महामारीको छायामा टोकियो ओलम्पिक आजदेखि

राजु घिसिङ

टोकियो — ओलम्पिकमा नयाँ–नयाँ कीर्तिमान राख्ने अपेक्षासहित संसारभरका ११ हजार खेलाडी टोकियो पुगेका छन् तर कोभिड संक्रमणले सहरमा दिनदिनै कीर्तिमान बनाएकाले खेलाडीसँगै आयोजक पनि चिन्तित छन् । 

महामारीको छायामा टोकियो ओलम्पिक आजदेखि

३२ औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुँदै छ । तर, टोकियोमा उस्तो उत्साह छैन, खासमा स्थानीय बासिन्दा त विरोधमा नै छन् । खेलाडीको सुरक्षा र ओलम्पिकको सफलतालाई लिएर ओलम्पिक अधिकारी र जापान सरकार पनि ‘नर्भस’ छन् । किनकि टोकियोमा बिहीबार मात्रै १,९७९ जना संक्रमित भएका छन् । टोकियोमा संक्रमितको यो संख्या ६ महिनायताकै सबभन्दा बढी हो भने संक्रमितको संख्या लगातार वृद्धि भएको ३३ औं दिन । त्यसैले अघिल्लो दिन मात्रै सरकारले ओलम्पिक स्थगित गर्ने सम्भावना अझै समाप्त नभइसकेको बताएको थियो । नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सहरमा निस्कन अहिले घण्टौं लाग्छ ।

विमानस्थलमै हुने पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्रै होटल वा ओलम्पिक भिलेजमा जाने अनुमति हुन्छ । यात्रामा देखिन्छ सफा र चिटिक्क टोकियो । तर, खेलप्रति उत्सुकताभन्दा चिन्ता बढी छ । टोकियोस्थित राष्ट्रिय रंगशालामा ‘युनाइटेड बाई इमोसन’ थिममा शुक्रबार साँझ ओलम्पिक उद्घाटन हुँदै छ ।

टोकियोस्थित नेसनल स्टेडियम । तस्बिर : रोयटर्स

विश्व खेलकुदको महाकुम्भमा सामान्यतया ठूलै तडकभडक हुने गर्थ्यो । प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकले आयोजक सहरलाई नै रंगीन बनाउने गर्छ । यसपालि भने कोभिड महामारीले नराम्ररी असर गरेको छ । महामारीकै कारण एक वर्ष ढिला सारिएको ओलम्पिकका केही झन्डा, मस्कट र लोगो मात्र विमानस्थलमा देखिन्छन् । तर, सडकमा ओलम्पिक लोगो भएका सीमित ट्याक्सी, कार मात्रै कुदिरहेका भेटिन्छन् । केही सीमित स्थानमा मात्रै ओलम्पिकको बोर्ड र ब्यानर देख्न सकिन्छ ।

टोकियोमा कोभिड–१९ संक्रमण बढ्दै जाँदा केही दिन अघिसम्म पनि ओलम्पिक आयोजनामै शंका थियो । सरकारले आपत्काल घोषणा गरेरै ओलम्पिक आयोजना गर्न लागेको हो । ‘ओलम्पिक आयोजना गर्नु ठीकै हो,’ स्थानीय यातायात व्यवसायी केइटा उइनोले भने, ‘धेरै मानिस विदेशबाट आउँछन् र उनीहरूले भाइरस ल्याउँछन्, यहाँ महामारीले उग्र रूप लिन्छ भनेर धेरैले ओलम्पिक आयोजनाको विरोध गरिरहेका छन् ।’ केहीले भने खेल हुने स्थलमै गएर ओलम्पिक हेर्न चाहेका छन् । दर्शकलाई प्रवेश नदिने भनेपछि त्यो पनि सम्भव छैन, टीभीमै हेर्नुपर्ने भएको छ । ‘तर, ओलम्पिक आयोजनाका लागि यो समय सही होइन । यहाँका धेरै मानिस ओलम्पिक आयोजनाको पक्षमा छैनन्,’ केइटा भन्छन् ।

