२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कीर्तिमानको आसमा सरस्वती

टोकियो ओलम्पिक २०२० मा सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्दैछिन् । उनको स्पर्धा नेपाली समयअनुसार बिहान ५:५२ बजे (जापानमा ९:०७) मा सुरु हुनेछ ।
राजु घिसिङ

टोकियो — टोकियो ओलम्पिक २०२० मा सहभागी नेपालका पाँचौं खेलाडी सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्दैछिन् । उनको दौड नेपाली समयअनुसार बिहान ५: ५२ बजे (जापानमा ९:०७) मा सुरु हुनेछ ।

कीर्तिमानको आसमा सरस्वती

उनले ओलम्पिक रंगशालाको ट्रयाकमा ‘हिट्स’ को पनि प्रारम्भिक चरणमै प्रतिस्पर्धा गर्नेछिन् । उनीसँगै प्रारम्भिक चरणको ‘हिट्स २’ मा ९ देशका खेलाडी दौडनेछन् । त्यसमा नेपालसहित साउदी अरेबिया, इरान, कुवेत, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी छन् । उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा १२.५५ सेकेन्डसाथ करिअरकै उत्कृष्ट समय निकालेकी थिइन् । उनले व्यक्तिगत उत्कृष्ट प्रदर्शनको आधारमा ‘लेन २’ मा दौडनेछिन् । यो समूहमा उनीभन्दा पछाडि रहेकी साउदीकी यास्मिन अलदाबाग (१३.२४ सेकेन्ड) ले लेन १ बाट दौड सुरु गर्नेछिन् । अरू ६ खेलाडीको व्यक्तिगत उत्कृष्ट समय सरस्वतीको भन्दा राम्रो छ ।

‘ओलम्पिकमा सहभागी हुने सपना पूरा गर्ने अवसर यसैपालि पाएकी छु,’ २४ वर्षीया सरस्वतीले भनिन्, ‘यो अवसरमा आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु । राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी छु ।’ उनलाई देवीमाया पनेरुले आठौं साफ खेलकुद १९९९ (काठमाडौं) मा बनाएकी १२.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान भंग गर्न भने सजिलो छैन । उनी करिअरकै उत्कृष्ट समय (१२.५५ सेकेन्ड) निकालेर पनि नेपालले आयोजना गरेको १३ औं सागमा पाँचौं भएकी थिइन् । उनले विश्व एथलेटिक्स च्याम्पियनसिप २०१९ (दोहा) को हिट्समा १ सय मिटर पूरा गर्न १२.७२ सेकेन्ड लगाएकी थिइन् ।

गत वर्ष मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथन विजेता गोपीचन्द्र पार्कीले ओलम्पिकमा दौडने त्यतिबेलै घोषणा गरिए पनि अन्तिम समयमा नसोचिएको रूपमा उनी टोकियो यात्राबाट वञ्चित भएपछि सरस्वतीले ओलम्पियन बन्ने अवसर पाएकी हुन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले विश्वव्यापी सहभागिताको कोटामा गोपीचन्द्रको स्थानमा सरस्वतीले ओलम्पिकमा दौडन पाउने भनी खबर गर्दा उनी बर्दियास्थित गेरुवा घर पुगेकी थिइन् । त्यसपछि राजधानी फर्केर तयारी थालिन् । जापान यात्राको तयारीमा प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोभिड–१९ संक्रमण भयो । त्यसैले गोपीचन्द्रकै प्रशिक्षक रहेका सन्तोष श्रेष्ठ फेरि सरस्वतीको प्रशिक्षकको रूपमा टोकियो आइपुगेका छन् ।

प्रारम्भिक चरणको तीन हिट्समा २७ खेलाडी छन् । प्रत्येक हिट्सका शीर्ष तीन खेलाडीले पहिलो चरणको हिट्समा स्थान सुरक्षित गर्नेछन् । चौथो स्थानमा रहनेमध्ये उत्कृष्ट समयको आधारमा अर्की एक धाविकाले पनि पहिलो चरणमा अवसर पाउनेछन् । पहिलो चरणको प्रतिस्पर्धा पनि शुक्रबारै हुनेछ । सेमिफाइनल र स्वर्ण पदकको प्रतिस्पर्धा शनिबार हुनेछ । यो ओलम्पिकमा सहभागी नेपालमा पाँच खेलाडीमध्ये प्रतिस्पर्धा गर्न लागेकी सरस्वती नै अन्तिम हुन् ।

प्रकाशित : श्रावण १४, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?