१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महबुब आलमले संन्यास लिने

कान्तिपुर संवाददाता

काठमाडौँ — भेट्रान क्रिकेटर महबुब आलमले अन्ततः आफ्नो खेलाडी जीवन टुंग्याउने भएका छन् । चार वर्षभन्दा बढी समययता अन्तर्राष्ट्रिय क्रिकेटमा नदेखिएका ३९ वर्षे महबुब घरेलु क्रिकेटमै सीमित हुँदै आएका छन् । फ्रेन्चाइज क्रिकेटमा पनि उनी पछिल्लो समय खासै देखिएका छैनन् । 

महबुब आलमले संन्यास लिने

सन् २००० मा यूएईमा सम्पन्न एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका महबुबले २०१७ मा कीर्तिपुर मैदानमा केन्याविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेयता नेपालको प्रतिनिधित्व गरेका छैनन् । नेपाली राष्ट्रिय टोलीबाट एकदिवसीय क्रिकेटमा १ सय विकेट लिने पहिलो बलर महबुबले ४ प्रथम श्रेणी र ७ ट्वान्टी–२० खेलेका छन् । महबुबले २००८ मा जर्सीमा मोजाम्बिकविरुद्धको विश्व क्रिकेट लिग डिभिजन ५ को खेलमा सबै १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए ।

फोटोपत्रकार ब्यारी चेम्बर्सले नेपालका महबुब आलमले लिएको १० वटै विकेट तस्बिर कैद गरेका छन्, जुन उनले क्रिकेट युरोप र आईसीसीका लागि खिचेका थिए ।

पुसमा प्रधानमन्त्री कप खेलेयता उनी घरेलु क्रिकेटमा पनि देखिएका छैनन् । खेलाडी जीवनबाट आफूले संन्यास लिन चाहेको भनी महबुबले प्रदेश २ क्रिकेट संघमा जानकारी गराएको प्रदेश २ का अध्यक्ष एवं नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहले बताए । महोत्तरीको बर्दिबासमा बुधबार बसेको प्रदेश २ को बैठकले महबुबको संन्यास कार्यक्रमलाई विशेष बनाउन क्यानसँग छलफल गर्ने निर्णय गरेको छ । छलफलपछि संन्यास लिने मिति तय गरिने जनाइएको छ ।

‘विश्व कीर्तिमानी बलर महबुब आलमले निकट भविष्यमा संन्यास लिने जानकारी गराएअनुसार उनको बिदाइमा कुनै कसरमा कमी हुन नदिन प्रदेश क्रिकेट संघले प्रभावकारी भूमिका निर्वाह गर्नेछ,’ प्रदेश २ क्रिकेट संघका सचिव एवं पूर्वखेलाडी आयुश श्रेष्ठले भने । तत्कालीन अवस्थाको क्षेत्र १ (पूर्वाञ्चल) ले वीरेन्द्र स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो चार संस्करण जित्दा महबुब टोलीका प्रमुख खेलाडी थिए ।

प्रदेश २ को बैठकले नेपाली राष्ट्रिय टोलीकी महिला क्रिकेट खेलाडी शोभा आलेलाई कार्यालय सचिवमा राख्ने निर्णय गरेको छ । त्यस्तै गत वर्ष निधन भएका ‘युवा क्रिकेटर कुन्दन सिंह बचाउ अभियान’अन्तर्गत बचत भएको रकम एकमुष्ठ गरी उनको नाममा अक्षयकोष खोल्ने र कोषबाट प्रदेश २ का खेलाडीको स्वास्थ्योपचारमा खर्च गरिने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रकाशित : श्रावण १५, २०७८ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?