कहाँ जितिन्छ, कहाँ हारिन्छ ?

एपी

लन्डन — वेम्बलीमा हुने फाइनलमा इंग्ल्यान्डको कुन पक्ष बलियो रहने छ त ? अनि इटालीको प्रशंसा गर्नुपर्ने पक्ष के हो त ? दुवै टिम केही पक्षमा अगाडि छ भने केही पक्षमा पछाडि छ ।

कहाँ जितिन्छ, कहाँ हारिन्छ ?

फाइनलमा कडा प्रतिस्पर्धा हुने तय छ । तर भन्न सक्छौं, खेलमा जित र हारको निर्णय यिनै तथ्यले गर्नेछन् ।

मध्यपंक्तिमा असमानता

टिमको मध्यपंक्तिबारे कुरा गर्ने हो भने इटाली पक्कै पनि अगाडि छ । इटालीको मध्यपंक्ति स्तरीयमात्र छैन, अनुभवी छ । मार्को भेराट्टी प्रतियोगिताकै विश्वस्तरीय मध्यपंक्तिका खेलाडी हुन् । जोर्गिन्हो त भर्खरको युरोपेली च्याम्पियन्स लिग विजेता टिमका सदस्य हुन् । उनी टिमको रक्षापंक्तिको ठीकअगाडि रहेर खेल्छन् । अब रह्यो, निकोलो बरेला । उनी भर्खर २४ वर्षका भए । उनी इटालीको लिग विजेता इन्टर मिलानका सदस्य हुन् । यिनै तीन खेलाडीमा इटालीको मध्यपंक्ति टिकेको छ ।

इंग्ल्यान्डको मध्यपंक्ति भने कडा मिहिनेती छ । यो पूर्णतः डेक्लन राइस र केल्भिन फिलिप्सको जोडीमा टिकेको छ । भेराट्टी भन्छन्, ‘स्पेनविरुद्ध सेमिफाइनल खेल्नु र इंग्ल्यान्डको सामना गर्नुमा फरक छ । इंग्ल्यान्ड निकै फरक टिम हो । त्यसैले फाइनलमा मध्यपंक्तिको खेल नै निर्णायक साबित हुनसक्छ । सायद हामी यो क्षेत्रमा केही अगाडि छौं र खेलमा फरक पार्न सक्छौं । हामीले खेललाई गति दिन सक्नुपर्छ ।’

बेन्चको बलियो पक्ष

बेन्चमा रहने खेलाडीमा इंग्ल्यान्ड धनी छ, इटालीको तुलनामा । च्याम्पियन्स लिग जितेका चेल्सीका दुई खेलाडी रिस जेम्स र बेन चिलवेल दुवैले समेत खासै खेल्न पाएका छैनन् । प्रशिक्षक गारेथ साउथगेटका लागि त्यस्ता दुई खेलाडी खेलको अन्त्यतिर उतार्ने विकल्प छ, जसले खेलमा निर्णायक फरक ल्याउन सक्छ । ती हुन्, लिभरपुलका कप्तान जोर्डन हेन्डरसन र फिल फोडेन । उनीहरूलाई इंग्लिस फुटबलमा भविष्यको सबैभन्दा ठूला स्टार मानिएको छ ।

त्यतिमात्र होइन, इंग्ल्यान्ड टिममा मार्कस रसफोर्ड र जाडोन सान्चो जस्ता खेलाडी पनि छन्, जसको उपयोगिता खेलको अन्त्यतिर हुनसक्छ । रसफोर्ड त म्यानचेस्टर युनाइटेडका खेलाडी भए नै, सान्चोलाई पनि भर्खर यही क्लबले बोरुसिया डर्टमन्डबाट किनेको छ, त्यो पनि १० करोड डलरमा । प्रतियोगितामा फ्रान्सपछि इंग्ल्यान्ड नै त्यस्तो टिम हो, जोसँग खेलाडीको पर्याप्त विकल्प छ । इटालीको टिममा भने यो सुविधा पक्कै छैन, बेन्चमा उसका लागि कहलिएका खेलाडी नै छैनन्भन्दा हुन्छ ।

प्रशिक्षकमा भिन्नता

रोबर्टो मान्चिनीसँग इंग्लिस प्रिमियर लिग उपाधि जितेको अनुभवमात्र छैन । उनले त युरोपका ठूला केही क्लब सम्हालेको इतिहास पनि छ । उनी खेलाडी छँदामात्र राम्रा थिएनन्, प्रशिक्षकमा पनि उत्तिकै उम्दा छन् । सायद प्रशिक्षणमा उनी अझ एक हात अगाडि छन् । गारेथ साउथगेट यो पक्षमा पछाडि नै छन्भन्दा हुनछ । उनले तीन वर्षमात्र क्लब सम्हाल्न पाएनन् । त्यसको पनि अन्त्य रेलिगेसनमा भएको थियो । खासै केही उल्लेखनीय पक्ष छैन, साउथगेटलाई लिएर यस पक्षमा भन्ने ।

अन्तर्राष्ट्रिय फुटबलको कुरा गर्ने हो भने साउथगेटलाई मान्चिनीको बराबर मान्न सकिन्छ कि ? उनले यसपल्टको युरो २०२० मा त्यही रणनीति अपनाएका छन्, जुन २०१८ को विश्वकपमा फ्रान्सले अपनाएको थियो । त्यो भनेको पूर्णतः व्यक्तिगत, ठूला र प्रतिशाली खेलाडीमा भर पर्ने । उनले अहिलेसम्म जति जोखिम उठाएका छन्, त्यसले प्रतिफल नै दिएको छ । मान्चिनीलाई लिएर यही तथ्यमा केही प्रश्न गर्न सकिन्छ । भलै, उनी साह्रै भलाद्मी देखिन्छन् ।

बलियो रक्षापंक्ति

युरो २०२० मा कुनै दुई टिमको रक्षापंक्ति बलियो छ भने त्यसका जवाफ हुनेछ, इंग्ल्यान्ड र इटाली दुवैको । इंग्ल्यान्डले अहिलेसम्म एकै गोलमात्र खाएको छ, त्यो पनि फ्रिकिकमा । प्रशिक्षक गारेथ साउथगेटले त्यसमाथि मिडफिल्डमा त्यस्ता दुई खेलाडी उतार्ने गरेका छन्, जसको सोच आक्रमणभन्दा आक्रमण रोक्नुमा छ । इटालीको रक्षापंक्ति भने पुरानो छ भन्दा हुन्छ । जतिबेलादेखि रोबर्टो मान्चिनीले टिम सम्हालेका छन्, उनले आफ्नो रक्षापंक्तिमा उत्तिकै जोड दिएका छन् ।

सन् २०१८ मा उनले पहिलोपल्ट टिम सम्हालेका थिए । त्यतिबेलादेखि टिमले कि त कुनै गोल खाएको छैन, होइन भने एकै गोल मात्र खाएको छ । दुई बुढा शेर लियोनार्डो बोनुची र जर्जियो चिलिनीले अहिलेसम्म २३ खेलमा क्लिन सिट राखिसकेका छन् । खुबै मिलेको जोडी भएको छ उनीहरूको । सायद रक्षापंक्तिमा दुवै बराबरकै छन् । इटाली राम्रो कि इंग्ल्यान्ड राम्रो ? भन्न गाह्रो छ । डर छ, कतै खेल गोलरहित बराबरीमा रहने छैन, ९० वा १ सय २० मिनेटमा पनि ?

प्रकाशित : असार २७, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?