कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

टोकियो ओलम्पिक–२०२० : बेलारुसी खेलाडीलाई शरण

देश फर्कंदा असुरक्षा महसुस गरेकी धाविकालाई पोल्यान्डको मानवीय भिसा
एपी

टोकियो — बेलारुसकी ओलम्पिक स्प्रिन्टरले आफ्नो देशको निरंकुश सरकारबाट असुरक्षा रहेको भन्दै पोल्यान्डमा शरण लिने तयारी गरेकी छन् । आफ्नै टिम व्यवस्थापनको आलोचना गरेपछि यी खेलाडीलाई बेलारुसी ओलम्पिक अधिकारीले प्रतियोगिता खेल्न नदिई जबर्जस्ती घर फिर्ता पठाउने प्रयास गरेका थिए । 

टोकियो ओलम्पिक–२०२० : बेलारुसी खेलाडीलाई शरण

टोकियो ओलम्पिकमा महिला १ सय र २ सय मिटर दौडमा सहभागिताका लागि आएकी २४ वर्षीया धाविका क्रिस्टिना सिमनोस्कायाले टोकियोस्थित पोलिस दूतावासबाट मानवीय भिसा प्राप्त गरेकी छन् । बेलारुसको एउटा अधिकारवादी संस्था द बेलारुसियन स्पोर्टस सोलिडारिटी फाउन्डेसनले उनलाई सहयोग गरिरहेको छ । फाउन्डेसनले समाचार संस्था एपीलाई जानकारी दिएअनुसार क्रिस्टिनाले अगस्ट ४ मा वार्सा जाने हवाई टिकट पाएकी छन् ।

क्रिस्टिनाले आफ्नो टिमको व्यवस्थापन अधिकारीहरूमाथि प्रश्न उठाएपछि यो विवादको सुरुआत भएको हो । बेलारुसको राज्य समर्थित सञ्चारमाध्यमले यो प्रकरणलाई आवश्यकभन्दा धेरै उचालेर खेलाडीप्रति नकारात्मक भाव पैदा गराएको आरोप लागेको छ । क्रिस्टिनाले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेअनुसार उनलाई ४ गुणा ४ सय मिटर रिले दौडमा जबरजस्ती समावेश गरियो, जबकि त्यो स्पर्धा उनले कहिल्यै खेलेकी थिइनन् ।

क्रिस्टिनालाई खेलाडी भिलेजबाट जबरजस्ती नागोया विमानस्थलमा पुर्‍याइएको थियो । उनले इस्तानबुल उड्न लागेको जहाजमा बस्न अस्वीकार गरी जापानी प्रहरीको सहयोग मागेकी थिइन् । सामाजिक सञ्जालमा प्रशारित एउटा भिडियो सन्देशमा उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सँग पनि सहयोग मागेकी छन् ।

‘मलाई उनीहरूले निकै दबाब दिइरहेका छन् । मलाई मेरो सहमतिबिना यो देशबाट बाहिर लैजाने प्रयास भइरहेको छ,’ २४ वर्षीया धाविकाले भिडियो सन्देशमा भनेकी छन् । बेलारुसको निरंकुश सरकारमाथि केही समयअघि आफ्ना आलोचक पत्रकारलाई पक्राउ गर्न जहाज नै अपहरण गरेको आरोप लागेको थियो । यस घटनाले ओलम्पिकलाई अन्तर्राष्ट्रिय राजनीतिक मुद्दाको केन्द्रका रूपमा स्थापित गराउने प्रयास भइरहेको छ । कोरोना महामारीको समयमा जापानले गरेको ओलम्पिक आयोजनाको प्रयास त्यहींकै विपक्षी पार्टीले विरोध गरिरहेको छ ।

गत वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनपछि बेलारुसको सरकारले आफ्ना आलोचकलाई बारम्बार निशाना बनाउँदै आएको छ । आफ्ना आलोचकको मुख बन्द गर्न जस्तोसुकै हर्कत गर्न थालेको छ । जस्तै हालै एउटा विमान अपहरण प्रकरण सार्वजनिक भएको थियो । त्यसलाई युरोपेली अधिकारीहरूले हवाई चोरीको आरोप लगाएका थिए ।

