२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एन्टेटोकुम्पोले मच्चाए तहल्का

जियानिस एन्टेटोकुम्पो बब पेटीपछि ६० वर्षको अन्तरमा एनबीए फाइनलमा ५० अंक बटुल्ने पहिलो खेलाडी भएका छन् ।
द मार्का

म्याड्रिड — अमेरिका र बास्केटबल मन पराउने देशमा अहिले कुनै एक उपलब्धि र कुनै एक खेलाडीको चर्चा छ भने त्यो बिलवाकी बक्सले जितेको एनबीए फाइनल र यसका खेलाडी जियानिस एन्टेटोकुम्पोको मात्र छ । एन्टेटोकुम्पोको कथाले त त्यो सबै भौगोलिक सीमा तोडेर चारैतर्फ चर्चा बटुलेको छ । उनको उपलब्धि जो–कोहीका लागि आफ्नो सपना पूरा गर्न लगातार प्रयत्नशील रहन प्रेरित गर्छ । वास्तवमै अद्वितीय छ, उनको कथा र उपलब्धि ।

एन्टेटोकुम्पोले मच्चाए तहल्का

जियानिस एन्टेटोकुम्पो अब एनबीए च्याम्पियन भए । उनले जसरी यहाँसम्मको यात्रा तय गरे, त्यसलाई विश्व बास्केटबल इतिहासकै सबैभन्दा अद्वितीय र दुर्लभमध्ये मान्न सकिन्छ । सन् १९९४ मा उनको जन्म ग्रिसमा भएको थियो, आप्रवासी नाइजेरियाली आमाबुबाबाट । आफ्नो परिवारलाई पाल्न उनले सानोमा सडकमा सस्ता नक्कली गहना बेच्ने काम गर्थे । अहिले भने उनले एनबीए फाइनलको मोस्ट भ्यालुएबल प्लेयर ट्रफी जितेका छन् । यतिमात्र कहाँ हो र ?

उनी बब पेटीपछि ६० वर्षको अन्तरमा एनबीए फाइनलमा ५० अंक बटुल्ने पहिलो खेलाडी भएका छन् । एक साताअघि एन्टेटोकुम्पोको अलराउन्ड प्रदर्शनमा मिलवाकी बक्सले सन् १९७१ यता पहिलोपल्ट एनबीए उपाधि जितेको थियो । बक्सले फिनिक्स सन्सलाई हराएर यो उपाधि जितेको हो । खेलमा बक्सले १०५–९८ स्कोरको जित निकाल्यो । टोली सात खेलको शृंखलामा ४–२ को निर्णायक अग्रता लिन सफल रह्यो ।

एन्टेटोकुम्पो फाइनलको एकै खेलमा ५० अंक बटुल्ने इतिहासकै सातौं खेलाडी बने । मिलवाकीले यसैक्रममा ५० वर्षसम्म उपाधिविहीन रहेको यात्रा टुंग्याएको छ । एन्टेटोकुम्पोले पछिल्लो समय ग्रिसमा आफू र आफ्नो परिवारले सामना गरेको दुःख र संघर्षबारे खुलेर कुरा गरेका छन् । ग्रिसको नागरिकता प्राप्त गर्न उनको परिवारले निकै लामो समय मिहिनेत गर्नुपरेको थियो । यो वास्तवमै निकै झन्झटिलो कानुनी प्रक्रिया थियो ।

उनले अहिलेसम्म भुल्न सकेका छैनन्, आफू र आफ्ना तीन दाजुभाइले कसरी सडकमा ती नक्कली गहना बेच्न मिहिनेत गर्नुपर्थ्यो । उनी एथेन्स नजिकको सेपोलियामा हुर्केबढे । उनका आमाबुबा आप्रवासी भएको हुनाले वैध रूपमा काम गर्न सक्दैन थिए । त्यसैले उनले सानोमा सस्ता नक्कली गहनामात्र बेचेनन्, उस्तै नक्कली सस्ता घडी, ह्यान्डब्याग र चश्मा पनि बेचे । खासमा उनको ग्रिक नाम जो–कोहीले ठीकसँग उच्चारण गर्नसमेत सक्दैनन् ।

