टोकियो ओलम्पिक : पहिलो दिन ११ स्वर्णको फैसला

एएफपी

टोकियो — टोकियो ओलम्पिकको सुरुआतका दुई स्वर्ण चीनले जितेको छ । साइक्लिङको रोड रेस विधामा इक्वेडरका रिचार्ड कारापाजले स्वर्ण जितेर कीर्तिमान राखेका छन् । उनी ओलम्पिकमा स्वर्ण जित्ने इक्वेडरका दोस्रो खेलाडी हुन् ।

टोकियो ओलम्पिक : पहिलो दिन ११ स्वर्णको फैसला

कोरोना महामारीका कारण एक वर्ष पछाडि सारिएको प्रतियोगिता आयोजना कठिन चुनौतीबीच शुक्रबार सुरु भएको हो । शनिबार चीनले सुटिङ र भारोत्तोलनमा दुई स्वर्ण जितेको हो । याङ क्विनले १० मिटर एयर राइफलमा स्वर्ण जित्ने क्रममा रसियन ओलम्पिक कमिटीकी अनास्टासिया गालासिनालाई नाटकीय रूपमा हराइन् ।

अन्तिम प्रहार गर्ने बेलासम्म गालासिनाले अग्रता लिएन् । स्वर्णका लागि निर्णायक प्रहारमा उनले ८.९ अंकको कमजोर प्रदर्शन रह्यो । त्यसपछि क्विनलाई स्वर्ण जित्न सजिलो भयो । यही स्पर्धामा नेपालकी कल्पना परियार छनोट चरणबाटै बाहिरिएकी थिइन् ।

‘अहिले चिनियाा कम्युनिष्ट पार्टीको सयौं जन्मदिन हो,’ स्वर्ण जितेपछि क्विनले भनिन्, ‘म आफ्नो देशका लागि पहिलो स्वर्ण पदक उपहार दिन पाउादा धेरै खुसी छु । गर्व लागेको छ ।’

लगत्तै चीनका लागि अर्को खुसीको खबर आयो भारोत्तोलनबाट । होउ जिहुइले ४९ केजी तौलबाट ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितिन् । उनले २ सय १० केजी भार उचालिन् ।

साइक्लिङको प्रतिस्पर्धात्मक रोड रेस विधामा सन् २०१९ को गिरो डी’इटालिया विजेता कारापाजले स्वर्ण जित्ने क्रममा टुर डे फ्रान्स च्याम्पियन स्लोभेनियाका टाडेज पोगाकारलाई ठूलो अन्तरमा पछि पारे । कारापाजको स्वर्णको महत्त्व इक्वेडरको साढे २ दशकको प्रतीक्षा गरेको थियो । सन् १९९६ को एटलान्टा ओलम्पिकमा जेफरसन पेरेजले रेस वाकमा स्वर्ण जितेयता इक्वेडरले पहिलोपल्ट ओलम्पिक स्वर्ण जितेको हो ।

आर्चरीको मिक्स स्पर्धामा स्वर्ण जितेर दक्षिण कोरियाले पदक खाता खोल्यो । यो स्पर्धा ओलम्पिकमा पहिलोपल्ट समावेश गरिएको हो ।

कोरोना महामारीका कारण जापानीहरूले समेत ओलम्पिक भेन्यूमा प्रवेश पाएका छैनन् । तर साइक्लिङको रोड रेसका क्रममा उनीहरूले प्रतिस्पर्धाको झलक देख्ने दुर्लभ अवसर पाए । रोमाञ्चक प्रतिस्पर्धाबीच कारापाजले स्वर्ण जितेको हेर्न २ सय ४५ किलोमिटरको कोर्समा हजारौं मानिस उपस्थित थिए ।

‘यो मेरा लागि अविश्वसनीय क्षण हो,’ कारापाजले भने, ‘तपाईंले सधैं विश्वास राख्नुपर्छ । मैले धेरै मिहिनेत गरेको थिएँ र यो मेरा लागि निकै ठूलो क्षण हो ।’

