ड्रसेलद्वारा फेल्प्ससँग तुलना अस्वीकार

एएफपी

टोकियो — अमेरिकन पौडीबाज स्टार केलेब ड्रसेलले जापानमा प्रदर्शन देखाउन निकै दबाब महसुस भएको बताउँदै ओलम्पिकका महान् माइकल फेल्पस, मार्क स्पिट्ससँग आफ्नो तुलनै नहुने जनाएका छन् । ड्रसेलले ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिटरमा स्वर्ण जित्दै टोकियो ओलम्पिकको यात्रा समाप्त गरेका छन् । 

ड्रसेलद्वारा फेल्प्ससँग तुलना अस्वीकार

उनले उक्त क्रममा एकै ओलम्पिकमा ५ स्वर्ण जित्ने पाँचौं पौडीबाजको कीर्तिमान बनाए । २०१६ को रियो ओलम्पिकमा पनि रिलेमा दुई स्वर्ण जितेका २४ वर्षे ड्रसेलले अमेरिकाकै माइकल फेल्प्स, मार्क स्पिट्स, म्याट बिओन्डी र पूर्वी जर्मनीका क्रिस्टिन ओटोसँगै एक ओलम्पिकमा ५ स्वर्ण जित्ने खेलाडीमा आफूलाई उभ्याएका छन् ।

रियो ओलम्पिकपछि आफूलाई रिलेका विशेषज्ञका रूपमा मात्र हेरिने डर बोकेका फ्लोरिडाका ड्रसेलले पौडीका दिग्गजहरूले बनाएको कीर्तिमानमा आफ्नो कुनै रुचि नभएको जनाएका छन् । ‘यो खेलमा मेरो सानो भूमिका हुनु नै मेरालागि विशेष हो,’ उनले भने, ‘तर म माइकल फेल्प्सबाट केही लिन चाहन्नँ, मार्क स्पिट्सबाट पनि म केही चाहन्नँ । मैले यहाँ जे गरें त्यसबाट खुसी छु । कसैको कीर्तिमानलाई उछिन्नु मेरो कुनै उद्देश्य थिएन, मसँग जुन क्षमता छ त्यहीअनुरूपको सफलता हात पारेको महसुस गरेको छु ।’

५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान र अमेरिकी टिमलाई मिड्ले रिलेमा विश्व कीर्तिमान बनाउन मद्दत गरेपछि मात्र आफूले राहत अनुभव गरेको उनले बताए । शनिबार मात्र ड्रसेलले ४९.४५ सेकेन्डका साथ १ सय मिटर बटरफ्लाइमा विश्व कीर्तिमान बनाएका थिए । पौडी दुनियाँमा एक महत्त्वाकांक्षी लक्ष्यका साथ उनी जापान आएका थिए र उनलाई यस खेलको सम्भावित अर्को सुपरस्टारका रूपमा हेरिएको थियो ।

चार गुणा १ सय मिटर मिक्स रिलेमा पाँचौं भएकोलाई अपवादमा राख्ने हो भने ड्रसेलले आफ्नो लक्ष्य भेटाएका थिए । उनले आफूले सोचेभन्दा ओलम्पिक निकै कठिन पाएको बताए । ‘ओलम्पिक खेल फरक हो, अब म आफैंसँग झूट बोल्ने छैन । एक क्षणमा ममाथि निकै दबाब थियो किनभने कुनै खेलाडीको पूरा खेलजीवन २० वा ४० सेकेन्डका कारण समाप्त जस्तै हुन्छ, यो कस्तो पागलपन हो,’ ड्रसेलले प्रश्न गरे, ‘मैले खेल दौरान आफैंलाई यसबारे केही भनिनँ, तर पछाडि फर्केर हेर्दा यो डर लाग्दो नै छ ।’

प्रकाशित : श्रावण १८, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?