प्रदेश खेलकुद सदस्यसचिवमा वली

नेपालगन्ज — तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम वली लुम्बिनी खेलकुद परिषद्को सदस्यसचिव नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्ले वलीलाई सदस्यसचिवमा नियुक्त गरेको हो । 

प्रदेश खेलकुद सदस्यसचिवमा वली

वली अध्यक्ष रहेका बेला नेपालगन्जलाई केन्द्र बनाएर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । २०७६ मा लुम्बिनी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा स्थानीय रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वली नेकपा एमाले बाँकेका नेता हुन् ।

नेपालगन्जमा आयोजना हुने नेपालगन्ज म्याराथन, प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आयोजक टोलीमा रहेर खजुरा गाउँपालिकाका स्थायी बासिन्दा वली सक्रिय रहँदै आएका हुन् । केही साताअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओली समूहले पुनर्गठन गरेको नेपाल खेलकुद महासंघका उपाध्यक्ष मनोनीत भएका वली नेपाल भलिबल संघका केन्द्रीय सचिव पनि हुन् । लगातार दुई कार्यकाल उनी भलिबल संघको केन्द्रीय समितिमा रहेका छन् ।

सदस्यसचिव वलीले प्रदेश सरकारले अगाडि सारेका योजनालाई निरन्तरता दिने आफ्नो पहिलो प्राथमिकता रहेको सुनाए । ‘आठौं खेलकुद प्रतियोगितामा निर्माणाधीन पूर्वाधारलाई पूरा गर्ने र बनेका संरचनालाई संरक्षण गर्न संघीय र प्रदेश स्थानीय तह मिलेर पूरा गर्नेछु,’ सदस्यसचिव वलीले भने, ‘खेलकुद प्रतियोगितालाई निरन्तरता दिने योजनामा छु ।’

प्रकाशित : श्रावण ४, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?