टोकियो ओलम्पिक : एक बाउट जित्ने चाहना

जुडो खेलाडी सोनिया भट्टले विश्व वरीयताको नवौं स्थानकी रुसी खेलाडी इरिना डोल्गोभाविरूद्ध शनिबार जित हात पार्दै इतिहास कोर्ने लक्ष्य राखेकी छन्
राजु घिसिङ

टोकियो — रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी फुपुल्हामु खत्रीले टोकियो ओलम्पिक २०२० का लागि जुडोमा छात्रवृत्ति पाएकी थिइन् । उनले एक वर्ष नहुँदै जापानको प्रशिक्षण त्यागिन् । जुडोकै इन्द्रकुमार श्रेष्ठले पनि ओलम्पिक छात्रवृत्ति पाए ।

टोकियो ओलम्पिक : एक बाउट जित्ने चाहना

त्यसैले सोनिया भट्टले यसपालि ओलम्पिकमा सहभागी हुन पाउने सोचेकी थिइनन् । तर, उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र भाग्यको साथमा ओलम्पिक सपना पूरा गर्न टोकियो आइपुगेकी छन् । उनी शनिबार नयाँ ओलम्पियन बन्दैछिन् ।

बाँके खजुराकी १९ वर्षीया सोनिया भन्छिन्, ‘यसैपालि ओलम्पिक पाउँछु भन्ने लागेको थिएन किनकि मभन्दा सिनियर दाइ (इन्द्र) छात्रवृत्तिमा हुनुहुन्थ्यो । तर, मैले नसोचिएको अवसर पाएँ । वाइल्ड कार्ड (आमन्त्रण कोटा) मा ओलम्पिक सहभागी हुन पाउँदा एकदमै खुसी लाग्यो ।’ गत वैशाखमा नेपाल प्रहरीमा भर्ना भएकी उनले थपिन्, ‘नेपालका लागि केही गर्ने पालो मेरो हो भन्ने लागेको छ । ओलम्पिक भिलेज छिरेपछि अलि डर पनि लागिरहेको छ खेल नजिकै आयो भनेर । डरसँगै मैले खेल देखाउने यही बेला नै हो, देशलाई चिनाउने बेला यही हो भन्ने लागिरहेको छ ।’

उनले महिला ४८ केजीमुनिको स्पर्धामा चुनौती पस्कँदैछिन् । बिहीबारको ‘ड्र’ अनुसार उनले कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको छ । उनले अन्तिम ३२ को खेलमा रुसकी इरिना डोल्गोभाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । निप्पोन बुदोकानमा हुने प्रतिस्पर्धामा जित हात पार्नसके उनले इतिहास रच्न सक्छिन् । किनभने ओलम्पिकमा यसअघि सहभागी भएका नेपालका चार खेलाडीले कुनै खेल जितेका छैनन् । उनका लागि त्यो यात्रा धेरै कठिन छ ।

पदकको दाबेदार मानिएकी इरिना विश्व वरीयतामा नवौं स्थानमा छन् । रियो ओलम्पिक खेलिसकेकी २५ वर्षीया उनले अन्तर्राष्ट्रिय जुडोमा १७ पदक जितेकी छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले डोपिङ प्रकरणका कारण रुसमाथि प्रतिबन्ध लगाएकाले इरिनाले ओलम्पिक झन्डामा प्रतिस्पर्धा गर्नेछिन् । महिला ४८ केजीमुनिको स्पर्धामा २८ खेलाडी सहभागी छन् ।

विश्व जुनियर जुडो च्याम्पियनसिप २०१९ (मोरक्को) को पहिलो चरणमा मोजाम्बिकका खेलाडीलाई पराजित गरेर ११२ अंक जोडेको आधारमा आमन्त्रित कोटामा टोकियो यात्रा गर्ने अवसर पाएकी सोनियाले भनिन्, ‘तयारी एकदमै राम्रो छ । राम्रो प्रदर्शन गरेर बाउट (खेल) जित्ने लक्ष्य छ ।’ १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा कांस्य पदक हात पारेकी उनले थपिन्, ‘इरिनाको गेम कहिल्यै देखेको छैन । टाइसिट आउनेबित्तिकै इन्टरनेटमा खोजेकी थिएँ, उनी राम्रो खेलाडी रहेछ । म सक्दो प्रयास गर्नेछु ।’ उनले युथ ओलम्पिक २०१८ (ब्युनस आयर्स) पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

