कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ईपीएल खेल्न अफ्रिदी आउँदै

‘काठमाडौंमा मेरो पहिलो भ्रमण हुनेछ । इमान्दार भएर भन्नुपर्दा मलाई नेपालबारे केही थाहा छैन । तर के थाहा छ भने, नेपाली जनताले क्रिकेट मन पराउँछन् ।’
विनोद पाण्डे

काठमाडौँ — पाकिस्तानी सुपर स्टार साहिद अफ्रिदीले सन् २०१८, मे ३१ मा अन्तिमपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । संयोगले नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेको त्यो पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय थियो । इंग्ल्यान्डको लर्डसमा दुवैले आईसीसी विश्व–११ बाट वेस्ट इन्डिजविरुद्ध परोपकारी उद्देश्यमा खेलाइएको त्यो खेल खेलेका थिए । 

ईपीएल खेल्न अफ्रिदी आउँदै

अफ्रिदी र सन्दीपले यसपालि पुनः एकै टोलीबाट खेल्दैछन् । आउँदो सिजनको एभरेस्ट प्रिमियर लिग (ईपीएल) ले यो संयोग जुराइदिएको छ । ईपीएलको फ्रेन्चाइज टोली काठमाडौं किंग्स ११ ले विस्फोटक ब्याटिङ अलराउन्डर ४१ वर्षे अफ्रिदीलाई अनुबन्ध गरेको छ । सन्दीप पनि काठमाडौं किंग्समै आबद्ध भएको धेरै भएको छैन ।

असोज ९ मा सुरु हुने भनिएको ईपीएलमा पनि सन्दीपका लागि काठमाडौं किंग्स नयाँ टोली हुनेछ । यसअघि उनले ललितपुर प्याट्रियट्सबाट खेलेका थिए । रमेशक्रपको सहायक कम्पनी टेलिहोल्डिङ्सको पूर्ण अधिकार रहेको काठमाडौं किंग्सले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी र सुवास खकुरेललाई आउँदो सिजनका लागि लिएको छ ।

टेलिहोल्डिङ्सका निर्देशक रोहित गुप्ताले अफ्रिदीलाई आइकोनिक खेलाडीका रूपमा लिनुका कारण विशुद्ध उपाधि जित्ने लक्ष्यमात्र रहेको बताए । ‘अफ्रिदीजस्ता खेलाडीलाई हामीले पैसाले तोक्न सक्दैनौं, पैसाको कुरा त भइहाल्छ,’ निर्देशक गुप्ताले भने, ‘उनको साथमा उपाधि नै जित्ने लक्ष्य छ, त्यसका लागि हामीले युवा र अनुभवी खेलाडीको सन्तुलन मिलाइरहेका छौं ।’

सन् १९९६ मा १६ वर्षकै उमेरमा श्रीलंकाविरुद्ध केन्याको नैरोबीमा एकदिवसीय शतक बनाउँदै अफ्रिदीले धमाका मच्चाएका थिए । आफ्नो दोस्रो एकदिवसीयमा उनले बनाएको त्यो शतक अहिले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा बनाइएको शतकमा पर्दछ । उनले ३७ बलमै बनाएको शतक त्यतिबेला एकदिवसीयकै सबैभन्दा छिटोको कीर्तिमान पनि थियो ।

‘काठमाडौंमा मेरो पहिलो भ्रमण हुनेछ । इमान्दार भएर भन्नुपर्दा मलाई नेपालबारे केही थाहा छैन, तर के थाहा छ भने नेपाली जनताले क्रिकेट मन पराउँछन्,’ एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ३ सय ५१ छक्का प्रहार गरेका अफ्रिदीले काठमाडौं किंग्सको भिडियो कन्फ्रेन्समा भने, ‘आफूले भनेको जस्तै ठाउँमा बल आयो भने काठमाडौंमा पनि म छक्का प्रहार गर्नेछु ।’

उनले ३ सय ९८ एकदिवसीय अन्तर्राष्ट्रिय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र २७ टेस्ट खेल्दै ११ हजारभन्दा बढी रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १ सय ५० भन्दा माथि छ । उनले टेस्टमा ४८, एकदिवसीयमा ३ सय ९५ र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ९८ विकेट लिएका छन् ।

ट्वान्टी–२० संरचना आउनुअगाडि नै अफ्रिदीले एकदिवसीयमा त्यस्तै शैलीमा खेलेको प्रभाव अहिले पनि विश्व क्रिकेटमा रहेको काठमाडौं किंग्सका सहमालिक सञ्जय अग्रवाल बताउँछन् । विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो आक्रामक स्वभावको प्रदर्शन देखाउँदै आएका अफ्रिदीले फेब्रुअरीमा पाकिस्तानी सुपर लिग खेलेयता कुनै खेल खेलेका छैनन् ।

काठमाडौं किंग्सले केहीअघि प्रमुख प्रशिक्षकका लागि आवेदन खोलेको थियो । त्यसमा केही टेस्ट खेल्ने खेलाडीसहित १ सय जनाको आवेदन पर्दा आफू निकै उत्साहित रहेको मालिक गुप्ता जनाउँछन् । कोभिड–१९ का कारण विश्वमा संकट आए पनि युरोपियन च्याम्पियनसिप सम्पन्न भइसकेको र टोकियो ओलम्पिक भइरहेका कारण ईपीएल पनि सफलतापूर्वक सम्पन्न हुने उनको अपेक्षा थियो ।

कोभिड–१९ का कारण ईपीएल दुई वर्षपछि आयोजना हुन लागेको हो । दुई वर्षअघिको संस्करण आयोजनाक्रममा कोभिड–१९ को सुरुआती संक्रमण फैलिरहेको समयमा रोकिएको थियो । ईपीएल रोकिनुअघि नै पोखरा राइनोजले वेस्ट इन्डिजका स्टार ब्याट्सम्यान क्रिस गेललाई लिएको थियो भने केही ठूला नाम ईपीएलसँग जोडिएका थिए ।

प्रकाशित : श्रावण १२, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?