कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलम्पिक भिलेजभित्रै भेटिए संक्रमित

एपी

टोकियो — टोकियो ओलम्पिक भिलेजभित्र रहेका एक जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । ३२ औं ग्रीष्मकालीन ओलम्पिक हुन एक साता बाँकी रहँदा भिलेजभित्रै संक्रमण देखिएको व्यक्ति खेलाडी भने नरहेको आयोजक कमिटीले शनिबार जानकारी दिएको छ । 

आयोजक कमिटीका अध्यक्ष सिको हासिमोतो उपस्थित शनिबार पत्रकार सम्मेलनमा ओलम्पिक भिलेजभित्र एक कोरोना संक्रमित भेटिएको जनाइएको छ । गोपनियताका कारण संक्रमितको सम्पूर्ण विवरण सार्वजनिक गर्न नसकिएको आयोजकले प्रस्ट पारेको छ ।

‘अहिलेको अवस्थामा कोरोना संक्रमण देखिनु सम्भावित कुरा नै हो,’ पत्रकार सम्मेलनमा टोकियो ओलम्पिक आयोजक कमिटीका सीईओ तोरिसो मुटोले भने । संक्रमित व्यक्तिलाई ‘खेलसँग सम्बन्धित’ का रूपमा मात्र परिचित गराइएको छ । उनी जापानी नागरिक होइनन् । संक्रमित व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राखिने आयोजकले जनाएको छ ।

ओलम्पिक भिलेजमा ११ हजार खेलाडी र त्यत्तिकै संख्यामा प्रशिक्षक तथा अफिसियल रहनेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाचले यसै साता ओलम्पिक भिलेज व्यवस्थापनको प्रशंसा गर्दै त्यहाँ रहनेलाई कोरोना संक्रमण हुने सम्भावना ‘शून्य’ रहेको दाबी गरेका थिए ।

आयोजकका अनुसार जुलाई १ देखि शनिबारसम्म टोकियो ओलम्पिक आयोजना क्षेत्रका ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ओलम्पिक भिलेजभित्रका एकजना भेटिएका हुन् । अधिकांश संक्रमित ठेकेदार संस्थाका कर्मचारी, केही खेलसँग सम्बन्धित अधिकारी छन् । सूचीमा एकजना खेलाडी छन् । उनलाई जुलाई १४ मा संक्रमण पुष्टि भएको थियो । त्यसबाहेक तीन पत्रकार पनि संक्रमित छन् । संक्रमित ४५ मध्ये १२ जना जापानबाहिरका हुन् ।

टोकियोभन्दा बाहिर प्रशिक्षण क्याम्पमा रहेका प्रशिक्षक र अफिसियलहरूमा देखिएको संक्रमण भने यो तथ्यांकमा समावेश गरिएको छैन । पत्रकार सम्मेलनमा अधिकारीहरूले शनिबारसम्म ओलम्पिक भिलेजमा प्रवेश गरेका खेलाडीको सूची भने उपलब्ध गराएनन् । जापानमा शनिबारमात्र १ हजार ४ सय १० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २८ दिनमा यो संख्या सबैभन्दा धेरै हो । अघिल्लो साताको शनिबार यो संख्या ९ सय ५० थियो । जापानमा जनवरी २१ मा सबैभन्दा धेरै १ हजार ४ सय ८५ नयाँ संक्रमित भेटिएका थिए ।

प्रकाशित : श्रावण ३, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?