कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलमैदानमा घाँस मौलाउँदै

रुपन्देहीका एकेडमी र खेलमैदान हिलो र झारले कुरुप
सन्जु पौडेल

लुम्बिनी — कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले खेल गविविधि ठप्प भएपछि मैदानमा घाँस भने फस्टाएको छ । वर्षैभरि विभिन्न प्रतियोगिता हुने रूपन्देहीमा अहिले खेल गतिविधि ठप्प छन् । खेलाडीहरू घरभित्र समेटिएका छन् । मैदानमा घाँस मौलाएको छ ।

खेलमैदानमा घाँस मौलाउँदै

खेलकुद हब मानिने जिल्लामा निर्मित संरचनाको लगानी खेर जाने स्थितिमा पुगेको छ । नियमित खेलाडीको अभ्यास र प्रतियोगिता नहुँदा यहाँका एकेडमी र मैदान हिलो र झारका कारण कुरूप बन्दै गएका छन् । यहाँको ठूलो एकेडेमी सेन्टर एन्फा एकेडेमी कोरोना आइसोलेसन सेन्टरमा सञ्चालित छ । बुटवल उपमहानगरपालिकाले गत वर्षजस्तै यसपालि पनि आइसोलेसन सञ्चालन गरेको निर्देशक बुद्धि गुरुङले बताए । ‘अहिले प्रशिक्षार्थी विद्यार्थी घर गएका छन्,’ उनले भने, ‘कोरोनाले सबै कुरा ठप्प भएपछि उनीहरूलाई घर पठाएर सुरक्षित रहन भनेका छौं ।’ एकेडेमीको राष्ट्रिय स्तरको मैदान भने झारमय बनेको उनले बताए । पहिले कोरोना र बन्द, अहिले बर्खेझरी परिरहेकाले अवस्था सामान्य भएपछि मात्र सरसफाइ गरी अभ्यासलाई तयार पार्न सकिने उनले सुनाए ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आफ्नै घरमा चलाईरहेको स्टार क्रिकेट एकेडेमी बन्द स्थितिमा छ । कोरोनाको पहिलो लहर आएदेखि नै बन्द गरिएको एकेडेमी अहिलेसम्म पनि सञ्चालन गर्न नसकेको गौचनले बताए । आवासगृहमा नै विद्यार्थी राखेर क्रिकेट सिकाउने गरेका उनले बन्दाबन्दी भएपछि सिक्न आउने ६० विद्यार्थीलाई बिदा दिएको बताए । त्यत्तिकै राख्दा उनीहरू सबैको भविष्य अन्योलमा पुग्ने उनले बताए । ओमसतिया–२ स्थित एकेडेमीमा गौचनले करोडौं लगानी गरेका छन् । ‘यही अवस्था रहिरहे सञ्चालक मात्र होइन, खेलाडीसमेत विस्थापित हुन्छन्,’ उनले गुनासो पोखे, ‘सरोकारवालाले योजना बनाएर खेलक्षेत्र पनि चलायमान बनाउनुपर्छ ।

अन्तर्राष्ट्रिय खेल चलिरहेको र आगामी प्रतियोगिताका लागि नेपाली खेलाडीलाई समेत तयारी अवस्थामा राख्नुपर्ने भएकाले कोरोनाका कारण ठप्प पार्न नहुने उनको तर्क छ । गौचनका अनुसार विद्यालयमा सहभागी भई एकै ठाउँमा बसेर पढ्दा हुने खतरा मैदानमा हुँदैन । मैदानमा सामाजिक दूरी पनि राख्न मिल्ने भएकाले सबै खेलका सम्बन्धित व्यक्तिले सरकारी पक्षसँग छलफल गरी खेलकुदका हरेक गतिविधि अघि बढाउन लाग्नुपर्छ ।

रूपन्देहीको सैनामैना नगरपालिका–४ लुम्बिनी रोडमा १ करोडभन्दा बढी लगानीमा स्थापना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी अहिले ताला लगाइएको छ । स्थानीय खेलाडी उत्पादन र स्तरवृद्धिका लागि उपत्यकाबाहिर पहिलोपटक बलिङ मेसिन प्रयोग गरी १२ जनाको ७२ लाख रुपैयाँ लगानीमा स्थापित एकेडेमी खुलेदेखि मात्र तीन महिना सञ्चालनमा आएको थियो । ‘गत वर्ष तीन महिना सञ्चालन भएपछि बन्द छ,’ एकेडेमीका अध्यक्ष तिलक केसीले भने, ‘७२ लाखको ब्याज तिर्दा करोड नाघिसकेको लगानी बालुवामा पानीसरह भएको छ ।’ आकर्षक संरचना बनाएर कोर्स डिजाइन गरी व्यवस्थित हिसाबले सञ्चालन गर्दा नगर्दै महामारीले आफूहरूको लगानी चुर्लुम्म पारेको उनको दुखेसो छ ।