चीन, इक्वेडर र दक्षिण कोरियाले जसरी आफ्नो खुसी पाए, आयोजक जापानका लागि भने निराशाजनक क्षण रह्यो । जापानका जिम्न्यास्टिक सुपरस्टार कोहेइ उचिमुरा होरिजेन्टल बार कम्पिटिसनबाट प्रत्याशित रूपमा बाहिरिए । सन् २०१२ र २०१६ का ओलम्पिक च्याम्पियन उचिमुराले घरेलु भूमिमा हुने ओलम्पिकपछि संन्यास लिने बताएका थिए । प्रतिस्पर्धाको दौरान उनको हात फुस्कियो र अर्को साता हुने फाइनलका लागि उनी अयोग्य रहे ।

‘पछिल्लो तीन ओलम्पिकमा मैले त्यस्तै प्रदर्शन गर्न सकेको थिएँ, जस्तो मैले सिकेको थिएँ । तर यसपल्ट सकिनँ,’ उचिमुुराले भने ।

टोकियो ओलम्पिकमा शनिबार ११ स्वर्णको छिनोफानो भएको छ । उचिमुरा असफल भए पनि जापानले शनिबार नै स्वर्णको खाता भने खोलेको छ । जुडोको पुरुष ६० केजीमुनि जापानका ताकातो नाओहिसाले चाइनिज ताइपेईका याङ युङ वेईलाई गोल्डेन स्कोरका आधारमा हराउँदै स्वर्ण जिते ।

एसियाली देश इरानले पनि स्वर्णमा खाता खोल्यो । इरानका जाभेद फोरोउघीले १० मिटर एयर पेस्तोलमा स्वर्ण जिते । तेक्वान्दोमा महिला ४९ केजीमुनि थाइल्यान्डकी पानिपाक वोङपातानाकितले स्पेनकी एन्ड्रियाना सेरेजोलाई हराएर स्वर्ण जिनित् । पुरुष ५८ केजीमुनि ट्युनिसियाका मोहम्मद खलिलले स्वर्ण जिते । उनले इटलीका डेलाक्विला भिटोलाई हराए ।

कोरोना संक्रमणका कारण जर्मन साइक्लिस्ट साइमन गोच्के र नेदरल्यान्डसका रिोवर फिन फ्लोरिनले प्रतियोगिता गुमाएका थिए । शनिबार ओलम्पिकसँग सम्बन्धित १ सय २३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये १२ खेलाडी छन् ।

आयोजकलाई अर्को एउटा पिरलो थपिएको छ । टोकियो सहरतर्फ अघि बढिरहेको एउटा समुद्री आँधी मंगलबारसम्म आइपुग्ने मौसम अधिकारीहरूले अनुमान गरेका छन् । सुरक्षा सतकर्ता अपनाउँदै आयोजकले रोइङका स्पर्धा शनिबारैदेखि सुरु गरेका छन् । यो खेल सोमबार सुरु हुने तालिका थियो ।

पुरुष टेनिसमा विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिचले बोलिभियाका ह्युगो डेलिनमाथि ६–२ र ६–२ को सहज जितसहित आफ्नो गोल्डेन स्लाम लक्ष्य जीवितै राखेका छन् । एकै वर्ष चार ग्रान्ड स्लामसहित ओलम्पिक स्वर्ण जित्नुलाई गोल्डेन स्लाम भन्ने गरिएको छ । यो सफलता अहिलेसम्म कुनै पनि पुरुष खेलाडीहरुले पाएका छैनन् । जोकोभिचले यसअघिका तीन ग्रान्ड स्लाम जितेका छन् । ओलम्पिक र सेप्टेम्बरमा हुने युएस ओपन जितेमात्र कीर्तिमान बन्नेछ । सन् १९८८ मा जर्मन महान खेलाडी स्टेफी ग्राफले महिलातर्फ यो सफलता पाएकी थिइन् ।

टोकियो ओलम्पिक २०२० पदक तालिका

देश स्वर्ण रजत कांस्य

चीन ३ ० १

इटाली १ १ ०

जापान १ १ ०

दक्षिण कोरिया १ ० २

इक्वेडर १ ० ०

हंगेरी १ ० ०

इरान १ ० ०

कोसोभो १ ० ०

थाइल्यान्ड १ ० ०

प्रकाशित : श्रावण ९, २०७८ २३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?