टोकियोमा गरिएका केही सर्वेक्षणले पनि ३८ वर्षीय केइटाको भनाइलाई पुष्टि गर्छ । गत महिना भएको एक सर्वेक्षणमा ७० प्रतिशत बढीले ओलम्पिक आयोजना गर्न नहुने पक्षमा मत दिएका थिए । तर, ओलम्पिक आयोजना गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अधिकार स्थानीय सहरलाई छैन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले मात्रै निर्णय गर्न सक्छ । आईओसीकै निर्णयअनुसार जापानी प्रधानमन्त्री योसिहिदे सुगाले प्रतिकूल परिस्थितिमा पनि ओलम्पिक आयोजनालाई तीव्रता दिएका हुन् ।

जनताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै टोकियोमै प्रधानमन्त्री सुगा र ओलम्पिकको विरोधमा दिनदिनै विरोध प्रदर्शन भइरहेको छ । ओलम्पिक आयोजनाकै कारण अक्टोबरमा हुने आम निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टीले सत्ता गुमाउने अनुमान गरिएको छ । उद्घाटन समारोहको उपस्थितिलाई लिएर पार्टीका नेताहरूबीच नै मतमतान्तर भएको छ ।

जापानी प्रधानमन्त्री योसिहिडे सुगा । तस्बिर : रोयटर्स

पर्यटक र स्थानीयको भीड हुने सिन्जुकु, सिवुया, गिन्जा, रोपन्गी, इकेबुकुरोमा ओलम्पिकले केही चहलपहल ल्याएको छ । तर, पहिलाजस्तै घुइँचो छैन । ‘सामान्य अवस्थाभन्दा धेरै कम मान्छे देखिन्छन्, त्यो पनि ओलम्पिकको कार्ड भिरेका मान्छे धेरै हुन्छन्,’ आठ वर्षयता टोकियोमा व्यवसाय गरिरहेका मोहन घले भन्छन्, ‘कोरोनाका कारण अघिल्लो वर्षको फेब्रुअरीदेखि सुनसानजस्तै थियो । कोरोनाको दोस्रो लहरमा मानिसको मृत्यु बढेपछि जापानीहरू डराउन थाले । चर्चित कमेडियन सिमुरा केनको मृत्युपछि झनै सुनसान भएको टोकियोमा ओलम्पिकले केही चहलपहल बढाएको छ ।’

घलेका अनुसार सामान्य अवस्थाभन्दा आधा मात्रै सवारीसाधन सडकमा गुडिरहेका छन् । पहिलाजस्तो ट्रेन र बसमा ठेलमठेल हुँदैन । विदेशी पर्यटकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । टोकियोका रेस्टुराँमा पार्टी गर्न, मदिरा बिक्रीवितरणमा प्रतिबन्ध छ । रेस्टुराँ बेलुकी ८ बजे बन्द गर्नुपर्ने नियम ल्याइएको छ । पार्क र चोकमा समूहमा भेला हुन बन्देज छ । सामाजिक दूरी कायम राख्नेलगायत नियम पालन गरेर सुपर मार्केटलगायत पसल भने खुलिरहेका छन् । टोकियोका निजी तथा सरकारी कार्यालयहरू एक वर्षयता आधा कर्मचारी राखेर सञ्चालन भइरहेका छन् ।

