कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

थप दुई भारतीय क्रिकेटर श्रीलंकामै

एएफपी

कोलम्बो — श्रीलंका भ्रमणमा रहेका भारतका थप दुई क्रिकेटरलाई कोभिड–१९ संक्रमण भएको छ । श्रीलंकासँग समान तीन एक दिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० खेलेको भारतीय टोली फर्किन सुरु गरेको समयमा संक्रमणमा रहेका खेलाडी भने कोलम्बोमै रहने अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

थप दुई भारतीय क्रिकेटर श्रीलंकामै

अलरान्डर कृष्णप्पा गोथम र बलर युजभेन्द्र चहालसँगैं क्रुनाल पाण्डेय आइसोलेसनमा बस्नेछन् । तीन खेलाडीमा कोभिड संक्रमण देखिएको श्रीलंका क्रिकेटका एक अधिकारीले जनाएका छन् । ‘यी तीन खेलाडीकै कोभिड परीक्षणमा नेगेटिभ नआएसम्म श्रीलंकामै रहनेछन्,’ ती अधिकारीले एएफपीसँग भने । भारतीय टोलीका अन्य खेलाडी बिहीबार नै स्वदेश फर्किन सुरु गरेका थिए ।

कोभिड महामारीले यस शृंखलालाई ठूलै प्रभाव पार्‍यो । श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र प्रशिक्षण टोलीका अर्का एक सदस्यलाई कोभिड संक्रमण देखिएपछि शृंखला ५ दिनपछि सुरु भएको थियो भने श्रीलंकाली खेलाडीको क्वारेन्टाइन अवधि बढाइएको थियो ।

पाण्डेयलाई कोभिड लागेपछि मंगलबार हुने भनिएको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय एक दिन पछाडि खेलाइएको थियो । त्यसपछि भारतीय टोलीका आठ सदस्य आइसोलेसनमा बसेका थिए । त्यसमा गोवथम र चहालमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

श्रीलंकाले बिहीबार भारतलाई तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा ७ विकेटले पराजित गरी शृंखला २–१ ले जितेको थियो । दोस्रो रोजाइका अधिकांश खेलाडी सम्मिलित भारतले निर्धारित २० ओभरमा ८ विकेट विकेट गुमाइ ८१ रनमात्र बनाउन सक्यो । धनन्जय डी सिल्भाले अविजित २३ रन बनाएपछि श्रीलंकाले १५ ओभरभित्र लक्ष्य पूरा गरेको थियो ।

गत महिना श्रीलंकन खेलाडीले इंग्ल्यान्ड भ्रमणमा अनुशासन तोडेको पाइएको थियो । होटलको ‘सेक्योर बायो बबल’ तोडेको पाइएपछि तीन श्रीलंकन खेलाडीमाथि लामो समयको निलम्बन तयारी भइरहेको छ । उनीहरूलाई भारतविरुद्ध खेलाइएको थिएन । भारतीय टोली जुन २८ मा श्रीलंका आइपुगेको थियो । टोलीलाई कोलम्बोको होटलमा कडा बायोबबलका साथ राखिएको थियो ।

सबै खेलमा कोलम्बोको प्रेमदासा रंगशालामा खेलाइएको थियो । बढ्दो कोभिड–१९ को संक्रमणका कारण दर्शकलाई रंगशालाभित्र जान बन्देज लगाइएको थियो ।

श्रीलंकामा अहिलेसम्म कोभिडबाट ४ हजार ३ सय २३ जनाको मृत्यु भइसकेको तथ्यांक छ । तर स्वास्थकर्मीले यो संख्या धेरै रहेको बताउँदै आएका छन् ।

प्रकाशित : श्रावण १५, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?