पारा ओलम्पिक कमिटीको लापरबाही : पौडीमा खेलाडीको नामै पठाइएन- खेलकुद - कान्तिपुर समाचार

पारा ओलम्पिक कमिटीको लापरबाही : पौडीमा खेलाडीको नामै पठाइएन

मेरो ल्यापटप बिग्रिएको थियो । मैले सहमहासचिवलाई भनेको थिएँ । समय सकिएपछि मात्रै थाहा पाएँ । कमजोरी भएकै हो । – विश्वास बस्नेत, सचिव- राष्ट्रिय पारा ओलम्पिक कमिटी
मलाई सचिवज्यूबाट कुनै जानकारी आएकै छैन । म आफैं त्यो समयमा कोरोना लागेर बिरामी थिएँ ।  – दीपक केसी, सहमहासचिव- राष्ट्रिय पारा ओलम्पिक कमिटी
कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) ले निर्धारित समयभित्र आवेदन नदिएका कारण टोकियो पारा ओलम्पिकमा नेपालबाट पौडी खेलमा प्रतिनिधित्व हुन नपाएको खुलासा भएको छ । जापानमा शुक्रबार ३२ औं ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ । अगस्ट ८ (साउन २४) मा ओलम्पिक सकिएको १५ दिनपछि टोकियोमै पारा ओलम्पिक हुनेछ । 

दुई वर्षअघि पारा स्विमिङ च्याम्पियनसिपमा भाग लिन लन्डन पुगेका सरिता थुलुङ र भीम कुमाल, बीचमा गौरिका सिंह । तस्बिर : गौरिकाको फेसबुक

पारा ओलम्पिकमा नेपालबाट पारा तेक्वान्दोकी पलेशा गोबर्द्धनले मात्र प्रतिनिधित्व गर्दै छिन् । ५ खेलका लागि सम्बन्धित खेल संघबाट एक पुरुष र एक महिला खेलाडीको नाम सिफारिस गरिएको थियो । राष्ट्रिय पारा ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी) मार्फत कोटा माग गर्नुपर्नेमा पौडी खेलाडीको नाम नै नपठाएको पाइएको हो ।

आईपीसीको बाइपरटाइट कमिसनमार्फत कोटा माग गर्ने गत मे १४ (वैशाख ३१) को समयसीमा घर्केपछि मात्रै एनपीसीले थाहा पाएको थियो । पौडीको भने आवेदन समय अप्रिलमै सकिएको हो । नाम नपठाउनुमा आफ्नो कमजोरी भएको एनपीसीले स्विकारिसकेको छ । वाग्मती प्रदेशसभा सदस्यसमेत रहेकी एनपीसी अध्यक्ष राधा घले र परिवारसहित अमेरिका बसोबास गर्दै आएका महासचिव पशुपति पराजुलीले अन्तर्राष्ट्रिय सम्बन्ध र कमिटी सञ्चालनको अधिकार सचिव विश्वास बस्नेतलाई दिएका छन् ।

सचिव बस्नेतकै कमजोरीले पारा ओलम्पिकका लागि खेलाडीको आवेदन छुटेको र अन्तर्राष्ट्रिय समन्वय बिग्रिएको जनाइएको छ । पराजुली, बस्नेत र सहमहासचिव दीपक केसीलाई मात्र अन्तर्राष्ट्रिय संस्थासँग समन्वयका लागि ई–मेलको पहुँच छ । सचिव बस्नेतले भने ल्यापटप बिग्रिएर ई–मेल गर्न छुटेको तर्क गरे । ‘त्यति बेला मेरो ल्यापटप क्र्यास भएको थियो । त्यसैले यो कामका लागि मैले सहमहासचिव (केसी) लाई जिम्मा दिएको थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘मैले थाहा पाउँदा आवेदनको समय घर्किइसकेको थियो । पछि आईपीसीका अधिकारीहरूसँग आग्रह गर्दा सम्भव भएन ।’

सहमहासचिव केसी भने सचिवबाट आफूलाई त्यो जिम्मेवारी नआएको दाबी गर्छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय समन्वयको काम सधैंजसो सचिवज्यूबाटै हुने गरेको थियो । ई–मेल त मैले पनि हेर्ने गरेको छु तर ओलम्पिक सहभागिता सुरुदेखि नै उहाँले नै हेर्दै आएकाले त्यसमा चासो दिइनँ । पारा ओलम्पिकको आवेदनबारे मलाई कुनै जिम्मेवारी आएको छैन । त्यही समयमा म आफैं कोरोना संक्रमित भएर तीन सातासम्म बिरामी परेको थिएँ ।’

