१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एन्फामा राजीनामा लहर

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) मा अहिले राजीनामाको पहिरो चलिरहेको छ । त्यसै क्रममा सोमबार नयाँ पात्र थपिएका छन् । उनी हुन् प्रवक्ता किरण राई । 

एन्फामा राजीनामा लहर

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासामु उनले राजीनामा दिए र त्यसपछि नेपाली मिडियासामु प्रस्तुत भए । त्यसक्रममा उनले तीन खास मुद्दा उठाउने प्रयास गरे । सबैभन्दा पहिले उनले आफूले प्रवक्ता पदबाट राजीनामा दिनुको कारण प्रस्ट पारे । उनले दिएको तर्क थियो, प्रवक्ताको आफ्नै सीमा हुन्छ, त्यसैले त्यसमा रहेर स्वतन्त्रपूर्वक आफ्नो विचार पोख्न पाइन्न ।

प्रवक्ता पदबाट राजीनामा दिए पनि उनी एन्फा केन्द्रीय सदस्यको भूमिकामा कायम रहनेछन् । उनले आफू कुनै कित्तामा उभिन राजीनामा दिएको नभई केन्द्रीय सदस्यका रूपमा रहेर आफ्ना धारणा प्रस्तुत गर्ने र त्यसमा बहस सुरु गर्ने रहेको बताए । प्रवक्ता पद छाडेर स्वतन्त्र महसुस गरेका राईले उठाएको पहिलो मुद्दा हो, एन्फाले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच चलिरहेको विवादको प्रकरण छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई सुम्पिनु गलत थियो ।

यसले गलत नजिर बस्छ र यसले भविष्यमा गएर चर्को समस्या उत्पन्न गराउने छ । उनले भने, ‘फुटबलको विश्वव्यापी मान्यता हो, यो खेलका उत्पन्न समस्या र विवाद यसभित्रै समाधान गर्नुपर्छ, बाहिर जानुहुन्न । यसले फुटबलको सर्वोच्च निकाय फिफाको मान्यता तोड्ने काम भएको छ । यदि मन्त्रालयले छानबिन पनि उपाध्यक्षलाई दोषी ठहराउँछ र कारबाही गर्छ भने त्यसलाई स्विकार्ने कि नस्विकार्ने ? हामीले छानबिन हामीभित्रबाट नै गर्नुपर्थ्यो । यस्तो गरेनौं र नराम्रोसँग चुक्यौं ।’

उनले थपे, ‘फुटबलमा यस्तै विवाद र समस्या समाधानका लागि सबै निकाय छन्, उजुरीदेखि छानबिन र अनुशासन कमिटीसम्म पनि ।’ यति भनेपछि उनले आफ्नो मुद्दा मुद्दामा प्रवेश गर्दै भने, ‘अहिले नेपाली फुटबल गम्भीर समस्यामा छ । हामीबीच शक्तिसंघर्ष चलिरहेको छ । अहिले जे जस्तो भइरहेको छ, त्यो ठीक छैन । यसको अन्त्य हुनैपर्छ, रोकिनुपर्छ । मैले अब यसको समाधान भनेको चाँडै चुनावमा प्रवेश गर्ने नै हो । हामीले अहिलेसम्म तीन वर्ष र सात महिना बिताइसकेका छौं । पूर्ण कार्यकाल सकिनुभन्दा अब चाँडै चुनावी प्रक्रिया सुरु गर्नुपर्छ ।’

‘त्यसपछि आउने कार्यसमितिले मात्र अबको विवाद र समस्या समाधान गर्नुपर्छ,’ उनले भने । उनले उठाएको तेस्रो मुद्दाबारे भने उनी विस्तृतमा जान चाहेनन् । बरू यतिमात्र भने, ‘वरिष्ठ उपाध्यक्ष नेम्वाङप्रति अन्याय भएको छ ।’ उनले अन्त्यमा के माने भने आफूले उठाएका सबै मुद्दा ठीक हुनुपर्छ भन्ने पनि छैन, विवाद र समस्या समाधानका लागि अन्य विकल्प पनि हुन सक्छन् । त्यसैले सबै बहसमा अगाडि आउनुपर्छ र चित्त बुझाउने गरेर सम्झाउन सक्नुपर्छ ।

त्यस्तै एन्फाका सहायक महासचिव वसन्तराज अर्यालले पनि राजीनामा दिएका थिए । टेक्निकल डाइरेक्टर कृष्ण थापा, होस्टल व्यवस्थापनका तीनजनाले पनि राजीनामा दिएका थिए । प्रशिक्षक अल्मुताइरीले पनि ट्वीटरमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रकाशित : श्रावण १९, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?