कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाविरुद्ध लडेका नर्स

एपी

टोकियो — जाभेद फोरोघीले थुप्रै रात कोरोनाका गम्भीर बिरामीको हेरचाहमा बिताए । श्वास फेर्न कठिन भएका बिरामीलाई बचाउन उनले सकेको सबैथोक अपनाए । उनी आफैं पनि कोरोना भाइरसबाट संक्रमित भए । निको भएपछि पनि काममा जान सधैं डर भइरह्यो । कतै फेरि संक्रमित हुने हो कि ?

कोरोनाविरुद्ध लडेका नर्स

तमाम कठिनाइ र भयावह स्थितिबीच यी ‘सार्प सुटर’ ले आफ्नो निशाना कहिल्यै धुमिल हुन दिएनन् । इरानका नर्स जाभेद अहिले ओलम्पिक च्याम्पियन भए । शनिबार टोकियोमा पुरुष १० मिटर एयर पेस्तोलमा स्वर्ण पदक जिते । योसँगै उनले इरानबाट ओलम्पिक पदक जित्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाए ।

‘मलाई यसमै खुसी छ, मैले आफ्नो दुवै जिम्मेवारीलाई पूर्णतासाथ निभाएँ,’ दोभाषेको सहायतामा जाभेदले भने, ‘एउटा नर्सका रूपमा कोरोना महामारीविरुद्ध लड्नु निकै कठिन काम हो । एक सुटरका रूपमा मैले पछिल्लो दुई वर्ष यो सफलताका लागि धेरै नै मिहिनेत गरेको छु ।’

जाभेदले २ सय ४४.८ अंकसाथ ओलम्पिक कीर्तिमानसमेत बनाए । उनी रजत विजेता सर्बियाली दामिर मिकेचभन्दा ६.९ अंकले अगाडि रहे । सन् २००८ को ओलम्पिक स्वर्ण विजेता चीनका प्याङ वेई कांस्यमै सीमित भए । ४१ वर्षे जाभेदले ओलम्पिक पदक जित्ने पाका खेलाडीको झन्डै सात दशक पुरानो स्वदेशी कीर्तिमान भंग गरे । सन् १९५६ मा मेलबर्न ओलम्पिकमा भारोत्तोलक मोहम्मुद मान्जोउले ३८ वर्षको उमेरमा कांस्य जितेका थिए ।

जाभेदको ओलम्पिक पोडियमको शीर्ष चरण यात्रा अविश्वसनीय र लगभग असम्भवजस्तै थियो । उनको जन्मपछि मुटुको धड्कनलाई सही अवस्थामा ल्याउन निकै कठिन भएको थियो । उमेरसँगै शरीर बढ्दै जाँदा उनी कुनै पनि खेलकुद गतिविधिमा सहभागी हुन असमर्थ थिए । मुटुको गति कम गरी नसा स्थिर बनाउनुपर्ने सुटिङ खेल त झन् उनले सोच्नै हुँदैनथ्यो । एक समय उनले आफ्नो मुटुको खराब स्थितिबाट मुक्ति पाए । त्यसपछि अस्पतालको अन्डरग्राउन्डमै पेस्तोल चलाउन सिक्न लागे । उनी आफ्नो रातिको ड्युटी पूरा गरी प्रशिक्षण सुरु गर्थे । यही मिहिनेतले उनलाई एक सानदार सुटर बनायो ।

महामारीको सुरुआती समयमै जाभेदलाई कोरोना संक्रमण भयो । त्यसपछि एक महिनासम्म त उनले अभ्यास गर्नै सकेनन् । कोरोनाबाट तंग्रिँदै जाँदा उनले एकदिन पनि प्रशिक्षण छाडेनन् । शारीरिक र मानसिक अभ्यासले उनी छिट्टै रिकोभर भए । महामारीको समयमा अनलाइन प्रतियोगिता आयोजना गरी आफूलाई फिट राख्ने प्रयास गर्थे ।

जाभेदले यो वर्षको सुरुआतमा विश्वकपका दुई स्पर्धामा उपाधि जिते र विश्व वरीयताको चौथो नम्बरमा रहेर टोकियो पुगे । उनी पाँचौं स्थानका लागि छनोट भएका थिए । तर, फाइनलमा पुगेपछि तत्कालै चौथो बनिहाले । फाइनलमा उनले सर्बियाका मिकेचलाई ४.२ अंकले पछि पारिसकेका थिए । अन्तिम दुई सट प्रहार उनको अझै उत्कृष्ट भयो । स्वर्ण जितेसँगै उने रुमाल भुइँमा ओछ्याएर घुँडा टेक्दै अल्लाहलाई धन्यवाद दिँदै जितको खुसी साटे ।

प्रकाशित : श्रावण १०, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?