एम्मालाई कीर्तिमानी ७ पदक

एएफपी

टोकियो — अस्ट्रेलियाली जलपरी एम्मा म्याकिअन ११ वटा ओलम्पिक पदक जित्दै अस्ट्रेलियाको महान् खेलाडीका रूपमा सूचीकृत भएकी छन् । ५ स्वर्णसहित ११ पदक विजेता म्याकिअन अस्ट्रेलियाको सबैभन्दा सफल ओलम्पियन पनि बनिन् । अस्ट्रेलियाकै अर्का महान् पौडीबाज इयान थ्रोपले म्याकिअनको प्रशंसा गरेका छन् ।

एम्मालाई कीर्तिमानी ७ पदक

२७ वर्षीया म्याकिअनले इयान र साथी खेलाडी लेइसल जोन्सको ९ पदकको कीर्तिमानलाई उछिन्दै थप दुई पदक जितेर इतिहासकै सबैभन्दा धेरै ओलम्पिक पदक जित्ने अस्ट्रेलियाली ओलम्पियन बनेकी हुन् । म्याकिअनले जापानमा सात पदक जितिन्, यो एउटै ओलम्पिकमा सबैभन्दा धेरै पदक जित्ने महिला पौडी खेलाडीको कीर्तिमान पनि हो ।

‘तपाईंहरूको मुखबाट मैले जुन तथ्यांक सुनिरहेको छु, त्यो बिल्कुलै सत्य हो,’ ९ दिने पौडी स्पर्धाको अन्तिम दिन आइतबार टोकियो अक्वाटिक सेन्टरमा म्याकिअनले भनिन्, ‘मभन्दा अगाडिका खेलाडीहरूबाट म प्रेरित भएको छु । तर मैले कहिल्यै पनि यो तथ्यांकको गणना गरिनँ । तर यो उपलब्धि सम्मानको कुरा हो । र, मलाई थाहा छ कि यसका लागि कति मिहिनेत परेको छ ।’

म्याकिअन टोकियोमा निर्विवाद रूपमा स्प्रिन्ट क्विनका रूपमा देखिइन् । उनले ५० र १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण मात्र जितिनन् नयाँ ओलम्पिक कीर्तिमान पनि कायम गरिन् । उनले ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिले र ४ गुणा १ सय मिटर मिड्ले रिलेमा पनि स्वर्ण जितिन् । १ सय मिटर बटरफ्लाइ, ४ गुणा २ सय मिटर फ्रिस्टाइल तथा ४ गुणा १ सय मिटर मिक्स्ड मिड्लेमा कांस्य पदक जितिन् । म्याकिअनले ९ दिनको प्रतियोगितामा १३ पल्ट प्रतिस्पर्धा गरिन् । ‘मेरो विचारमा मैले यसकै लागि आफूलाई तयार गरेकी थिएँ,’ उनले भनिन्, ‘म यस्ता प्रतिस्पर्धामा पहिला पनि सहभागी भएकी थिएँ जहाँ नतिजा तलमाथि भइरहन्थ्यो । कति अपेक्षा राख्नुपर्छ भन्ने कुरा मलाई थाहा थियो ।’

प्रकाशित : श्रावण १८, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?