एनपीसीले कमजोरी गरे पनि सम्बन्धित खेल संघ वा अन्य संघका नेतृत्वले बेलैमा आवाज उठाउन सकेनन् । भविष्यमा हुने अन्य ठूला प्रतियोगितामा पनि एनपीसीमार्फत नै जानुपर्ने र त्यतिबेला प्रतिशोध लिन सक्ने भयले सबै मौनजस्तै छन् । पारा ओलम्पिकका लागि पारा एथलेटिक्स संघले साङ्बु भोटे र सीता भण्डारीको नाम सिफारिस गरेको थियो । पौडीबाट सरिता थुलुङ र भीम कुमाल, टेबलटेनिसबाट केशव थापा र लली तामाङ, पावर लिफ्टिङबाट निर्मला भण्डारी र दुर्गामान तामाङ, पारा तेक्वान्दोबाट पलेशा र रञ्जना धामीको नाम पठाइएको थियो । तेक्वान्दोकी पलेशा मात्र छनोटमा परिन् । पौडीका लागि भने एनपीसीबाटै अगाडि बढेन । नेपालले पौडी र एथलेटिक्समा पहिलेदेखि सहभागी जनाउँदै आएको थियो ।

पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले एनपीसीको लापरबाहीले आफ्ना खेलाडी निराश हुनुपरेको बताए । श्रेष्ठ आफैं एनपीसीको कार्यसमिति सदस्य हुन् । कार्यसमिति बैठकमा उनले आफ्ना खेलाडीका लागि आवेदन नगरिनुको कारणबारे जवाफ खोजेका थिए । तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नपाएको उनले बताए । ‘अन्य खेलको अन्तर्राष्ट्रिय फेडेरेसनबाट कोटा आउँछ । पौडी र एथलेटिक्सको आईपीसीबाटै आउनुपर्ने भएकाले संघले आफैंले केही गर्न सक्ने थिएन । ओलम्पिकसँगै हुने भएकाले पारा ओलम्पिक पनि एक वर्ष सरेको हो । हामीले दुई वर्षअघिदेखि नै खेलाडी तयार पारेका थियौं । जापानकै दाताहरूले सहयोग गरेका थिए । खेलाडीहरू उत्साहित थिए । तर यताबाटै नाम पठाइएन,’ उनले कान्तिपुरसँग भने ।

कार्यसमिति बैठकमा आफूले एक्लै कुरा उठाउँदा अन्य खेल संघका पदाधिकारी चुप बसेको श्रेष्ठले सुनाए । ‘अरू खेल संघका पदाधिकारीहरू पौडीको नआएपछि अब पालो हाम्रै त हो नि भनेर एक शब्द बोलेनन् । अहिले कसैको पनि नआएपछि पछुताएका छन्,’ उनले भने, ‘अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तो गल्ती नदोहोरियोस् ।’ श्रेष्ठले जिज्ञासा राख्दा आईपीसीका अधिकारीले ‘सबै स्वयंसेवक हो, हेर्न भ्याइएन होला’ भनेर जवाफ दिएका थिए । ‘खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् वा कुनै निजी संघसंस्था कसैले पनि हामीलाई खेल र खेलाडीका रूपमा हेर्दैनन् । राखेपमै दर्ता भए पनि मेरै नेतृत्वको पारा पौडी संघलाई सरकारले कुनै सहयोग गर्दैन,’ श्रेष्ठले भने, ‘बेला–बेला यस्ता दुर्घटना हुन्छन् अनि नरमाइलो लाग्छ ।’

२०५७ सालमा राष्ट्रिय पारा ओलम्पिक कमिटी स्थापना भएको हो । चार वर्षपछि सन् २००४ को एथेन्स पारा ओलम्पिकदेखि यसले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता सबै पारा ओलम्पिकमा नेपालको सहभागिता रहँदै आएको छ । त्यति बेला सुरेन्द्रबहादुर बस्नेत अध्यक्ष र पशुपति पराजुली महासचिव थिए । पराजुली अहिलेसम्म पनि महासचिव नै छन् । बस्नेत २०७२ को अन्त्यसम्म अध्यक्ष थिए । बिरामी भएपछि उनले आफ्ना निकट सहयोगी केदारबाबु सिवाकोटीलाई कार्यवाहक दिएका थिए ।

