रंगभेदी व्यवहारको सर्वत्र आलोचना- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगभेदी व्यवहारको सर्वत्र आलोचना

बीबीसी

लन्डन — इंग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले युरो २०२० को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि आफ्नो टिमका तीन खेलाडी मार्कस रसफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि लागेको रंगभेदी व्यवहारलाई अक्षम्य अपराधको रूपमा टिप्पणी गरेका छन् ।

इंग्ल्यान्डका मार्कस रसफोर्ड र जाडोन सान्चो । तस्बिर : एपी

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र इंग्लिस फुटबल एसोसिएसनले पनि यो घटनाको घोर निन्दा गरेका छन् । इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित हुँदा उनीहरू गोल गर्न चुकेका थिए । त्यसलगत्तै उनीहरू सामाजिक सञ्जालको निसानामा परेका हुन् । लन्डन प्रहरीले यो दुर्व्यवहारको अनुसन्धान गरिरहेको छ ।

‘जित–हारमात्र हाम्रा लागि सबैथोक होइन,’ प्रशिक्षक साउथगेटले भनेका छन्, ‘राष्ट्रिय टिमले देशलाई एकताको सूत्रमा बाँधेको हुन्छ । हामी सबैले एकअर्काको भावना बुझ्नुपर्छ र एकजुट हुनुपर्छ । हाम्रो देशमा एउटा यस्तो शक्ति छ, जो एकसाथ आएको खण्डमा सकारात्मक ऊर्जा प्रवाह हुनसक्छ भनेर हामीले प्रमाणित गरिसकेका छौं ।’

पेनाल्टीबारे प्रशिक्षक साउथगेटले थपे, ‘पेनाल्टी को खेलाडीले प्रहार गर्छ भन्ने नितान्त मेरो निर्णय थियो । यो खेलाडीको स्वेच्छाले भएको होइन र अधिक अनुभवी खेलाडीहरू पछि हटेका पनि होइनन् ।’ सन् १९६६ को विश्वकप जितेयता इंग्ल्यान्ड पहिलोपल्ट प्रमुख प्रतियोगिताको फाइनलमा पुगेको थियो । खेलको दोस्रो मिनेटमै अग्रता लिनुका बाबजुद अतिरिक्त समयसम्म १–१ को बराबरी खेलेपछि पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो ।

इंग्ल्यान्डको यो टोलीका सदस्यहरू राष्ट्रिय नायकका रूपमा प्रशंसाका पात्र हुन्, रंगभेदी दुर्व्यवहारका लागि होइनन्,’ बेलायती प्रधानमन्त्री जोन्सनले भने, ‘जसले यस्तो निकृष्ट आरोप लगाइरहेका छन् उनीहरू घृणाका पात्र हुन् ।’

रंगभेदी व्यवहारविरुद्धमा ऐक्यवद्धता जनाउँदै इंग्ल्यान्ड टिमले युरोका हरेक खेलअघि घुँडा टेकेर सकारात्मक सन्देश दिँदै आएको छ । जुन ११ मा प्रतियोगिता सुरु हुनुअघिका दुई अभ्यास खेलमा इंग्लिस खेलाडीले घुँडा टेकेकामा समर्थकले मजाक उडाएकोप्रति भने प्रधानमन्त्री केही बोलेका थिएनन् । इंग्लिस एफएले वेम्बलीको हारपछि आफ्ना तीन खेलाडीमाथिको ‘अनलाइन रंगभेद’ बाट स्तब्ध भएको जनाएको छ । एफएले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘रंगभेदजस्तो घृणित व्यवहार कुनै पनि पक्षबाट हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौं । हामी पीडित खेलाडीको सुरक्षाका लागि हरसम्भव प्रयास गर्नेछौं र यस घटनाका जिम्मेवार जो कसैलाई पनि कानुनी दायरामा ल्याउन आग्रह गर्छौं ।’ एफएले अनलाइनबाट हुने रंगभेदी व्यवहारको नियन्त्रणका लागि आवश्यक कानुन तर्जुमा गर्न सरकारसँग माग गर्ने जनाएको छ । ‘खेलका क्रममा हुने भेदभाव नियन्त्रण गर्नका लागि हामीले सुरु गरेका सबै प्रयासलाई निरन्तरता दिइनेछ । तर हामी सरकारसँग उचित कानुन तर्जुमा गर्न अपिल पनि गर्नेछौं ।

