कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ज्याकोब्सको जादु

राजु घिसिङ

टोकियो — ओलम्पिक रंगशालाको प्यारापिट खाली नै थियो । खेलाडीकै हुटिङले रंगशालालाई गुन्जायमान बनाएको थियो । ट्र्याक एन्ड फिल्डमा भइरहेका स्पर्धाले विश्व खेलकुदकै ध्यान तानेको थियो । ओलम्पिककै सबैभन्दा प्रतिष्ठित स्पर्धाका रूपमा लिइने पुरुष १ सय मिटरको दौडको रौनक बेग्लै थियो ।

ज्याकोब्सको जादु

दौडपूर्व करिब ५ मिनेट रंगशाला नै अँध्यारो बनाइएको थियो । फाइनलका आठ धावकको नामलाई ओलम्पिक लोगोसँगै १ सय मिटरको ट्र्याकमा देखाइएको थियो । अनि रंगशालाको बत्ती बालियो र सुरु भयो विश्वकै सबभन्दा तेज गतिका मानिस बन्ने होडको दौड । कोभिड–१९ को चपेटामा परेको ओलम्पिकको सर्वाधिक आकर्षक स्पर्धा ९.८० सेकेन्डमा पूरा गर्दै इटालीका लेमोन्ट मार्सेल ज्याकोब्सले स्वर्ण पदक जिते । उनको सफलता अनुमान गरेभन्दा बिल्कुलै फरक हो ।

सय मिटरमा ओलम्पिक स्वर्ण जित्ने पहिलो इटालियन भएपछि ‘मिक्स जोन’ मा भेटिएका उनले भने, ‘पहिलो ओलम्पिक स्वर्ण जित्छु भनेको थिएन । जित्ने सोचेको थिएन । अब ओलम्पिक च्याम्पियन भन्न सक्ने भएको छु । मेरो जित सबैलाई आश्चर्य लागे पनि मैले यो दिनका लागि धेरै मिहिनेत गरेको छु ।’

महान् जमैकन धावक उसैन बोल्टको युगपछि ओलम्पिक स्वर्ण कसले हात पार्ने भन्ने ठूलै बहस थियो । बोल्टले सय मिटरमा लगातार तीन ओलम्पिक (बेइजिङ २००८, लन्डन २०१२ र रियो २०१६) स्वर्ण जितेका थिए । उनले २ सय मिटरमा पनि ह्याट्रिक गरेका थिए । उनलाई तीनै ओलम्पिक र एक दशकसम्म विश्व च्याम्पियनसिपमा चुनौती दिने तीव्र गतिका धावक देखिएनन् । डोपिङको दलदलमा फसेका बेला एथलेटिक्सलाई धान्ने र यसको लोकप्रियतालाई कायम राख्ने काम बोल्टले गरे । ओलम्पिकमा ८ स्वर्ण, विश्व च्याम्पियनसिपमा ११ स्वर्णसहित १४ पदक जितेका उनले चार वर्षअघि संन्यास लिएका थिए ।


त्यसैले बोल्टबिनाको टोकियो ओलम्पिकमा सबैभन्दा तेज गतिका धावक को बन्ने भन्ने प्रतिस्पर्धाले सबैको ध्यान खिचेको थियो । यो स्पर्धामा अफ्रिकी र अमेरिकी धावकको चर्को प्रतिस्पर्धा हुने गरेको छ । ओलम्पिक ट्रायल जितेका अमेरिकी ट्रेयभोन ब्रोमेललाई सम्भावित विजेता मानिएको थियो । उनी सेमिफाइनल चरणबाटै बाहिरिए । जस्टिन ग्याटलिनले एथेन्स २००४ मा स्वर्ण जितेयता १ सय मिटरमा अमेरिकाले सफलता पाएको छैन । क्यानडाका आन्द्रे डे ग्रेस र दक्षिण अफ्रिकी अकनी सिम्बिनेलाई पनि स्वर्णको दाबेदार मानिएको थियो । यी सबै अनुमानलाई गलत सावित गर्दै २६ वर्षीय ज्याकोब्सले करिअरकै उत्कृष्ट समय निकाल्दै स्वर्ण जिते ।

अमेरिकी बुबा र इटालियन आमाका सन्तान हुन् ज्याकोब्स । उनी टेक्सासमा जन्मिएका थिए । आमासँगै इटाली गएका उनी सेमिफाइनलबाटै सीधै फाइनल प्रवेश गरेका थिएनन् । हुन त उनले सेमिफाइनलमा ९.८४ सेकेन्डको युरोपेली रेकर्ड बनाएका थिए । उनी आफ्नो समूहमा तेस्रो भए र तीन समूहका शीर्ष दुईमा नपरेका धावकमध्ये कम समयका आधारमा दुई जनाभित्र पर्दै स्वर्णका लागि प्रतिस्पर्धा गर्ने होडमा उभिए । आठ धावकको फाइनल दौडमा भने उनले सुरुबाटै गति लिए, जुन स्वर्णमा पुगेर टुंगियो ।

विश्व वरीयतामा आठौं स्थानका उनी विश्व च्याम्पियनसिप २०१९ मा १९ औं भएका थिए । डायमन्ड लिग (स्टकहोम) मा दोस्रो हुनु उनको सिजनकै उत्कृष्ट नतिजा थियो । यी तथ्यले उनलाई २९ वर्षयता पहिलोपल्ट ओलम्पिक स्वर्ण जित्ने युरोपेली धावक हुनबाट रोकेन । अमेरिकी फ्रेड केरलीले ९.८४ सेकेन्डसहित रजत हात पारे भने क्यानेडियन ग्रेसले ९.८९ सेकेन्डसाथ कांस्य प्राप्त गरे ।

सेमिफाइनलमा ९.८३ सेकेन्डको एसियाली कीर्तिमान बनाएका सु बिङतियान १ सय मिटरको फाइनलमा दौडने पहिलो चिनियाँ भए । फाइनलमा भने त्यही गतिलाई निरन्तरता दिन सकेनन्, ९.९८ सेकेन्ड लगाएपछि छैटौंमा रहे ।

प्रकाशित : श्रावण १८, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?