कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ओलम्पिक र नेपालको लक्ष्य

नेपालले अहिले जसरी ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ, त्यसमा कुनै गर्व गर्न लायक उपलब्धि नै छैन । यो त दयामायाले खेल्न दिएजस्तै हो । नेपालजस्तो देशले ओलम्पिकमा लक्ष्य बनाउने भनेको सकेसम्म बढी खेलाडीलाई छनोट प्रक्रियामा पठाउने र हकले प्रतियोगिता खेल्ने अवसर बनाउने हो ।
हिमेश, कुशल तिमल्सिना

काठमाडौँ — टोकियो ओलम्पिकमा भाग लिन नेपाली टिमको दोस्रो समूह शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले त्यहाँ प्रस्तुत गर्ने सुरुआती चुनौती सुटिङ र जुडोमा हुनेछ । पौडी टिम भने यसअघि नै जापान पुगिसकेको छ । सुटिङको महिला १० मिटर एयर राइफल टोकियो ओलम्पिककै स्वर्ण निर्णय हुने पहिलो स्पर्धामा पर्छ । त्यसमै नेपालकी कल्पना परियारले आफ्नो चुनौती पेस गर्नेछिन् ।

ओलम्पिक र नेपालको लक्ष्य

कोरोना भाइरस संक्रमण महामारीका कारण जापानी सरकारले लागू गरेको आचारसंहिताअनुसार आफूले खेलेको केही घण्टामै कल्पना नेपाल फर्किसकेकी हुनेछन् । यहाँ चर्चा गर्न लागेको विषय त्यस कडीकडाउ आचारसंहिताबारे होइन । बरू, हो त ओलम्पिक र नेपालको लक्ष्यबारे ।

नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा सुटिङतर्फ नेपालको प्रदर्शन खासै सम्झनालायक रहेन ।

भलै, कल्पनाको प्रदर्शन व्यक्तिगत रूपमा उच्च रह्यो । त्यो पनि कम्तीमा कांस्य पदकसम्मलाई योग्य रहेन । उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिक पुगेकी हुन् । यस अर्थमा उनी भाग्यमानी रहिन् । ओलम्पिकका सहभागिता कसरी जनाउने हो त ? यसका खास–खास मापदण्ड छन् । यसको जटिल व्याख्या गरेर सबैलाई बुझाउन सकिन्न । नेपालको दृष्टिकोणबाट भन्दा खाली यति बुझौं, केही खेल यस्ता हुन्छन्, जसमा प्रत्येक देशका सहभागिता अनिवार्य हुन्छ ।

यसमा सहभागी हुने खेलाडीको प्रदर्शन कस्तो छ, त्यो अर्को विषय भयो । यसमा पौडी र एथलेटिक्स जस्ता खेल पर्छन् । गौरिका सिंह र एलेक्स शाहले त्यसैअनुसार पौडीमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

एथलेटिक्सकी सरस्वती चौधरी पनि यसै समूहमा पर्छिन् । यसका लागि प्रयोग हुने शब्द हो, युनिभर्सियालिटी प्लेस । सुटिङ र जुडोमा सोनिया भट्टको सहभागिता भने वाइल्ड कार्डमा हो, त्यो भनेको त्यही भाग्यकै कुरा भयो ।

टोकियो ओलम्पिकमा नेपालको सहभागितालाई लिएर पछिल्लो पटक नेपाल ओलम्पिक कमिटीले एउटा भव्य कार्यक्रम आयोजना गर्‍यो । सहभागी हुने २६ सदस्यीय टिमको घोषणा गर्‍यो । नेपाली ओलम्पिक कमिटी यसरी खुलेर अगाडि आएको यो नै पहिलो घटना हो । त्यही कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले हल्का बोलेर खल्लो वातावरण तयार पारे । अझ भनौं, धेरैका लागि यो हाँस्ने बहाना भयो ।

कार्यक्रममा उनलाई बोल्ने अवसर दिइएको थियो । उनले त्यसको नमज्जासँग उपयोग गरे । उनी भनिरहेका थिए, नेपालले अब ओलम्पिकमा स्वर्ण पदकका लागि प्रयास गर्नुपर्छ । उनको तर्क थियो, नेपाली खेलाडी पनि मान्छे नै हुन् अनि विदेशी खेलाडी पनि मान्छे । उनले यसअघि नेपाल ओलम्पिक कमिटीकै आयोजनामा भएको ओलम्पिक डेको मुख्य कार्यक्रममै पनि यस्तै हल्का बोलेका थिए । यसले उनको आफ्नै स्तर घटेको थियो ।

उनको कुरा सुन्दा लाग्छ । यिनलाई खेलकुद के हो र कस्तो हुन्छ, केही पनि थाहा छैन । दुःख के भन्दा उनी नै नेपाली खेलकुदको नेतृत्वकारी तहमा छन् । त्यो पनि योजना बनाउने तहमा । त्यही ओलम्पिक डेको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले दमदार बोले । उनको भनाइ कति धेरै दमदार थियो भने कोही विशेष पदका व्यक्तित्वले नेपाली खेलकुदबारे गहन अध्ययन गरेर बोलेको यसअघि सुनिएकै थिएन ।