स्पोर्टस फाउन्डेसनका अनुसार यो प्रकरणमा राज्य नियन्त्रित सञ्चारमाध्यमले उनीविरुद्ध अभियान सुरु गरेको थाहा पाएपछि क्रिस्टिनालाई आफ्नो सुरक्षा चिन्ता बढेको हो । ‘यो प्रकरण निकै गम्भीर छ । यो प्रस्ट संकेत छ कि बेलारुसमा उनको जीवन खतरामा छ,’ फाउन्डेसनका प्रवक्ता अलेक्जान्डर ओपिकिनले भने । ओलम्पिकजस्तो विश्वव्यापी खेलकुद महामेलाका क्रममा खेलाडीले शरण माग्ने घटना कुनै नयाँ होइन । शीतयुद्धताका यो क्रम व्यापक थियो । पछिल्ला दशकमा छिटपुट रूपमा खेलाडीले शरण माग्ने गरेका थिए ।

आरोपको गम्भीर्यता हेरेर थुप्रै समूह र देशले क्रिस्टिनाको सहयोग अपीलमा प्रतिक्रिया दिएका थिए । पोल्यान्ड र चेक गणतन्त्रले उनलाई आफ्नो देशमा बस्न सार्वजनिक अपिल गरेका थिए । जापानको विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र टोकियो ओलम्पिक आयोजक कमिटीसँग छलफल गरिरहेको जनाइएको छ ।

टोकियो ओलम्पिकअघि नै बेलारुस ओलम्पिक कमिटीसँग विवादमा फसेको आईओसीले पनि क्रिस्टिनाको मागमा आफूहरूले हस्तक्षेप गर्ने प्रस्ट पारिरहेको छ । ‘हामीले घटनाक्रम नजिकबाट निरीक्षण गरिरहेका छौं र बेलारुसको राष्ट्रिय ओलम्पिक कमिटीसँग स्पष्टीकरण मागेका छौं,’ आईओसीको वक्तव्यमा भनिएको छ ।

बेलारुस सरकारका थुप्रै आलोचक अहिले पोल्यान्डमा शरण लिएर बसेका छन् । पोल्यान्डका उप–विदेशमन्त्री मार्सिन पेरिडाजले ट्विटरमार्फत क्रिस्टिनालाई मानवीय भिसा उपलब्ध गराएको जानकारी दिँदै भनेका छन्, ‘ क्रिस्टिनालाई उनको खेल करिअर जारी राख्न आवश्यक पर्ने सबै सहयोग गर्न पोल्यान्ड तयार छ ।’

सोमबार टोकियोस्थित पोलिस दूतावासबाहिर देश निकालामा परेका दुई बेलारुसी महिलाले क्रिस्टिनाको समर्थनमा प्रदर्शन गरेका थिए । उनीहरूले जापानको झन्डासहित विरोधको ब्यानर प्रदर्शन गरे । क्रिस्टिनाले जापानी विमानस्थलबाट शरणका लागि अपिल गरेलगत्तै चेक गणतन्त्रका विदेशमन्त्री ज्याकब कुलानेकले पनि ट्विटमार्फत शरण दिने प्रस्ट पारेका थिए । ‘यदि उनले हाम्रो प्रस्ताव स्वीकार गर्छिन् भने हामी उनलाई सम्पूर्ण सहयोग गर्नेछौं,’ चेक विदेशमन्त्रीले लेखेका छन् ।

बेलारुसको राष्ट्रिय ओलम्पिक कमिटीको नेतृत्व २५ वर्षदेखि भिक्टर लुकासेन्कोले गरिरहेका छन् । उनी वर्तमान तानाशाही राष्ट्रपति अलेक्जान्डरका छोरा हुन् । बाबुछोरा दुवैलाई आईओसीले टोकियो ओलम्पिकमा प्रतिबन्ध लगाएको छ । गत वर्ष सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै खेलाडीहरूलाई धमाधम कारबाही गर्न थालेपछि आईओसीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

लुकासेन्को आफ्ना सबै आलोचकहरूलाई पश्चिमा देशको षड्यन्त्रका हिमायती ठान्छन्,’ बेलारुसका एक स्वतन्त्र राजनीतिक विश्लेषक भालेरी कार्भेभ्लिच भन्छन् । बेलारुस ओलम्पिक टिमका प्रवक्ताले यो सम्पूर्ण आरोपको प्रतिक्रिया दिन अस्वीकार गरे ।यी सब घटनाक्रमबीच क्रिस्टिनाले २०० मिटर दौड भाग लिन पाइनन् । उनले टोकियो राष्ट्रिय रंगशालामा १०० मिटर दौडिइन् । पहिलो चरणको हिट्समा ११.४७ सेकेन्डमा दौड पूरा गरी चौथो स्थानमा रहेकी थिइन् ।

प्रकाशित : श्रावण १९, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?