यसको दुरुपयोगले वास्तविक जीवनमा ठूलो संकट नल्याओस्,’ वक्तव्यमा थप भनिएको छ, ‘सामाजिक सञ्जालले पनि आफ्नो माध्यममार्फत यस्तो दुर्व्यवहार गर्नेलाई प्रतिबन्ध लगाउने वा अन्य कारबाहीको दायरामा ल्याउने अभियानको नेतृत्व गर्नुपर्छ । यस प्रकारको घृणित कार्यलाई रोक्न सकियोस् ।’ मे महिनामा युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडले पराजय बेहोर्दा पनि रसफोर्डमाथि नस्लीय दुर्व्यवहार भएको थियो ।

प्रकाशित : असार २९, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

स्पेनिस टोली दबाबमा

बीबीसी

लन्डन — स्पेन कुनै समय विश्व फुटबलको प्रमुख शक्ति थियो । तर युरो २०२० मा एक अर्को अपूर्ण प्रदर्शनपछि स्पेनिस टोली समूहको अन्तिम खेलका लागि गम्भीर दबाबमा पर्दा टोलीका पूर्व उपलब्धिहरू फिक्का हुन थालेको छ । 

लुइस इनरिकेको टिम शनिबार राति पोल्यान्डसँग १–१ को बराबरीमा रोकियो । समूह ‘ई’ को पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित खेलेको थियो । यसको अर्थ तीनपल्टको युरोपियन च्याम्पियन स्पेन नकआउट चरणमा पुग्न समूहको अन्तिम खेलमा स्लोभाकियालाई हराउनैपर्ने अवस्थामा पुगेको छ ।

‘हामीलाई भाग्यको थोरै अभाव देखियो । हामीले आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका हौं । हामीले प्रयास गरिरहेका छौं र सफल हुनेछौं,’ स्पेनिस डिफेन्डर जोर्डी अल्बाले भने, ‘हाम्रो प्रयासबारेमा कसैले पनि प्रश्न उठाउने ठाउँ छैन । हाम्रो टिमको सकारात्मक परिणाम चाहनेले प्रदर्शनमा दोष दिनु स्वाभाविक हो ।’

एकातिर स्पेनको प्रदर्शन लड्खडाइरह्यो भने पोल्यान्डका लागि त्यो ठूलो सफलता थियो । सुपरस्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले प्रतियोगितामा पहिलो गोल गरेपछि स्पेनको जित रोकेर अर्को चरणको सम्भावना कायमै राख्न पोल्यान्डले धेरै मिहिनेत गरेको छ ।

सन् २००० को दशक र २०१० को सुरुआततिर स्पेन विश्व फुटबलमा डरलाग्दो शक्तिका रूपमा उदाएको थियो । स्पेनले आफ्नो मौलिक ‘टिकीटाका’ शैलीले विश्वभरका विपक्षीलाई हायलकायल पारेको थियो । त्यसैले त २००८ र २०१२ मा लगातार युरो जित्ने कीर्तिमानसहित २०१० को विश्वकप उपाधिसमेत भित्र्याएको थियो ।

पास र बल पोसेसनमा अहिले पनि उनीहरूको प्रभाव उस्तै छ । स्विडेन र पोल्यान्डविरुद्ध क्रमशः ८५ र ७६ प्रतिशत बल पोसेसनको तथ्यांक आफैमा उत्साहजनक हो । तर, बल पोसेसन नियन्त्रणमा राखेर उपयुक्त समयमा आक्रमण गर्ने खेलाडी पनि चाहिन्छ, जसले मुस्किललाई पार लगाउन सकोस् । उनीहरूले अहिले भोगिरहेको समस्या यही हो ।