त्यसैले उनलाई उपनाम दिइएको छ, ‘ग्रिक फ्रिक’ । सन् २००७ देखि उनले बास्केटबल खेल्न सुरु गरेका थिए । सुरुआती दिनदेखि नै उनको प्रदर्शन गज्जब हुने गर्थ्यो । त्यसैले उनी स्काउटहरूको नजरमा परिहाले । उनको प्रतिभा सबैभन्दा पहिले चिन्ने व्यक्ति थिए, रियल जारागोजाका स्पोर्टिङ डाइरेक्टर विली भिलार । सन् २०१२ सम्म पुग्दा एन्टेटोकुम्पोले स्पेनी क्लबसँग चारवर्षे अनुबन्ध गरे । यसपछि उनको खेलजीवनले निरन्तर उडान भर्‍यो ।

यसैक्रममा उनले आफ्नो खेलमा नाटकीय सुधार गरे । सन् २०१३ अगाडि नै एनबीए ड्राफ्टमा परे । उनलाई मिलवाकीले किनेको थियो । सुरुमा त क्लबले जारागोजामै उनलाई ऋणमा फर्काउन विचार गरेको थियो । तर उनले विचार फेर्न समय लगाएनन् । अनि त एन्टेटोकुम्पो बने १८ वर्षकै उमेरमा एनबीएका सबैभन्दा युवा खेलाडी । खासमा मिलवाकीले आफ्ना युवा खेलाडीमाथि गरेको विश्वासले चाँडै रंग पनि देखायो ।

उनको पहिलो सिजन नै उत्तिकै दमदार रह्यो । उनले आफ्नो खेलमा अझ बढी सुधार ल्याए । एनबीएमा बिताएको आठ वर्षपछि उनले अन्ततः एनबीए फाइनल पनि जिते । भन्न कर लाग्छ, एन्टेटोकुम्पोले यहाँसम्म पुग्न तय गरेको यात्रा पक्कै सजिलो थिएन । विश्वास नहुन सक्छ, उनले सन् २०१३ मा मात्र ग्रिसको नागरिकता प्राप्त गरेका थिए, अमेरिका जानु ठीकअगाडि । यसअघि उनले राष्ट्रविहीन नागरिकका रूपमा आफ्नो जीवन गुजारेका थिए ।

उनलाई ग्रिसको नागरिकता दिने क्रममा पनि त्यहाँका उग्रवादी–दक्षिणपन्थी राजनीतिक पार्टीहरूले चर्को विरोध गरेका थिए । यस्तै पार्टीका एक नेता निकोलस मिचालिकोसले भनेका थिए, ‘कोही एक चिम्पान्जीलाई केरा र झन्डा दिएर चिडियाखानामा हालिन्छ भने के ऊ पनि ग्रिक हुन्छ त ?’ उनले जति समय ग्रिसमा बिताएका छन्, त्यसको प्रत्येक पल–पलमा रंगभेदी व्यवहार सामना गर्नुपरेको छ । यो उनका लागि दिनचर्याजस्तै थियो ।

एन्टेटोकुम्पोले एनबीए फाइनल जितेपछि भने भनेका छन्, ‘मैले दुवै देशलाई प्रतिनिधित्व गर्छु, नाइजेरिया र ग्रिस । दुवै देशमा म जस्ता धेरै युवा छन् । पूरा अफ्रिका र युरोपका लागि नायक भएको छु । कसैले पनि सपना देख्न छाड्नुहुन्न । खाली आफ्नो प्रतिभाप्रति विश्वास गर्नुपर्छ, यसका लागि कडा मिहिनेत गरिरहनुपर्छ । आफूबारे कसले के भन्दा त्यसमा चासो लिनु आवश्यक छैन । आफूले के गर्न सकिन्छ, त्यसको मात्र अर्थ हुन्छ ।’

प्रकाशित : श्रावण १५, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?