‘टिम अफ द टुर्नामेन्ट’मा इटालीका पाँच

एएफपी

नियोन — युरोपियन च्याम्पियन इटालीका पाँच खेलाडीले मंगलबार घोषणा गरिएको यूईएफएको आधिकारिक ‘टिम अफ द टुर्नामेन्ट’ मा स्थान बनाएका छन् ।

‘टिम अफ द टुर्नामेन्ट’मा इटालीका पाँच

आइतबार सम्पन्न युरोपियन च्याम्पियनसिपमा देखाएको प्रदर्शनलाई आधार बनाएर छनोट गरिएको टिममा विश्वका कहलिएका खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की परेका छैनन् ।

अग्रपंक्तिमा इटालीका फेडेरिको किइसा, फाइनलमा पराजित इंग्ल्यान्डका रहिम स्टर्लिङ र बेल्जियमका रोमेलु लुकाकुलाई टोलीमा राखिएको छ । बेल्जियम क्वाटरफाइनलमा इटालीसँग पराजित भएको थियो । इटालीले वेम्बलीमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै दोस्रो पटक युरोपियन च्याम्पियनसिप जितेको थियो ।

पाँच गोल गरेका रोनाल्डोले गोल्डेन बुटको उपाधि जितेका थिए । चेक गणतन्त्रका प्याट्रिक सिकले पनि ५ गोल नै गरेका थिए । यूईएफएका १६ प्रशिक्षकका विज्ञ प्यानल र पूर्वखेलाडीहरूले छनोट गरेको उत्कृष्ट खेलाडी समावेश ‘टिम’ को सूचीमा यी दुवैलाई राखिएको छैन । छनोट प्यानलमा फाबियो कापेलो, रोबी किन, इस्टेबान काम्बियासो, डेविड मोयेजलगायत थिए ।

युरो २०२० मा सर्वाधिक गोल गर्ने ६ खेलाडीबाट ४ खेलमा ४ गोल गरेका लुकाकु मात्र छानिएका छन् । एमबाप्पेले ४ खेलमा कुनै गोल गर्न सकेनन् भने स्विट्जरल्यान्डसँगको अन्तिम १६ को खेलमा उनले पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी गुमाएका थिए । फिफाको वर्तमान विश्व वर्षका खेलाडी लेवान्डोस्कीले तीन खेलमा तीन गोल गरे पनि उनको टोली पोल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले ४ गोल गरेका थिए । उनलाई पनि उत्कृष्ट खेलाडीको सूचीमा राखिएको छैन । इंग्ल्यान्डबाटै स्टर्लिङसहित रक्षकद्वय केयल वाल्कर र ह्यारी मगायरले स्थान पाएका छन् । इटाली टोलीका गोलरक्षक जियनलुइजी डोनारुमा, रक्षकद्वय लियानार्डो बोनुची र लियोनार्डो स्पिनाजोला तथा मिडफिल्डर जोर्गिन्होलाई उत्कृष्ट टिमभित्र समावेश गरिएको छ ।

युरो २०२० को टिम अफ द टुर्नामेन्ट इटालीका जियनलुइजी डोनारुमा (गोलरक्षक), रक्षकमा लियोनार्डो बोनुची, लियोनार्डो स्पिनाजोला, केयल वाल्कर (इंग्ल्यान्ड), ह्यारी मगायर (इंग्ल्यान्ड), मिडफिल्डर पिइरे–इमिल होजबर्ग (डेनमार्क), जोर्गिन्हो (इटाली), पेड्री (स्पेन) तथा फरवार्डमा फेडेरिको किइसा (इटाली), रोमेलु लुकाकु (बेल्जियम) र रहिम स्टर्लिङ (इंग्ल्यान्ड) छन् ।

प्रकाशित : असार ३०, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?