१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

एन्फामा बिर्सनलायक एक दिन

एन्फा मतभेद र विवादमा नयाँ पात्र थपिएका छन् र ती अरु कोही होइनन्, प्रशिक्षक अल्मुताइरी
हिमेश

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालय आइतबार दिनभरि जस्तै तनावपूर्ण रह्यो । नहोस् पनि किन ? आखिरमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अल्मुताइरीले सामाजिक सञ्जालबाट आफ्ना प्रशंसकलाई सम्बोधन गरेर राजीनामा दिएपछि गहिरो तरंग त आउनु नै थियो । 

एन्फामा बिर्सनलायक एक दिन

एन्फामा प्रत्येक घण्टा नयाँ–नयाँ मोड थपिए, नयाँ–नयाँ दृष्टिकोण पनि तयार भए । तर पूरा दिन वास्तवमै बिर्सनलायक थियो । सबैभन्दा पहिले दिउँसो १२ बज्न अगाडि आफ्नो फेसबुक र ट्वीटरको माध्यमबाट अल्मुताइरीले घोषणा गरे, ‘समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु ।’

प्रशिक्षकले यसरी सामाजिक सञ्जालकै माध्यमबाट माहोल तताउन खोजेको अथवा बिगार्न खोजेको यो पहिलोपल्ट भने होइन । पछिल्लो समय यस्तो अन्य घटना पनि भइसके । साँझ पर्दा नपर्दा पूरा घटनाक्रमलाई शान्त र साम्य पार्न भने प्रयास भएको छ । प्रशिक्षकलाई भनिएको छ, राजीनामा अहिलेको अवस्थामा ठीक छैन, किनभने साफ च्याम्पियनसिप नजिक आउँदै छ ।

सम्भवतः प्रशिक्षक मानसिक तनावमा पनि होलान्, उनलाई शान्त रहन सुझाव पनि दिइएको छ । खासमा आफ्नो भूमिका र अधिकार के कस्तो छ, त्यसलाई नभुल्न र जथाभावी सामाजिक सञ्जालमा नलेख्न एन्फा नेतृत्वबाट उनलाई यसअघि सम्झाउने काम पनि भइसकेको थियो । एन्फा स्रोतले यसमै आश्चर्य पोखेको छ, ‘प्रशिक्षक अल्मुताइरीलाई आफ्नो क्षेत्रमा नपरेको विषयमा अनावश्यक ढंगले किन रिस उठ्छ ? सम्झाउन खोज्दा पनि किन सम्झन चाहँदैनन् ?’

विवादको किचलो ?

सबैलाई थाहा छ, पछिल्लो समय एन्फाभित्र अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच मतभेद रहेको छ । एक प्रकारले एन्फाभित्र ठ्याक्कै दुई चिरा छ । धेरै विषयमा विवाद छ । यस्ता मतभेद र विवादले नेपाली फुटबललाई कहिले पनि फाइदा गरेको छैन । यसपल्ट भने यही मतभेद र विवादमा नयाँ पात्र थपिएका छन् र ती अरू कोही होइनन्, तिनै प्रशिक्षक अल्मुताइरी हुन् । उनी कहिलेकाहीं आफूलाई सरोकार नभएको विषयमा पनि विचार पोखिरहन्छन् ।

उनको यस्तो विशेषज्ञताले अधिकांश समय अप्ठ्यारो स्थिति नै तयार पारेको छ । उनी घुमाइफिराइ अध्यक्ष शेर्पाको समर्थन त गरिरहेकै हुन्छन् । उनमा अरूमाथि हाबी हुनुपर्ने व्यक्तित्व पनि छ । त्यसैले भनिन्छ, पछिल्लो समय एन्फाका अधिकांश पदाधिकारीमाथि उनी आफू माथि परेर प्रस्तुत भइरहेका छन् । फेरि नेपाली प्रशिक्षकमा नियुक्त भएयता उनले सबैभन्दा आफूलाई बढी सक्रिय केहीमा राखेका छन् भने त्यो सामाजिक सञ्जालमा हो ।

नेपाली फुटबलले अहिलेसम्म जति पनि प्रशिक्षक पाएको छ, त्यसमध्ये अल्मुताइरी जत्तिको सामाजिक सञ्जालमा सक्रिय कोही छैनन् । यसमा उनले हजारौं फुटबलप्रेमीलाई आफ्ना समर्थक बनाएका छन् । उनी यी प्रशंसकसँग दोहोरो संवाद मात्र होइन, वादविवाद पनि गरिरहेका हुन्छन् । अनि त्यसमध्ये यस्ता हजारौं संख्यामा समर्थक पनि तयार भएका छन्, जसले अल्मुताइरीको समर्थनमा कोही कसैलाई सक्दो भद्दा गाली गर्न पनि पछाडि पर्दैनन् ।

आफूले राजीनामा दिने घोषणा गर्दै उनले यसको सीधा सीधा दोष तिनै वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई दिन खोजेका छन् । यस्तोमा ती समर्थकको गाली उनमै तेर्सिएको छ । खासमा व्यक्तिगत रूपमा अल्मुताइरी र नेम्वाङबीच कुनै खराब सम्बन्ध छन् । केही दिन अगाडि मात्र नेम्वाङले प्रशिक्षकले सार्वजनिक गर्न खोजेको एउटा विचारमा भने आपत्ति पोखेका थिए । अल्मुताइरीले भनेका थिए, ‘नेपाली फुटबल फेरिन यसका पदाधिकारीको मानसिकता पनि फेरिनुपर्छ ।’