उनको भनाइको सार थियो, नेपालले अहिले जसरी ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ, त्यसमा कुनै गर्व गर्न लायक उपलब्धि नै छैन । यो त दयामायाले खेल्न दिए जस्तै हो । ओलम्पिकमा सहभागिताको त्यस्तो होस्, जस्तो कुनै समय संगीना वैद्य र दीपक विष्टको थियो । अझ संगीना र दीपकले ओलम्पिकमा सहभागिता जनाउँदा हो न हो पदक आउँछ भनेर विश्वास गर्ने ठाउँ बनेको थियो । तर त्यस्तो भएन । अब कहिलेसम्म नेपालले दयामायामै ओलम्पिक खेलिरहने त ?

यहाँनिर केही समयअगाडि दक्षिण एसियाली देशका केही देशबीच अनौपचारिक छलफल भएको थियो । त्यसमा एउटा बलियो तर्क अगाडि आएको थियो । त्यो तर्क थियो, नेपालजस्तो देशले ओलम्पिकमा लक्ष्य बनाउने भनेको सकेसम्म बढी खेलाडीलाई छनोट प्रक्रियामा पठाउने र हकले प्रतियोगिता खेल्ने अवसर बनाउने हो । त्यो भनेको संगीना र दीपकले ओलम्पिक खेले जस्तो । हो, ओलम्पिकमा नेपालको लक्ष्य भनेको ठ्याक्कै यही हो, सचिव न्यौपानेले गफ दिएजस्तो होइन ।

त्यसो त नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा सहभागिताका लागि राम्रै तयारी गरेको थियो, ओलम्पिक छात्रवृत्तिको मद्दतमा । तर यसपल्टको सहभागिताले देखाएको छ, यत्तिले पटक्कै नपुग्ने रहेछ । हकले ओलम्पिक खेल्न पाउने अधिकारका लागि छेउछाउ पनि नपुग्ने स्थिति छ । टोकियो ओलम्पिकको समाप्तिमा नेपाल ओलम्पिक कमिटीले मात्र होइन, राष्ट्रिय खेलकुद परिषद्ले पनि नेपालको प्रदर्शनलाई लिएर कठोर विवेचना गर्ला नै ।

यहाँनिर कम्तीमा के भन्न सकिन्छ भने लगभग एक वर्ष र महिना दिनको समाप्तिमा चीनमा एसियाली खेलकुद हुनेछ । त्यसका लागि अहिले नै लक्ष्यसहित कार्यक्रम बनाऔं त । इन्डोनेसियामा भएको पछिल्लो एसियाली खेलकुदमा नेपालको सहभागिता ठूलो संख्यामा त थियो तर अनावश्यक थियो । त्यो भीड थियो, भद्रगोल थियो । कम्तीमा एक वर्षको समयमा खास–खास खेलमा पदक जित्ने लक्ष्यसहित अहिले नै तयारी सुरु गर्न सकिन्छ ।

भर्खरै मात्र दक्षिण एसियाली खेलकुदको अर्को संस्करण पाकिस्तानमा कहिले र कुन स्थानमा हुने लगभग टुंगो लागिसकेको छ । यसलाई ध्यानमा राखेर अहिले नै तयारी सुरु गरौं त । तय छ, नेपालमै भएको यस्ता प्रतियोगितामा जति सजिलै पदक जित्न सकिन्छ, विदेशी भूमिमा यस्तै पदक जित्न उत्तिकै गाह्रो हुन्छ । आखिरमा खेलकुदमा कसरी सफल हुने हो, त्यसबारे कोही कसैसँग ठ्याक्कै उत्तर छैन, खाली यत्ति भन्न सकिन्छ, यसका लागि समयमै दरिलो तयारी गर्नुपर्छ ।

कोटाकै भर कहिलेसम्म ?

सन् १९६४ मा जापानको टोकियोमै आयोजना भएको १८ औं संस्करणबाट नेपालको ग्रीष्मकालीन ओलम्पिक यात्रा सुरु भएको हो । साढे ५ दशकपछि पुनः टोकियोले नै ओलम्पिक आयोजना गर्दा नेपाल भने ठोस उपलब्धि हासिल गर्न संघर्षरत नै छ । सन् १९६८ को मेक्सिको ओलम्पिकबाहेक नेपालले हरेक संस्करणमा सहभागिता जनाएको छ । टोकियोमा जुलाई २३ देखि हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिक नेपालको १४ औं ओलम्पिक सहभागिता हो ।

