टोकियो ओलम्पिक २०२० : सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको चुनौती समाप्त

टोकियो ओलम्पिक २०२० : सुटिङकी कल्पना परियार राष्ट्रिय कीर्तिमान सुधारे पनि प्रारम्भिक चरणबाटै बाहिरिइन् । जुडोकी सोनिया भट्ट पनि पहिलो चरणमै पराजित ।
राजु घिसिङ

टोकियो — टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ ।

टोकियो ओलम्पिक २०२० : सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको चुनौती समाप्त

कल्पनाले महिला १० मिटर एयर राइफलमा ६१६.८ अंक जोड्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरिन् । उनले ५० जना सुटरमध्ये ४६ औं स्थानमा रहेर ओलम्पिक यात्रा टुंग्याइन् । उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा आफैले बनाएको ६१४.५ अंकको राष्ट्रिय कीर्तिमानलाई असाका सुटिङ रेन्जमा सुधार गरेकी हुन् । यो स्पर्धामा कम्तीमा ६२८.५ अंक जोडेका शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।

स्पर्धामा सुटिङकी कल्पना परियार (बायाँ)

निप्पोन बुदोकानमा बिहानै भएको जुडोको प्रतिस्पर्धामा १९ वर्षीया सोनियाले पहिलो बाउट जित्ने लक्ष्य बनाएकी थिइन् । तर, उनको चुनौती रुसकी इरिना डोल्गोभाले १ मिनेट १६ सेकेन्डमै समाप्त पारिदिइन् । ग्रान्डस्लाम र युरोपियन च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ पदक जितेकी इरिनाविरुद्ध सोनियाको केही सीप चलेन र नकआउट नै हुनुपऱ्यो ।

३२ औं ग्रिष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी छन् । पौडीमा गौरिका सिंहले जुलाई २७ र अलेक्जेन्डर गाडेगार्ड शाहले जुलाई २८ मा प्रतिस्पर्धा गर्दैछन् । एथलेटिक्सकी सरस्वती चौधरीले ३० जुलाईमा दौडनेछिन् । यी तीन खेलाडीले विश्वव्यापी सहभागिताको आधारमा ओलम्पिक खेल्ने अवसर पाएका हुन् । कल्पना र सोनिया आमन्त्रण कोटामा ओलम्पियन बनेका हुन् ।


प्रकाशित : श्रावण ९, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?