२०७५ चैतमा पूर्वअध्यक्ष बस्नेतको पारिवारिक नातेदार राधा घले अध्यक्षमा निर्वाचित भइन् । अध्यक्ष प्रदेशसभा सदस्य र महासचिव अमेरिका पलायन भएकाले सम्पूर्ण जिम्मेवारी सचिव विश्वास बस्नेतसँग छ । उनी पूर्वअध्यक्ष बस्नेतका छोरा हुन् । पारा ओलम्पिक कमिटीलाई पारिवारिक संस्थाजस्तो बनाउँदा जिम्मेवारीपूर्ण काममा हेलचेक्य्राइँ हुने गरेको गुनासो सुनिन थालेको छ ।

प्रकाशित : श्रावण ६, २०७८ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्

‘ऋणमा ओलम्पिक तयारी गर्दै थिएँ’

धावक गोपीचन्द्र पार्की भन्छन्– ‘ओलम्पिक भन्ने खेलाडीलाई बिदा मनाउन पठाउने ठाउँ हो ? कति वर्षको त्याग, तपस्या र मिहिनेतपछि त्यहाँ पुग्न सकिन्छ भन्ने हाम्रो देशका खेल पदाधिकारीले बुझ्नुभएकै होला ।’
कुशल तिमल्सिना

काठमाडौँ — ‘म छनोट प्रतियोगिता खेलेर टोकियो ओलम्पिकमा छनोट भएको हो । त्यसयता ५ लाख रुपैयाँ ऋण गरेर तयारी गरेको थिएँ । मैले ओलम्पिक छात्रवृत्ति पनि पाइनँ । आफूहरूले कहाँ–कहाँ, के–के गल्ती गरे अहिले सबै दोष मलाई दिन लागेका छन् ।’

आसन्न टोकियो ओलम्पिक खेल्नबाट वञ्चित गराइएका म्याराथन धावक गोपीचन्द्र पार्कीले शनिबार भने, ‘तीन पक्ष मिलेर वक्तव्य जारी गरे । त्यहाँ मेरो क्वालिफिकेसन टाइमिङ नपुगेको भनेर ओलम्पिक खेल्न नपाउनुको कारण मलाई नै बनाइएको छ ।’

नेपाल एथलेटिक्स संघ, नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहीबार संयुक्त वक्तव्यमार्फत आसन्न टोकियो ओलम्पिकका लागि छनोट गरिएका गोपीचन्द्र प्राविधिक छनोटका कारण खेल्न नपाउने र उनको स्थानमा अर्का खेलाडी लाई ओलम्पिकमा पठाइने जनाएका थिए । महत्त्वपूर्ण घटनाक्रममा फरक कित्तामा उभिने यी संस्थाका नेतृत्व एक खेलाडीलाई ओलम्पिकको सपना देखाएर पूरा नगरी फिर्ता ल्याउन एकबद्ध थिए । उनको ठाउँमा छोटो दुरीकी धाविका सरस्वती चौधरीलाई पठाइने भएको छ ।

ओलम्पिकजस्तो खेलमेलाका लागि देशबाट छनोटमा परेर झन्डै एक वर्षदेखि प्रतियोगितालक्षित तयारी गरेका खेलाडीका लागि यो ठूलो बज्रपात थियो । त्यसमा छनोट समय (क्वालिफिकेसन टाइमिङ) नपुगेका कारण प्रतियोगिता खेल्न नपाएको भनेर वक्तव्य सार्वजनिक गरेकामा गोपीचन्द्रले आफ्नो बेइज्जत महसुस गरेका छन् ।

एपीएफका ३० वर्षे गोपीचन्द्रको हकमा एनओसी र एथलेटिक्स संघले नयाँ पाठसहितको दुर्घटना बेहोरे । सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेका नेपाली खेलाडीलाई अहिलेसम्म यस्तो समस्या आइलागेको थिएन । गोपीलाई अहिले एउटैमात्र गुनासो के छ भने आफूले खेल्न नपाएको किन हो ? यसबारे जनमानस्लाई प्रस्ट पार्नुपर्ने उनको जिकिर छ । ‘मलाई केही समय अघिदेखि नै तिमीले ओलम्पिक खेल्न नपाउने सम्भावना छ है भनेर सुनाएका थिए । बल्ल थाहा भयो सबैतिर सेटिङ रहेछ । ओलम्पिक भन्ने कुरा खेलाडीलाई बिदा मनाउन पठाउने ठाउँ हो ? कति वर्षको त्याग, तपस्या र मिहिनेतपछि त्यहाँ पुग्न सकिन्छ भन्ने कुरा हाम्रो देशका खेलपदाधिकारीले बुझ्नुभएकै होला,’ गोपीको प्रश्न थियो ।

