कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कप्तानमा सन्दीप

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् । सोमबार २१ औं जन्मदिन मनाइरहेका सन्दीपका लागि काठमाडौं किंग्सले यस्तो घोषणा गरेको हो ।

कप्तानमा सन्दीप

सन्दीपले सन् २०१९ को पछिल्लो सिजन ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गरेका थिए । च्याम्पियन बनेको प्याट्रियट्सबाट केही खेल खेलेपछि उनी बिग बास खेल्न अस्ट्रेलिया लागेका थिए । गत वर्ष उनी प्याट्रियट्सबाट काठमाडौं किंग्स आएका थिए । तर कोभिड–१९ महामारीका कारण पछिल्लो दुई सिजन ईपीएल हुन नसक्दा सन्दीपले काठमाडौं किंग्सबाट ‘डेब्यु’ गर्न पाएका छैनन् ।

काठमाडौं किंग्सले चितवन टाइगर्सबाट ‘ट्रेड’ मार्फत दीपेन्द्रसिंह ऐरीलाई गत वर्ष नै ल्याए पनि सन्दीपलाई कप्तानी दिने निर्णय गरेको हो । सोमपाल कामी चितवन गएपछि काठमाडौं किंग्स कप्तानविहीन थियो । विश्वका प्रायः सबै फ्रेन्चाइज लिग खेलेर ग्लोब स्टार बनेका सन्दीप घरेलु फ्रेन्चाइज लिगमा दोस्रोपल्ट कप्तान बन्न लागेका हुन् । यसअघि २०१९ मा उनले विराटनगर टाइटन्सको नेतृत्व गरेका थिए ।

‘सन्दीप लामिछाने नेपाली क्रिकेटको ग्लोबल ब्रान्ड छवि हुन् । उनले आफूलाई ट्वान्टी–२० खेलाडीका रूपमा स्थापित गर्दै यस्तो युवा उमेरमा विश्वका प्रायः लिगमा खेलेका छन्,’ काठमाडौं किंग्सका प्रमुख कार्यकारी अधिकृत राजजंग थापाले भने, ‘सन्दीपलाई जन्मदिनको दिन कप्तानका रूपमा घोषणा गर्न पाउँदा हामीलाई गर्व लागिरहेको छ । नयाँ यात्राका लागि हामी उनलाई शुभकामना दिन्छौं ।’

रमेशक्रपको सहायक कम्पनी टेलिहोल्डिङ्सको स्वामित्वमा रहेको काठमाडौं किंग्सले अघिल्लो साता पाकिस्तानी भेट्रान अलराउन्डर साहिद अफ्रिदीलाई आइकोनिक खेलाडीको रूपमा लिएको थियो । नेपालबाट एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीपले अफ्रिदीसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीले भरिएको टोलीको कप्तान बन्न पाउँदा आफू उत्साहित रहेको जनाए । ईपीएल असोज ९ देखि हुने तालिका छ ।

प्रकाशित : श्रावण १९, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?