यागेका थिए । पारसको कप्तानीमा विश्व क्रिकेट लिगमा डिभिजन ५ मा रहेको नेपाल डिभिजन ४, डिभिजन ३ जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बनेको थियो भने २०१४ मा बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

पारस कप्तानीसँगै अन्तर्राष्ट्रिय खेल जीवन टुंग्याउनेमा रहेका खुलासा उनले गरेका छन् । ‘मैले संन्यासको बारेमा सोचिरहेको थिएँ, साँच्चै भन्नु पर्दा मैले कप्तानी छाडेकै बेलामा नखेल्ने निर्णयमा पुगिसकेको थिएँ । तर त्यत्ति बेला टिमलाई स्थिरता चाहिएको थियो, ज्ञानेन्द्र मल्ल नयाँ कप्तान भएकाले मेरो समर्थन पनि चाहिन्थ्यो । एकदिवसीय अन्तर्राष्ट्रिय साइकलमा पनि धेरै म्याचहरु थियो । त्यही भएर अझ केही समय खेलौं भनेर खेलेको हुँ,’ उनले भने ।

पारस १० वर्ष कप्तान हुँदा ज्ञानेन्द्र उपकप्तान रहे । पारसले नेतृत्व छाडेपछि ज्ञानेन्द्र कप्तानमा आए । ज्ञानेन्द्रको कप्तानीमा नेपाल अर्को महिना ओमानमा विश्वकप छनोट शृंखला २ खेल्न जादैंछ । पारसले कम्तीमा त्यो प्रतियोगिता खेलेर संन्यास लिन सक्ने अनुमान गरिएको थियो ।

‘अझै खेल्छु भनेर अन्यौलमा राख्नु बेकार हो । टिमको अब पुनर्स‌ंरचना हुनुपर्छ, नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हो, ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एकदमै राम्रो खेलिरहेको छ । आशा छ टिमले यसलाई निरन्तरता दिनेछ,’ उनी आफ्नो संन्यासको अर्को कारण खुलाउँछन्, ‘अझ ठूलो सोच लिएर अगाडि बढ्ने मेरो बानी थियो र रहिरहने छ । त्यहि भएर अहिलेलाई खेल जीवन यही सकाएको हो । एउटा शृंखला बढी खेल्दैमा अझ धेरै असर पर्छ जस्तो चाहिँ मलाई लाग्दैन । त्यसै पनि दृढ निश्चितता ममा हराइसकेको छ । अब पनि मैदानमा गएर लडेर, डटेर म खेल्न सक्दिनँ ।’

उनले अगाडि भने, ‘आज जे पनि छु त्यो दृढ संकल्पका कारण नै छु । अब फेरि मैदानमा बसेर म यो दोहर्‍याउन सक्दिनँ । मेरो संन्यास सही वा गलत थियो भन्दा पनि यसको वास्तविक प्रभाव अगामी ७–८ वर्षमा देखिन सक्छ र अहिलेभन्दा पनि त्यत्ति खेर मूल्यांकन गर्दा अझ ठिक हुनेछ ।’

घरेलु क्रिकेटमा पनि नदेखिन सक्छन्

अन्तर्राष्ट्रिय क्रिकेटमा संन्यासको घोषणा गरेपनि घरेलु क्रिकेटको बारेमा आफूले केही नसोचेको पारस बताउँछन् । असोज ९ गते देखि एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजना हुँदैछ । पारस यसमा विशाल वारियर्सका कप्तान हुन् । पारसको भनाइ मान्ने हो भने ईपीएलमा पारसको सहभागिता अनिश्चित देखिन्छ ।

‘केही समय खुल्ला भएर बस्ने छु । यही निर्णयका लागि पनि मैले धेरै पटक सोचें । के गर्ने कसो गर्ने भनेर । यही सोच्दासोच्दै पनि लगभग दुई वर्ष गइसक्यो । त्यसैले मलाई लाग्यो यो सही समय हो । एक न एक दिन हरेक खेलाडीको यात्रा टुंगिन्छ,’ पारस व्यवस्थापन तर्फको लक्ष्यमै केन्द्रित हुँदै भन्छन्, ‘त्यो हुँदाहुँदै पनि हामीले ध्यान दिनु पर्ने के हो भने खेलिरहदाको असर र खेल्न छाडेर व्यवस्थापनको भूमिकामा सकरात्मक प्रभाव पार्न सकिन्छ भने म अर्को बाटो प्रयोग गर्न गइरहेको छु । सबैको सहयोग गर्ने हो भने कहीँ न कहीँ पुग्नेमा निश्चित छु ।’

फाइल तस्बिर

किन चाहेनन् मैदानबाटै संन्यास

एउटा खेलाडीको ठूलो इच्छा उसले अन्तिम खेल खेलेर मैदानबाटै संन्यास लिनु हुन्छ । पारसले त्यसमा रत्तिभर पनि इच्छा देखाएनन् । यसै सातामात्र अर्का भेट्रान महबुब आलमले क्यानबाट आफ्नो संन्यासमा यस्तै अपेक्षा गरेका थिए । शक्ति गौचनले पनि आफ्नो खेलाडी जीवनको बिदाइ नेपालमा अन्तिम खेल खेलेर मैदानबाट लिनका लागि प्रस्ताव राखेका थिए, जुन क्यानले पूरा गर्न सकेन ।