गत वर्ष माघदेखि सुरु गरिएको एकेडमी चैतदेखि बन्द भयो । पुनः असोजमा सुरु गरेपछि महामारी भित्रिएको र अहिलेसम्म बन्द रहेको केसीले सुनाए । ४० विद्यार्थी भर्ना भइसेकेको एकेडेमीका लागि प्रशिक्षकको रूपमा वसन्त शाही थिए । बन्द एकेडेमीको रेखदेख खेल चल्दा हुने गरेको भए पनि अहिले पिचबाहेकको मैदानमा घाँस पलाएको उनले बताए । वर्षामासमा पानी पर्ने, हिलो हुने र झार पलाउने भएपछि स्थिति सामान्य बने फेरि सफा गरेर खेल खलाउन सकिने उनको बुझाइ छ । लगानीको दृष्टिकोणले आफूहरूलाई घाटा लागेको सहनुको विकल्प नरहेको भन्दै उनले यति हुँदा पनि खेलाडी उत्पादन गर्ने चाहना पूरा गर्न लागिरहने बताए । तिलोत्तमा नगरपालिका–५ स्थित तिलोत्तमा क्रिकेट एकेडेमीमा पनि कोरोनाको असर उस्तै परेको एकेडेमीका अध्यक्ष दीपक भूर्तेलले बताए । ‘तीन महिना कोरोनाको असर र लगत्तै वर्षा लागेपछि चलाउन सम्भव नै भएन,’ उनले भने, ‘अब असोजसम्म वर्षाका कारण चलाउन सकिँदैन ।’ २० लाख रुपैयाँ लगानी गरी माघ १ देखि सुरु गरिएको एकेडेमीमा बिहान र साँझ गरी दुई प्रशिक्षकले ५० विद्यार्थीलाई सिकाउँदै आएका थिए ।

कोरोनाको लहर भित्रिरहँदा आफूहरूको मिहिनेत र खेलाडी उत्पादन गर्ने आशामा निराशा छाएको एकेडेमीका अध्यक्ष भूर्तेलले बताए । कोरोनाको असर यहाँका मैदान र एकेडेमीमा परिरहेको छ । बीचमा केही महिना सञ्चालन गर्न पाउँदा विभिन्न प्रतियोगिता र प्रशिक्षण कार्यक्रम चलाए पनि पुनः भएको निषेधाज्ञाले खेलका लगानीकर्ता र खेलप्रेमी दुवैलाई निराश तुल्याएको हो । पहिलो लकडाउनअघि बुटवल–११ देवीनगरमा खुलेको बुटवल टेबलटेनिस एकेडेमीका सञ्चालक प्रज्वल श्रेष्ठले १० लाख रुपैयाँ लगानी गरेका थिए । उनले टेबलटेनिसबारे यहाँका बालबालिका र युवा जमातलाई बुझाउने कार्य थाल्दाथाल्दै लकडाउन भइदियो । ‘त्यसपछि बन्द भएको एकेडेमी बीचमा केही महिना चल्दा प्रतियोगिता नै सञ्चालन भयो,’ श्रेष्ठले भने, ‘अहिलेसम्म फेरि बन्द नै छ, अब कहिले खुल्ने र खेलाउने भन्ने थाहा छैन ।’ ९ विद्यार्थी भर्ना गरेर सिकाएका उनले खेलाडी उत्पादनमा संघको चासो कम हुँदा पनि टेबलटेनिसमा विद्यार्थी आउने स्थिति कम रहेको जनाए ।

प्रज्वलले विद्यालय खुलेमा विद्यालयस्तरीय तालिम चलाउन मिल्ने भन्दै प्रतियोगिता र पदकमा सीमित टेबलटेनिस विकासका लागि एकेडेमी खोले पनि महामारीले पारेको नकारात्मक प्रभावले यो खेल झनै ओझेलमा पर्ने स्थिति सिर्जिएको बताए । धेरै एकेडेमी कोरोनासँग जुधिरहेका छन् । सामान्य अवस्थाको पर्खाइमा छन् । लकडाउनपछि सहज भएको अवस्थामा एकेडेमी सुचारु भए पनि निषेधाज्ञाले एकेडेमी फेरि बन्द छन् । नेपालमा क्रिकेट क्रेजले गर्दा एकेडेमी सञ्चालनमा ल्याएको सञ्चालकहरूको तर्क छ । उमेर समूहका खेलाडी उत्पादन गर्ने यस्ता एकेडेमीलाई कोरोनाले थला पारेको छ । ठूलो लगानी गरेर एकेडेमी खोलेका सञ्चालकले कोरोना महामारीबाट असर पुगेको र एकेडेमी नै बन्द गर्नुपर्ने अवस्थामा नेपाल क्रिकेट संघ (क्यान) र सरकारबाट सहयोगको अपेक्षा राखेका छन् ।

जिल्लाकै ठूलो सिद्धार्थ क्रिकेट रंगशालामा समेत कोरोनाको असर परेको छ । उक्त रंगशाला वैशाख १६ यता बन्द रहेकाले जेठ मसान्तसम्म हुने विभिन्न खेल स्थगित भएको रूपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । ‘मैदानभरि मेसिन लगाई घाँस कटान गर्नुपर्छ,’ उनले भने, ‘अहिले पानी परिरहेकाले घाँस धेरै बढेर मैदान नै कुरूप बनेको छ ।’ उनले कोरोनाका कारण खेलाडीको भविष्य र वृत्तिविकासमा असर गर्ने बताए । विभिन्न उमेर समूहमा खेल्न तयार खेलाडीले अर्को वर्ष उमेरकै कारण खेल्न नपाउँदा मनोबल खस्कने र राम्रा खेलाडी ओझेलमा पर्ने सम्भावना रहने उनको तर्क छ ।

प्रकाशित : श्रावण १, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?