कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिसाका कारण सन्दीप फर्किंदै

जुन भिसा पाए, त्यसले ‘द हन्ड्रेड’ खेल्न पाएनन्
विनोद पाण्डे

काठमाडौँ — नेपाली स्पिनर सन्दीप लामिछाने पहिलोपल्ट आयोजना हुन लागेको ‘द हन्ड्रेड’ नखेलीकनै स्वदेश फर्किने भएका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) को आयोजनामा बिहीबारदेखि द हन्ड्रेड सुरु हुँदै छ । 

भिसाका कारण सन्दीप फर्किंदै

दुई साताअगाडि लन्डन पुगेका सन्दीप भिसाका कारण टर्की हुँदै बिहीबार नै काठमाडौं फर्कंदै छन् । सन्दीपले ओभल इन्भिन्सिबल्सबाट द हन्ड्रेड खेल्ने तय थियो । एक इनिङ्समा १ सय बल खेलिने द हन्ड्रेडका लागि ओभलले सन्दीपलाई ६० हजार पाउन्डमा अनुबन्धित गरेको थियो । त्यसका लागि सन्दीप जुलाई ९ मा लन्डन पुगेका थिए । १० दिने अनिवार्य क्वारेन्टाइन अवधि पूरा गर्नु केही दिनअघि मात्र सन्दीपलाई जुन भिसामा इंग्ल्यान्ड पुगेका थिए, त्यो भिसाले द हन्ड्रेड खेल्न नपाउने बताइएको थियो ।

‘म लन्डन आइपुग्दा अध्यागमनलगायतको कुनै झन्झट भएन । त्यसपछि बेलायत सरकारको अनिवार्य क्वारेन्टाइनमा पुगें । मेरो क्वारेन्टाइन अवधि समाप्त हुनु दुई दिनअघि जुलाई १८ मा मलाई ईसीबीले तिम्रो भिसाको मान्य हुँदैन र तुरुन्तै देश छोड्नुपर्ने बताएको थियो,’ सन्दीपले सामाजिक सञ्जालमा आफ्नो पोस्टमा लेखेका छन्, ‘कहाँ के गलत भयो भनेर मैले सोधिरहेको छु, तर ईसीबीका कसैले पनि सही जवाफ दिएका छैनन् । मेरो मान्य भिसा किन अमान्य भयो भनेर स्पष्ट उत्तर पाउन म हकदार छु ।’

द हन्ड्रेडअघि सन्दीपले इंग्ल्यान्डमै भाइटालिटी ब्लास्ट खेल्ने कार्यक्रम थियो । तर कोभिड–१९ उत्कर्षमा रहेको समयमा भिसा ढिला आएपछि उनी वोरेस्टरसायर ब्लास्टबाट भाइटालिटी ब्लास्ट खेल्न वञ्चित भएका थिए । सन्दीपले त्यसका लागि टिएर ५ भिसा आवेदन दिएका थिए । त्यही भिसामा उनी लन्डन लागेका थिए । यो भिसाले खेल्न नपाउने भएपछि सन्दीपको लन्डन यात्रा प्रतियोगिता सुरु हुनुअघि नै सकिएको हो ।

दुई फरक प्रतियोगिता रहेकाले एउटा प्रतियोगिताका लागि आवेदन गरेको भिसा अर्को प्रतियोगिताका लागि अमान्य भएको हुनसक्ने आकलन सन्दीपको व्यवस्थापन समूहले गरेको छ । ओभल इन्भिन्सिबल्सका कप्तान साम बिलिङ्स यो प्रकरणमा अनभिज्ञ रहेको जनाउँछन् । सन्दीपको भिसा प्रकारणबारे उनले क्रिकइन्फोमा मंगलबार बिहान भनेका थिए, ‘यस समयमा हामी अनिश्चित छौं ।’ सन्दीपको स्थानमा ओभल इन्भिन्सिबल्सले दक्षिण अफ्रिकाका ताब्राइज साम्सीलाई लिने प्रयासमा गरेको छ । ट्वान्टी–२० का विश्व नम्बर एक बलर साम्सी अहिले दक्षिण अफ्रिकाको टोलीसँगै आयरल्यान्ड भ्रमणमा छन् ।

विश्वका सबै फ्रेन्चाइज क्रिकेट खेल्दै आएर ग्लोबल स्टार भएका सन्दीपका लागि पछिल्लो समय प्रतिकूल बन्दै आएको छ । उनलाई यसै वर्ष दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि फुकुवा गरेको थियो । सन् २०१७ देखि उनी दिल्लीबाट खेल्दै आएका थिए । त्यसपछि आईपीएल अक्सनमा पनि उनीमाथि कुनै भाउ लागेको थिएन । पाकिस्तान सुपर लिगमा अफगानिस्तानका रसिद खानको स्थान लिन उनी फेब्रुअरीमा लाहोर लागेका थिए । तर कोभिड–१९ का कारण प्रतियोगिता रोकिएपछि उनी फर्किनुपरेको थियो ।

प्रकाशित : श्रावण ६, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?