कोरोना भाइरस महामारीसँगैको देशव्यापी लकडाउनबाट चलायमान हुन लागेको समयमा गत वर्ष मंसिर ५ मा नेपालगन्ज म्याराथन जितेर गोपी टोकियो ओलम्पिकलाई छनोट भएका थिए । १३ औं दक्षिण एसियाली खेलकुदमा ५ किलोमिटरतर्फ स्वर्ण विजेता उनले कान्तिपुरसँग भने, ‘यति लामो तयारी र खुसी मेरा लागि क्षणभरमै धुमिल भयो । मरेतुल्य भएँ । आफू उभिएको जमिन नै भासिएजस्तो लाग्यो । अहिले ट्रेनिङ पनि राम्रोसँग गर्न सक्दिनँ । मेरो यो मानसिक र शारीरिक क्षति कस्ले पूर्ति गर्न सक्छ ?’

उनलाई आफू राजनीतिको सिकार भएजस्तो लागेको छ । खेलकुद नेतृत्वसामु आफूले किन र के को आशामा करिअर जारी राख्ने भन्ने उनको प्रश्न छ । राष्ट्रिय प्रतियोगिता अनि सागमा स्वर्ण जितेका खेलाडीलाई ओलम्पिकको सम्मुख फिर्ता बोलाएर आफ्नो करिअरमै प्रहार गरेको गोपीको बुझाइ छ । उनले भनेका छन्, ‘वैकुण्ठ गुरुको कीर्तिमान तोड्ने मेरो लक्ष्य थियो । मलाई आगामी ओलम्पिकका लागि छात्रवृत्ति दिने, अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्था गरिदिन्छु भन्नेजस्ता कुरा लिएर कोही पनि खेलअधिकारी आउनुभएको छैन । मैले शतप्रतिशत प्रयास गरेर मात्र पुग्ने रहेनछ । अब त सुरुमै ग्यारेन्टी गरेर खेल्नुपर्ने स्थिति आयो ।’

भएको के हो ?

ओलम्पिकमा छनोटको तीन आधार हुन्छन् । पहिलो, छनोट प्रतियोगिता वा टाइमिङ पार गर्ने । यसमा नेपाली खेलाडीको सम्भावना निकै कमजोर छ । नेपालका अहिलेसम्म भाग लिएका ८४ ओलम्पियनमध्ये तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र छनोट पार गरेका छन् । त्यसबाहेक अन्य दुई प्रक्रियामा वाइल्ड कार्ड र विश्वव्यापी सहभागिता हो ।

एथलेटिक्स र पौडीमा विश्वव्यापी सहभागिता गराइन्छ । नेपालले टोकियो ओलम्पिकका लागि एक पुरुष खेलाडीको कोटा पाएको थियो । सोहीअनुसार नेपाल एथलेटिक्स संघले नेपाल ओलम्पिक कमिटीमार्फत गत नोभेम्बरमा गोपीचन्द्रको नाम पठाएको थियो । उनले लङलिस्टमा नाम आइसकेको थियो भने प्रवेशपत्र पनि पाइसकेका थिए ।

कोरोनाका कारण ओलम्पिक एक वर्ष ढिला भयो । ओलम्पिक म्याराथनमा विश्व एथलेटिक्स महासंघसँग मिलेर आयोजकले २ घण्टा ११ मिनेट ३० सेकेन्डको क्वालिफाइङ टाइम निर्धारण गरेको छ । गोपीको म्याराथन टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्डको छ । ‘यस संस्करणमा १ सय १० धावकले टोकियोमा म्याराथन दौडिन पाउँछन् । तीमध्ये १ सय ५ धावक क्वालिफिकेसन टाइमिङभित्रका छन्,’ एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले कान्तिपुरसँग भने, ‘बाँकी ५ धावक विश्वव्यापी कोटामार्फत आउने हुन् । त्यसमा गोपीको नाम अटाउन नसकेको हो ।’