ओलम्पिक भिलेजमा पनि लगातार कोरोना संक्रमण बढिरहेको खबर आइरहेका छन् । यसको तथ्यांक भने सार्वजनिक गरिएको छैन । खेलाडीको हरेक दिन कोभिड–१९ परीक्षण भइरहेको छ । भिलेज र ओलम्पिक होटलका कर्मचारी र विदेशी खेलाडी, पदाधिकारीमा पनि कोभिड–१९ पोजिटिभ पाइएको छ । ओलम्पिक भिलेजभित्रको अवस्थाबारे पौडी खेलाडी गौरिका सिंह भन्छिन्, ‘सतर्कता धेरै छ । मास्क लगाउनैपर्छ । हात मिलाउन, अँगालो हाल्न पाइँदैन ।’ उनले रियो ओलम्पिक २०१६ की सबभन्दा कम उमेरकी खेलाडीका रूपमा विश्वमै चर्चा पाएकी थिइन् । कोरोनाविरुद्धको खोप नलगाएका खेलाडी, सञ्चारकर्मी र पदाधिकारीलाई जापान प्रवेश गर्न दिइएको छैन । तर, जापानी नागरिकले भने खोप लगाउन अस्वीकार गरिरहेका छन् । एकदमै थोरैले मात्र खोप लगाएका छन् । उनीहरूले ‘नो कोरोना, नो पीसीआर’ भन्दै अझै खोपको विरोध गरिरहेका छन् ।

अर्बौं डलर खर्च

विश्व खेलकुदको महाकुम्भ आफ्नो समृद्धि देखाउने होडमा आयोजना गर्ने प्रचलन छ । यस्तै होडमा ओलम्पिक ५७ वर्षपछि टोकियो फर्किएको हो । तर यसपालि आयोजक देश आफ्नै जनताको भावनाअगाडि रक्षात्मक देखिएको छ । जापान सरकारले ओलम्पिकका लागि भौतिक पूर्वाधार निर्माण र आयोजनामा १५ अर्ब ४० करोड अमेरिकी डलर लगानी गरेको तथ्य सार्वजनिक गरेको छ । तर, त्यसको तीन गुणा बढी खर्च भएको पुष्टि लेखापरीक्षणबाट भएको भन्दै जापानी समाचार संस्थाहरूले दाबी गरेका छन् । जनताले कर तिरेको पैसा ओलम्पिक आयोजना गरेर देखाउन खर्च गरेको भन्दै सरकारको विरोध भइरहेको छ । यसको विरोधमा साढे तीन लाख नागरिकले हस्ताक्षर गरेर सरकारलाई बुझाएका छन् ।

ओलम्पिक आयोजक कमिटी र आईओसीले गत साता मात्रै बिनादर्शक नै खेल सञ्चालन गर्ने घोषणा गरेका थिए । आयोजकले बिक्री गरिसकेको ४४ लाख ८० हजार टिकटको रकम फिर्ता गर्नुपर्ने भएको छ । यसमा ६ लाख टिकट त विदेशीले लिएका थिए । ओलम्पिक उद्घाटन समारोहका निर्देशक केन्तारो कोबायसीलाई बिहीबार बर्खास्त गरिएको छ । दशकअघिको भिडियोमा उनले होलोकस्टलाई हाँसीमजाकको विषय बनाएका थिए । यसअघि पनि केही उच्च पदाधिकारी पद छाड्न बाध्य भएका थिए । ओलम्पिक उद्घाटनमा विश्वका शीर्ष नेता र राष्ट्र प्रमुखहरूको बाक्लो उपस्थिति रहन्थ्यो । यसपालि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र मंगोलियाका प्रधानमन्त्री लुभ्सन्नाम्सराई ओयुन–इर्देनलगायत सीमित विशिष्ट अतिथि मात्रै उपस्थिति रहने आयोजकले जनाएको छ । अमेरिकी प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्दैछिन् ।

यो ओलम्पिकमा ३३ खेल समावेश छन् । जसमा ३३९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । चार खेलमा नेपालका ५ खेलाडी सहभागी हुँदै छन् । नेपाल पहिलोपल्ट सन् १९६४ मा ओलम्पिकमा सहभागी भएको थियो र त्यो संस्करण पनि टोकियोमै भएको थियो । त्यसको ५७ वर्षपछि फरक परिस्थितिमा टोकियोमा ओलम्पिक फर्किंदा पनि नेपाली टिमको प्रदर्शन सहभागितामै सीमित हुने सम्भावना छ ।

प्रकाशित : श्रावण ८, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?