बालोन डी’अर अवार्ड : मेसीका प्रतिद्वन्द्वी को त ?

द मार्का

म्याड्रिड — अन्ततः एक अर्को फुटबल सिजन सकिएको छ । कोपा अमेरिका सकियो । युरो पनि सकियो । अब सबैको ध्यान बालोन डी’अरमा जानेछ । विश्व फुटबलका दुई ठूला प्रतियोगितको समाप्तिमा यो प्रतिष्ठित अवार्डका लागि केही प्रत्याशी तयार भएका छन् ।

बालोन डी’अर अवार्ड : मेसीका प्रतिद्वन्द्वी को त ?

यी प्रत्याशीमा सबैभन्दा बलियो को छन् त ? अहिलेसम्म ठ्याक्कै यस्ता ५ खेलाडी छन्, जसलाई यो अवार्ड जित्नसक्ने मान्न सकिन्छ । यसमा सबैभन्दा अगाडि त फेरि एकपल्ट अर्जेन्टिनी लियोनल मेसी नै छन् ।

मेसी अहिले कुनै पनि क्लबसँग अनुबन्धविहीन छन् । कोपा अमेरिका अर्जेन्टिनाले नजित्दो हो त उनी पक्कै बालोन डी’अरका लागि प्रत्याशी हुने थिएनन् । तर उनकै नेतृत्व, अझ उनकै प्रभावशाली प्रदर्शन मदतमा सन् १९९३ यता अर्जेन्टिनाले कुनै ठूलो उपाधि जितेको छ । यसको पक्कै गाढा अर्थ छ । फरक अर्थ के तथ्यमा छ भने यो मेसीले अर्जेन्टिनाका लागि जितेको पहिलो ठूलो प्रतियोगिता हो । अब उनलाई कम्तीमा गुनासो हुनेछैन, आफ्नो देशका लागि केही जितिनँ भनेर । यो अवार्ड मेसीले छपल्ट जितिसकेका छन् ।

बार्सिलोनाका लागि उनले धेरै जिते । बार्सिलोनाले केही नजितेको पछिल्लो सिजनमा पनि मेसीले राम्रो खेलेका छन् । मेसीले यो वर्ष ४७ खेल खेलेका छन् र यसमा ३८ गोल गरेका छन् । त्यतिमात्र होइन, यी खेलमा उनले १४ अवसर गोलका लागि अवसर सिर्जना गरे अनि २६ खेलमा उनी नै उत्कृष्ट खेलाडी चुनिए । बार्सिलोनाबाट उनले कोपा डेल रे पनि जिते । कोपा अमेरिकामा उनी सर्वाधिक गोल गर्ने खेलाडी रहे । उनको प्रदर्शन थियो, ४ गोल र ५ गोलमा सहयोगी भूमिका ।

ठ्याक्कै भन्दा अर्जेन्टिनाले पछिल्लो समय गरेका १२ मध्ये ९ गोलमा उनको सिधा–सिधा सम्बन्ध थियो । उनको बालोन डी’अरका लागि प्रतिस्पर्धा गर्ने इटालीका केही खेलाडीमा जोर्गिन्हो अगाडि छन् । इटालीले युरो जितेको अर्थमा यो स्वाभाविक छ । उत्कृष्ट मिडफिल्डरका रूपमा चर्चामा रहेका जोर्गिन्होले चेल्सीका लागि युरोपेली च्याम्पियन्स लिग जिते । बालोन डी’अर जित्ने खेलाडीको निर्णय अधिकांश समय च्याम्पियन्स लिग र ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भर पर्ने गर्छ । इतिहासले यस्तै भन्छ ।

त्यसैले जोर्गिन्होको उम्मेदवारी दमदार छ । यसपल्टको युरोमा उनका साथी जर्जियो केलिनीको प्रदर्शन पनि प्रशंसायोग्य रह्यो । त्यसैले यी भेट्रान डिफेन्डर पनि अवार्डका लागि प्रत्याशी हुन सक्छन् । इटालीले युरो जित्नु पछाडि ठोस डिफेन्स निर्णायक कारण रह्यो । प्रतियोगिताका क्रममा केलिनीले डिफेन्डर लियोनार्डो बोनुची र गोलरक्षक जियानलुइजी डोनारुमासँग खुबै दरिलो साझेदारी बनाएका थिए । सन् २००६ मो इटालीकै फाबियो कानाभारोले यो अवार्ड जितेयता अन्य कोही डिफेन्डरको भाग्य भने खुलेको छैन ।

इंग्ल्यान्ड युरोको उपविजेता रह्यो । ह्यारी केन यही टिमका कप्तान हुन् । इंग्ल्यान्डले युरो जित्दो हो त उनी मेसीजत्तिकै बलियो दाबेदार हुन्थे । तर टोटेनहमका यी खेलाडीको प्रदर्शन पूरा सिजन आँखा चिम्लिने खाले छैन । फाइनलमा फेरि उनले तिनै केलिनी र बोनुचीले तयार पारेको डिफेन्सको सुरक्षाकवच भने तोड्न सकेनन् । बालोन डी’अरका अर्का एक प्रत्याशी हुनसक्छन्, पोल्यान्डका रोबर्ट लेवान्डोस्की । भलै उनले युरोमा आफ्नो देशका लागि केही गर्न सकेनन् ।

उनका लागि त युरो बिर्सनलायक नै रह्योभन्दा फरक पर्दैन । यही तर्क गर्दा बायर्न म्युनिकका लागि उनको खेल त बिर्सन मिल्दैन । आफ्नो पूरा खेलजीवनमा लेवान्डोस्कीले पोल्यान्डका लागि निर्णायक मोडमा केही गर्न सकेका छैनन्, केही अपवाद छाडेर । तर बार्यनका लागि उनी सधैं उम्दा खेलाडी रहेका छन् । खराब खेलाडी हुँदो हो त उनले पछिल्लो सिजन बायर्नबाट कीर्तिमान ४१ गोल त गर्ने थिएनन् ।

प्रकाशित : असार ३१, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?