उनले अहिलेसम्म अनुभवका आधारमा गोपीले ओलम्पिक खेल्ने निश्चित गरे पनि यो दुर्घटनाले पाठ सिकेको स्विकारे । ‘म अघिल्लो सातासम्म गोपीले नै ओलम्पिक खेल्नेमा ढुक्क थिएँ । विश्वव्यापी कोटामा यस्तो हुँदोरहेछ भन्नेबारे बल्ल बुझ्यौं । गोपीलाई विधा परिवर्तन गरेरै भए पनि राख्न विश्व एथलेटिक्स महासंघ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पनि प्रयास गर्‍यौं तर सफल भएनौं,’ अध्यक्ष शाहले भने, ‘झट्ट सुन्दा हामी स्तब्ध भयौं । तर ओलम्पिक कमिटीले प्रस्टीकरणमा सहमत भएपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गरेको हुँ । यसले सकारात्मक सन्देश जाओस् भन्ने अपेक्षा थियो ।’ अध्यक्ष शाहले ओलम्पिक खेल्न नपाएको पीडामा आफूहरू सधैं गोपीचन्द्रको साथमा रहेको दाबी गरे ।

खेल संस्कार नै छैन : राणा

एथलेटिक्सका पूर्वमुख्य प्रशिक्षक सुशील नरसिंह राणा ‘मागेको कुरामा रोज्न’ पाइँदैन भन्ने तथ्य खेलाडीलगायत सबैलाई प्रस्ट बुझाउन चुक्दा समस्या आएको बताउँछन् । ‘ओलम्पिकको वाइल्ड कार्ड वा युनिभर्सिलिटी कार्ड भनेको माग्ने कुरा हो । माग्दा यही विधाको चाहिँ लेउ भन्न पाइँदैन । आयोजक कमिटीले आफूलाई सहज हुने ठाउँमै परिपूर्ति गर्न खोज्छ । यसबारे न संघलाई जानकारी थियो न त खेलाडीलाई गराइयो,’ राणाले भने, ‘अन्तर्राष्ट्रिय मान्यता नै नभएको प्रतियोगितामार्फत खेलाडी छनोट गराइयो र ओलम्पिकको सपना देखाएर धोका दिइयो ।’

एथलेटिक्सका प्रशिक्षण प्रशिक्षक राणाले गोपीचन्द्रको क्वालिफिकेसन टाइमको लेखाजोखा नगरिकन ओलम्पिक छनोट गराउने एथलेटिक्स संघ र संघकै सिफारिसका आधारमा मात्र धमाधम नाम पठाउने नेपाल ओलम्पिक कमिटीको कमजोरीलाई गम्भीरतापूर्वक नलिने हो भने भविष्यमा यो समस्या दोहोरिन सक्ने दाबी गरे ।

‘ओलम्पिकको क्वालिफिकेसन टाइम एक वर्षअघि नै निर्धारण गरिएको हो । म्याराथनको पूर्ण कोटा र क्वालिफिकेसन टाइमिङमा अटाउने धावक विश्वमा कति छन् । हाम्रा खेलाडीको सम्भावना कति हुन्छ भनेर संघले लेखाजोखा गर्नुपर्दैन ?,’ राणाले प्रश्नहरू तेर्स्याए, ‘यसले खेलाडीको मानसिकतामा कति असर परेको छ भन्ने अनुमान खेल नेतृत्वले लगाउन सक्छ ? गोपी अहिलेका स्टार खेलाडी हुन् । उनलाई प्रेरणा मानेर एथलेटिक्स खेल्न थालेका भाइबहिनीले आफ्नो करिअरलाई किन निरन्तरता दिने ?’ ट्र्याकभित्र खेलाडीमात्र होइन ट्र्याकबाहिर संघ र अन्य निकायहरू उत्तिकै चनाखो र सक्रिय हुनुपर्ने आशय उनको थियो ।

संघका पूर्व उपाध्यक्षसमेत रहेका राणाले छनोट प्रतियोगिता वा क्वालिफिकेसन टाइमिङबाट ओलम्पिक खेल्न दीर्घकालीन विकासको योजना तर्जुमा गरी कार्यान्वयन नगरेसम्म यही समस्याको पुनरावृत्ति भइरहने दाबी गरेका छन् ।

प्रकाशित : असार २०, २०७८ १२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×