‘फुटबल अहिले पनि एक शारीरिक खेल हो,’ जर्मनीका पूर्व प्रशिक्षक योर्गेन क्लिन्सम्यानले स्पेनी फुटबलबारे टिप्पणी गरेका छन्, ‘कार्लोस पुयोल, सर्जियो रामोस, सर्जियो बुस्केटहरूले विपक्षीलाई एउटा डर देखाउँथे । त्यो युद्धमैदान जस्तै हुन्थ्यो । अहिलेको स्पेनिस टोली प्राविधिक रूपमा सशक्त छ, उनीहरूलाई मैदानमा कसरी उपयुक्त क्षेत्र निर्माण गर्ने भन्ने थाहा छ । तर, उनीहरूप्रतिको डर बाँकी रहेन ।’

‘जब विपक्षी मैदानमा आउँछन् । त्यहाँ उनीहरूले वार्मअपमा रहेको स्पेनी टिममा पुयोल र रामोस देख्दैनन् भने मनमनै खुसी व्यक्त गर्छन्, हामीलाई अब अवसर भन्ने हुन्छ,’ क्लिन्सम्यानले थपे । स्पेनले २ खेलमा २९ पल्ट पोस्ट आक्रमण गरेको छ तर एक गोलमात्र गरेको छ । पोल्यान्डविरुद्ध अल्भारो मोराटाको क्लोज रेन्ज गोल सुरुमा अफसाइड भएको भन्दै खारेज गरिए पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले मान्यता दिएको थियो ।

पहिलो खेलमा स्विडेनविरुद्ध दुई सानदार अवसर खेर फालेपछि मोराटाले आलोचना खेप्नुपरेको थियो । तर कमजोर आक्रमणका लागि स्पेनको अग्रपंक्तिमा उनीमात्र एक्ला खेलाडी होइनन् । पोल्यान्डसँग जेरार्ड मोरेनोले पेनाल्टी प्रहार पोस्टमा लागेर गोल हुन सकेन । ड्यानी ओल्मोले परिवर्तित हुनुअघि एकमात्र पोस्ट आक्रमण गर्न सके ।

‘स्पेनिस टिममा अहिले धेरै राम्रा खेलाडीको उपस्थिति छ,’ इंग्ल्यान्डका पूर्व डिफेन्डर मिका रिचर्डसले भने, ‘मानिसहरूले हल्ला गरेजस्तो स्पेनमा नाम चलेका सुपर स्टारको कमी भएजस्तो मलाई लाग्दैन । उनीहरूले मात्र एकजना स्ट्राइकरको अभाव महसुस गरिरहेका छन्, जसले अवसरलाई गोलमा परिणत गर्न सकोस् ।’ स्पेनिस फुटबल लेखक गुइलेम बालाग भने स्ट्राइकरको अभावमात्र स्पेनको कमजोरी भएको स्विकार्न तयार छैनन् । ‘योभन्दा खराब मिडफिल्ड स्पेनिस टोलीमा मैले अहिलेसम्म देखेको छैन,’ उनको विश्लेषण छ ।

स्पेनसँग परिस्थिति परिवर्तन गर्ने अझै समय छ । समूह ‘ई’ मा सबै टोलीको सम्भावना खुला छ । स्पेनसँग पहिलो हाफमा पोल्यान्डको अवस्था निरीह देखिएको थियो । तर लेवान्डोस्कीले गोलको खाता खोल्दा आशा जीवित भएको छ । बायर्न म्युनिकका यी सुपरस्टार पछिल्ला वर्षहरूमा क्लब र अन्तर्राष्ट्रिय फुटबलमा उच्च लयमा छन् । सन् २०१९/२० को सिजन ४७ खेलमा ५५ गोल गरेपछि उनी फिफा अवार्डबाट सम्मानित भएका थिए । तर उनी आफ्नो देशका लागि प्रमुख प्रतियोगितामा संघर्षरत छन् । युरोका १३ खेलमा उनको यो तेस्रो गोल हो ।

प्रकाशित : असार ७, २०७८ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×