‘मैदानबाट संन्यास लिने चाहना मेरो कहिल्यै पनि थिएन । आफ्नो खेल जीवनको संघारमा रहेका बसन्त रेग्मीसहित कति खेलाडीमा यो चाहना होला, उहाँहरु यसका लागि हकदार पनि हुनुहुन्छ । शक्ति गौचन दाइले पनि ३ वर्ष अगाडि यस्तै चाहना राख्नुभएको थियो । नेपाल क्रिकेटलाई उहाँले दिएको योगदान ठूलो छ । त्यसैले उहाँहरुको मूल्यांकन हुनुपर्छ, मेरो त्यस्तो कुनै व्यक्तिगत योजना नै रहेन,’ समर्थकहरु अन्तिम पटक पारसलाई मैदानमा हेर्न चाहन्थे होला भन्ने प्रश्नमा उनले भने, ‘त्यसलाई विभिन्न तरिकाले हेर्न सकिन्छ । अगामी दिनमा क्रिकेटमा कुनै न कुनै रुपमा लागेर अगाडि बढ्ने नै छु । क्रिकेट एकेडेमी लिएर आउने योजनामा छु । म उभिएर नेपाल क्रिकेटको राम्रो हुन्छ भने म कुनै पनि ठाउँ कुनै पनि परिस्थितिमा उभिन तयार छु ।’

नैतिक प्रश्न !

केही समय अगाडि एउटा संस्थामा लागेर पारसमाथि स्वार्थ बाझिएको भन्दै नैतिक प्रश्न गरिएको थियो । त्यसले पनि संन्यास लिन बाध्य बनाएको त होइन भन्ने प्रश्नलाई ठाडै अस्वीकार गरिदिए । प्रश्न गर्ने मान्छेको नै नेपाली क्रिकेटमा धेरै स्वार्थ बाझिएकाले, उसले अरुलाई प्रश्न गर्न नसक्ने जनाउँछन् ।

‘क्रिकेटमा इमान्दार भएर लागेको मान्छे हामीलाई लुकाउनु पर्ने केही छैन । क्रिकेटको माफियाहरुलाई मैले जवाफ दिनु पर्ने जरुरी छैन । सबै पद्धतिको कुरा हो । स्वार्थ बाझिने काम धेरै वर्ष अगाडिदेखि खेलाडी र संघका पदाधिकारीबीच भइ नै रहेको छ । त्यो हुँदाहुँदै पनि नेपाली क्रिकेट यहाँसम्म आइपुगेको हो । त्यसमा सबैको आआफ्नो तरिकाले ठूलो योगदान छ,’ पारसले भने, ‘तर अगामी दिनमा हामीले क्रिकेटलाई एकदम सफा राख्ने हो, उच्च स्थानमा पुगेको हेर्न चाहने हो भने सबैजना व्यवस्थित, इमान्दार भएर लाग्नु पर्छ । व्यक्ति विषयमा अड्किनुभन्दा पनि क्रिकेट संघले आफ्नो खेलाडीहरुलाई माया, सम्मान र संरक्षण गर्नु जरुरी छ । यो एउटा केस होइन, धेरै अरु पनि छन् जसले खेलाडीहरु आधारभूत सुविधा पाउन वञ्चित छन् । त्यसैले मेरा लागि यो झिनोमसिनो विषय हो, क्रिकेटसँग कुनै सरोकार नै नभएकाहरुको माफियाको बारेमा मलाई कुरा गर्नु पनि छैन ।’

‘प्रश्न मलाई गरियो स्वार्थ बाझिएको विषयमा,’ पारसले आक्रोश पोखे, ‘यदि प्रश्नको हाजिर जवाफ गर्ने हो भने म जहाँ पनि उत्तर दिनलाई तयार छु । तर उनीहरु त्यो ठाउमा पुगेर जवाफ दिन्छन् जस्तो मलाई लाग्दैन । आफ्नो जीवनकालमा मलाई क्रिकेटले सबै दिएको छ । त्यसैले नेपाल क्रिकेटबाट म कहिल्यै पनि टाढिन्न र इमानदार प्रयास सधै राखिरहने छु ।’

फर्केर हेर्दा

आफ्नो खेल जीवनलाई पछाडि फर्केर हेर्दा उनी निकै खुशी र आत्मसन्तुष्ट छन् । नेपालले ट्वान्टी–२० विश्वकप खेल्नु र एकदिवसीय मान्यता पाउनु बाहेक अघिल्लो वर्ष पारसलाई आईसीसीले शताब्दीको उत्कृष्ट खेलाडीको मनोनयनमा राखेको थियो । पारस नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय, एकदिवसीय अन्तर्राष्ट्रिय र लिष्ट ‘ए’ मा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

‘जुन सफलता हामीले एउटा टिमको रुपमा हासिल गर्यौं, त्यसले एउटा सामन्य मान्छेलाई पनि सपना देख्ने बाटो देखायौं र सपना पूरा हुन सक्छ भन्ने विश्वास दिलायो । नेपाल क्रिकेटले यो उदाहरण प्रस्तुत गरेको थियो । क्रिकेटले नेपाललाई बाँध्न सक्यो, मेरो खेल जीवनको त्यही नै ठूलो उपलब्धि हो,’ पारस आफ्नो खेल जीवनलाई उपलब्धिपूर्ण लिन्छन्, ‘जबकी म क्रिकेट खेल्छु, खेलाडी बन्छु भन्ने कुनै सपना पनि थिएन । मेरो भाग्यमै क्रिकेट खेल्न लेखिएको थियो । मेरो कति निर्णय सही थियो, कति गलत । तर मेरो निर्णयमा कहिल्यै खोट थिएन, छैन र हुने पनि छैन । धेरै खुशीको क्षणहरु लिएर मैले आफ्नो संन्यासको घोषणा गरेको हुँ । मसँग तीतोभन्दा मीठा क्षणहरुको याद धेरै छ ।’

प्रकाशित : श्रावण १९, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?