यति लामो सहभागिता र अवसर पाउँदा नेपालको ओलम्पिक सहभागिता भनेको आयोजक र सम्बन्धित खेल संघको कृपामै निर्भर छ । ओलम्पिक सहभागिताका तीन विकल्प छन् । पहिलो– छनोट प्रतियोगिता पार गरेर, दोस्रो– वाइल्ड कार्ड कोटा, तेस्रो– विश्वव्यापी सहभागिता (युनिभर्सियालिटी कोटा) । अहिलेसम्म ८५ खेलाडीले नेपालबाट ओलम्पिकमा प्रतिनिधित्व गर्दा जम्माजम्मी दुईजनाले मात्रै छनोट प्रतियोगिता पार गरेका छन् ।

सन् २००४ को एथेन्स ओलम्पिक र २००८ को बेइजिङ ओलम्पिकमा नेपालका लागि अन्य संस्करणको तुलनामा गर्विलो रह्यो । दुवै संस्करणमा सहभागी कम्तीमा १ खेलाडी खुला छनोट पार गरेर प्रतियोगितामा पुगेका थिए । तेक्वान्दोकी संगीना वैद्यले एथेन्स र तेक्वान्दोकै दीपक विष्टले बेइजिङ ओलम्पिक खेले । बाँकीमध्ये धेरैजसो विश्वव्यापी सहभागिता र केही वाइल्ड कार्ड कोटाबाट ओलम्पियन बनेका हुन् ।

अहिले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ सदस्यसचिव भएको बेला २०६५ सालमा नेपालले सन् २०२० को टोकियो ओलम्पिकमा पदक जित्ने तयारीको योजनासहित ‘भिजन–२०२०’ नामक महत्त्वाकांक्षी कार्यक्रम घोषणा गरिएको थियो । त्यो योजना कार्यान्वयन भएको भए कोरोनाका कारण एक वर्ष सारिएको यही ओलम्पिकमा नेपाल पदकको दाबेदार हुनुपर्ने थियो । राजनीतिक हस्तक्षेपले गाँजेको नेपाली खेलकुदमा फेरिइरहने नेतृत्वले आफूअनुकूल प्रयोग गर्दै जाँदा दीर्घकालीन योजना र कार्यक्रम थाँती रहे । नेपाल २०२० सम्म पनि वाइल्ड कार्ड र विश्वव्यापी सहभागिताकै कोटामा गर्व गरिरहेको छ । ओलम्पिकलाई विश्वभरबाट अपनत्व दिलाउन विश्वव्यापी कोटाको सुरुआत गरेको हो । यो कोटा पनि सम्बन्धित देशले मागेको स्पर्धामा पाउँदैन । त्यसैले त यसपालि एथलेटिक्सका गोपीचन्द्र पार्कीको त्यो हालत भयो ।

नेपालबाट अहिलेसम्म ४ खेलाडीले एकभन्दा बढीपल्ट ओलम्पिक खेलेका छन् । यो संस्करणमा दोस्रोपल्ट ओलम्पिक खेल्न लागेकी जलपरी गौरिका सिंहलाई समेत जोड्ने हो भने यो संख्या ५ हुन्छ । तीमध्ये एथलेटिक्सका महान वैकुण्ठ मानन्धरले त चारपल्ट ओलम्पिक म्याराथन दौडिए । वैकुण्ठले सन् १९७६ को मोन्ट्रियल, १९८० मस्को, १९८४ लस एन्जल्स र १९८८ सोल ओलम्पिक खेलेका छन् । एथलेटिक्सकै हरि रोकायले सन् १९८८ सोल र १९९२ को बार्सिलोना ओलम्पिक खेलेका छन् । बक्सिङका उमेश मास्केले मस्को र लस एन्जल्स ओलम्पिक खेले भने बक्सिङबाटै स्वर्गीय दलबहादुर रानाले लस एन्जल्स र सोल ओलम्पिक खेले ।

नेपालबाट अहिलेसम्म ८ खेलले मात्र ओलम्पिकमा प्रतिनिधित्व गरेको छ । त्यसमध्ये पहिलो सहभागितादेखि अहिलेसम्म नछुटेको एकमात्र खेल एथलेटिक्स हो । एथलेटिक्समा ३० ओलम्पियन छन् । त्यसबाहेक बक्सिङका १६, पौडीका १२, तेक्वान्दोका ८, भारोत्तोलन र सुटिङका ७–७, जुडोका ४ र आर्चरीका १ खेलाडी ओलम्पियन बनेका छन् ।

सन् १९८८ को सोल ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा समावेश गरिएको तेक्वान्दोबाट नेपालका विधान लामाले कांस्य पदक जितेका थिए । तर यसलाई आधिकारिक पदक तालिकामा समावेश गरिएको छैन । त्यसअघि र पछिका सहभागी नेपाली खेलाडी पदकको नजिकसम्म पुग्न सकेका छैनन् । व्यक्तिगत प्रदर्शन सुधार्नमै केन्द्रित बनेको छ ।

प्रकाशित : श्रावण २, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?