कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

टोकियो ओलम्पिक : गौरिका सिंहद्वारा ५१ मिलिसेकेन्डले राष्ट्रिय कीर्तिमान सुधार *

राजु घिसिङ

टोकियो — पौडीकी सनसनी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी छन् ।

टोकियो ओलम्पिक : गौरिका सिंहद्वारा ५१ मिलिसेकेन्डले राष्ट्रिय कीर्तिमान सुधार *

‘नेसनल रेकर्ड बनाउन सकेकोमा एकदम खुशी लागेको छ,’ हिट्स १ को लेन ४ मा उत्रिएकी १८ वर्षीया गौरिकाले भनिन्, ‘कोभिड १९ को कारण लामो समय प्राक्टिस गर्न पाएको थिएन । लङ कोर्स (५० मिटरको स्वीमिङ पुल) मा ओलम्पिक अघिमात्रै केही दिन अभ्यास गरेकी थिए । त्यहाँ (तोकुसिमा) मेरो कोच पनि थिएन । त्यसलाई पनि टाइफुनले असर पारेको थियो । तैपनि यहाँ (टोकियो ओलम्पिक) रेकर्ड बन्यो । खुशी लागेको छ ।’

उनले ५० मिटरको स्वीमिङ पुल (लङ कोर्स) मा दुई वर्षअघि १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ (ग्वाङ्जु, दक्षिण कोरिया) मा निकालेको १ मिनेट ६२ मिलिसेकन्डको रेकर्डलाई टोकियो ओलम्पिकमा सुधार गरेकी हुन् । हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जहाँ नाइजेरियाकी एबियोला उगुन्बानयोले ५९.७४ सेकेन्डसाथ पहिलो भइन् । यसमा गौरिका तेस्रो भइन् । यो स्पर्धामा समयको आधारमा शीर्ष १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

१८ वर्षीया गौरिकाको गृष्मकालीन ओलम्पिकमा दोस्रो सहभागिता हो यो । यसअघि उनले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी थिइन् । उनले ब्राजिली भूमिमा ५ वर्षअघि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडी भएर विश्वमै चर्चा पाएकी थिइन् । त्यस बेला १३ वर्ष २५५ दिनको छंदा प्रतिस्पर्धा गरेकी उनी आफ्नो हिट्समा पहिलो भएकी थिइन् ।

नेपालले आयोजना गरेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा चार स्वर्ण, २ रजत र ३ कांस्यसहित नौ पदक जितेकी उनी घरेलु प्रतियोगितामा सात वर्षयता कीर्तिमानकी पर्याय नै बनेकी छन् । उनले १२ औं साग २०१६ (गुवहाटी) मा पनि १ रजत र ३ कांस्यसहित ४ पदक जितेकी थिइन् ।

पौडीकै पुरुष १ सय मिटर फ्रिस्टाइलमा अलेक्जेन्डर गाडेगार्ड शाहले अघिल्लो दिन मंगलबार आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए । उनले ५३.४१ सेकेन्डको समय निकाल्दै १८ औं फिना वल्र्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमानलाई टोकियो ओलम्पिकमा सुधार गरेका हुन् ।

*यसअघि प्रकाशित समाचारमा ५१ हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ । - सम्पादक

प्रकाशित : श्रावण १३, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?