छानबिनको माग

उनलाई त्यतिबेला पनि सम्झाउने प्रयास भएको थियो । प्रशिक्षकका रूपमा उनका पछिल्ला केही भनाइ आपत्तिजनक नै थिए । आफू आउन अगाडि नेपालले वास्तविक फुटबल नै नखेलेकोसम्म दाबी गरेका अल्मुताइरीले नेपाली फुटबलले यसअघि आत्मसात् गरेका केही सफलतामा पनि प्रश्न उठाउन खोजेका थिए । उनले पुराना खेलाडी र प्रशिक्षकको योगदान पनि अवमूल्यन गर्ने प्रयास गरेका थिए । प्रशिक्षक भएर पनि उनी नेपालको फोहोरी फुटबल राजनीतिमा खेलाडी भएर छिर्न खोजे र आफैं फसे ।

अब पूरा घटनाक्रमलाई छानबिन गर्नुपर्ने मागमा पुगेका छन्, नेम्वाङ । दिउँसो नै उनले पूरा घटनाक्रममाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताए । उनको भनाइ थियो, ‘छानबिनले मलाई दोषी ठहराउने काम गर्छ भने म राजीनामा दिन तयार छु ।’ उनको पूरा ठम्याइ के पनि छ भने अल्मुताइरीले उनीविरुद्ध जे जति आरोप लगाए, ती षड्यन्त्रकै एउटा रूप हो । आरोप लगाएपछि त्यसलाई प्रमाणित पनि गर्नुपर्छ, त्यसैले यो पूरा घटनाक्रममा साँच्चैकै दोषी को हो, त्यसलाई अगाडि ल्याउने काम हुनु नै पर्छ ।

उनले गम्भीर भएर भनेका छन्, ‘मैले लामो समय नेपाली फुटबलमा लगानी गरेको छु । यसमा मेरो समर्पण, माया र आस्था सबै छ । अहिले यसमै प्रश्न उठाउने काम भएको छ । त्यसैले मैले माग गरेको हुँ, उच्चस्तरीय छानबिन कमिटी गठन हुनुपर्छ ।’ एन्फा स्रोतकै अनुसार अल्मुताइरीको पछिल्लो काम एक प्रकारले ‘स्टन्ट’ पनि हुनुपर्छ र यस पछाडिको उद्देश्य भनेको नेपाल छाडेर जाने हुनुपर्छ । नेपाली टिम सम्हालेर प्राप्त चर्चापछि उनलाई अरबतिरकै केही क्लबको प्रस्ताव आइरहेको छ र सम्भवतः उनी त्यसमा लोभिएका छन् ।

साफ आयोजना गर्ने प्रस्ताव

प्रशिक्षकबारे पूरा विवाद भइरहँदा एउटा सुखद समाचार पनि आयो । समाचार थियो, नेपाललाई अबको साफ च्याम्पियनसिप आयोजना गर्ने प्रस्ताव । यो प्रस्ताव मात्र थिएन, ससर्त प्रस्ताव थियो । दक्षिण एसियाली फुटबल महासंघले राखेको सर्त पूरा गर्न नेपाल तयार रहन्छ भने अक्टोबरमा १३ औं संस्करणको साफ च्याम्पियनसिप हुनेछ । पाकिस्तान र बंगलादेशले यो प्रतियोगिता आयोजना गर्ने बताएर पनि नाम फिर्ता लिएको थियो । यस्तोमा नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्स आयोजनाका लागि इच्छुक देखिएका थिए ।

महासंघका लागि नेपालको प्रस्ताव उपयुक्त रहेको छ र उसले अगाडि सारेका सर्त हो, १० करोड नेपाली रुपैयाँको बन्दोबस्त गर्नु । एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार नेपालले यत्तिको रकम व्यवस्था गर्न सक्छ भने प्रतियोगिता नेपालमा हुनेमा दुविधा हुने छैन । प्रतियोगिताको आयोजनाका लागि यति रकम पनि आवश्यक पर्ने छैन, त्यसैले एन्फा पाँच करोड रुपैयाँ सरकारले दिने हो भने बाँकी रकम नपुग आफैंले व्यवस्था गर्ने सोचमा छ ।

आइतबार साँझ सबै एन्फा छाडेर जाने क्रममा एउटा तथ्यमा के विश्वस्त देखिए भने केही ठूलो नाटकीय परिवर्तन भएन भने अब साफ च्याम्पियनसिप नेपालमै हुन्छ । प्रशिक्षक अल्मुताइरीलाई पनि प्रतियोगितासम्म नेपालमै कायम राख्नुपर्छ, आखिरमा उनले लिखित र औपचारिक रूपमा राजीनामा त दिएकै छैनन्, खालि सामाजिक सञ्जालमा हल्ला मात्र गरेका त हुन् । सबै के पनि मान्छन् भने प्रशिक्षक अल्मुताइरीलाई आफ्नो काम गर्न दिन पर्याप्त सुविधा र अवसर दिनु नै पर्छ ।

खालि उनले आफ्नो सीमा उल्लंघन नगरोस् भन्ने त हो । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङकै भाषामा पनि उनको पनि समर्थन प्रशिक्षक अल्मुताइरीमा छ, किनभने नेपाली फुटबल टिमले पछिल्लो समय केही उत्साह जगाएको छ । तर अब नयाँ घटनाक्रमबारे छानबिन पनि गर्नु नै पर्छ, यसलाई दबाउन खोज्नु ठीक होइन्, न त प्रशिक्षकलाई नेपालको आन्तरिक विवादमा मुछिन र मुछाउने काम गर्न आवश्यक छ । यो यस्तो घटना हो, जसलाई जति दबाउन खोज्यो, त्यसले भविष्यमा अझ समस्या ल्याउनेछ ।

प्रकाशित : श्रावण ११, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?