टोकियो ओलम्पिक : १९ स्वर्णसहित चीन शीर्ष स्थानमा- खेलकुद - कान्तिपुर समाचार

टोकियो ओलम्पिक : १९ स्वर्णसहित चीन शीर्ष स्थानमा

रासस

काठमाडौँ — जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १९ स्वर्ण पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । 

पदक तालिका : रोयटर्स

चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कांस्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, चार रजत र सात कांस्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १६ स्वर्ण, १७ रजत र ११ कांस्य प्राप्त गर्न सफल भएको छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रूस ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया १० स्वर्ण, ३ रजत र १२ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत सात स्वर्ण, नौ रजत र नौ कांस्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कांस्यका साथ सातौँ, नेदरल्यान्ड्स तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, पाँच रजत र ६ कांस्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कांस्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ-आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए ।

पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन्। परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : श्रावण १६, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

रासस

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको उनका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । 

स्थानीय प्रशासनका अनुसार अहिलेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको जानकारी प्राप्त भएको जनाइएको छ । स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर वेपत्ता भएको आरोप लगाएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्टले अहिलेसम्म तुइन चुँडिएर खसेको भन्ने जानकारी आएकाले जानकारी दिए । उनले भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको पनि बताए । अहिले घटनास्थलमा ससस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको आरोपअनुसार भारतीय एसएसबीसमेतलाई पत्राचार गरी के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको भट्टले बताए ।

प्रकाशित : श्रावण १५, २०७८ २२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×