नेपालीकी अर्की खेलाडी सुटिङकी कल्पना परियारले पनि शनिबारै प्रतिस्पर्धा गर्दैछिन् । आमन्त्रित कोटामा ओलम्पिकमा भाग लिएकी उनले महिला १० मिटर एयर राइफलमा चुनौती पेस गर्नेछिन् । कोरोना भाइरसको महामारीका कारण एक वर्ष धकेलिएको ३२ औं गष्ष्मृकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुँदै छ । ‘देवु गुरु (थापा) र फुपुल्हामु दिदीले ओलम्पिकमा खेल्दा म पनि त्यस्तै खेल्न चाहन्थें, एकपल्ट त्यस्तै गर्न चाहन्थें,’ उनले भनिन् । सबै खेलाडीको जस्तै उनको पनि सपना थियो ओलम्पियन बन्ने । त्यो सपना पूरा गर्ने संघारमा आइपुगेकी सोनिया भन्छिन्, ‘१३ औं सागमा श्रीलंका र भारतसँग हारेकी थिएँ । त्यो बेला दबाब थियो । यसपालि पनि छ । ओलम्पिकमा एकदमै राम्रो खेल्नुपर्ने र बाउट जित्नुपर्ने दबाब छ ।’ ११ वर्षको छँदादेखि मंगोलियन क्लब, खजुरामा जुडो खेल्न थालेकी उनले त्यसपछि नेपालगन्जमा ट्रेनिङ गरिन् अनि राजधानी काठमाडौं पुगिन् ।

सिनियरमा पहिलोपल्ट ४४ केजीमुनिको स्पर्धामा चार वर्षअघि सातौं राष्ट्रिय खेलकुदमा सहभागी भएकी थिइन्, जहाँ उनले स्वर्ण नै चुमिन् । त्यसपछि उनले स्वर्ण गुमाएकी छैनन् । सिनियरमा प्रतिस्पर्धा गर्न थालेयता कुनै पनि खेल गुमाएकी छैनन् । यसक्रममा अम्बिका स्मृति र आठौं राष्ट्रिय खेलकुदका स्वर्ण कब्जा गरिन् । यसैपालि कक्षा १२ सकाएकी उनले जुनियरका वर्ल्ड जुडो, एसियन क्याडेट र एसियन च्याम्पियनसिपको पहिलो चरणमा जित हात पार्दै राम्रो करिअरको सम्भावना देखाएकी थिइन् ।

‘आत्मविश्वासी खेलाडी’

प्रशिक्षक सूर्यनारायण श्रेष्ठ आत्मविश्वासी खेलाडी मान्छन् सोनियालाई । उनले नै सोनियालाई ओलम्पिकमा तयार गरिरहेका छन् ।‘उनी आत्मविश्वासी भएर खेल्छिन्, हतपत आत्तिदैनन् । यो नै उनको सबैभन्दा बलियो पक्ष हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘उनको दायाँ साइडमा सियोइनागे (काँध हालेर पछार्ने हाते कला) राम्रो छ । तर, ट्रेनिङमा बायाँ साइडमा पनि ध्यान दिएको छु । रुसी प्रतिस्पर्धी इरिनाले बायाँ साइडबाट बढी आक्रमण गरेको देखेको छु । यसमा सोनियाले फाइदा लिन सक्छिन् ।’

प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सोनिया भट्ट ।

सोनियाको प्रतिद्वन्द्वीबारे प्रशिक्षक श्रेष्ठले भने, ‘अहिलेको तयारीअनुसार हाम्रो राम्रै तयारी भएको छ । प्रतिस्पर्धी बलियो छ, ग्रान्ड स्लाम र युरोपमा स्वर्ण जितिसकेका खेलाडी हुन् । सोनियाले बाउट जित्न प्रयास गर्नेछिन् । राम्रो प्रदर्शन गर्ने आस लिएको छु ।’ सोनियाले ओलम्पिक खेल्ने पक्का हुँदा उनको तौल ५० केजीभन्दा बढी थियो । त्यसलाई घटाउनै दुई साता लागेको थियो । ‘उनको तौल नियन्त्रण भएपछि हामी प्राविधिक पक्षमा छिरेका छौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘मानसिक रूपमा तयार भएर भिड्नुपर्ने हुन्छ । यसैमा ध्यान केन्द्रित गरेको छु ।’

जुडोका नेपाली ओलम्पियन

ऋषिराम प्रधान - सोल (१९८८)

गंगाबहादुर डंगोल - सोल (१९८८)

देवु थापा - बेइजिङ (२००८)

फुपुल्हामु खत्री - रियो (२०१६)

सोनिया भट्ट - टोकियो (२०२०)

प्रकाशित : श्रावण ८, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?