बार्टीले जितिन् विम्बल्डन- खेलकुद - कान्तिपुर समाचार

बार्टीले जितिन् विम्बल्डन

एजेन्सी

लन्डन — विश्व नम्बर १ अस्ट्रेलियाली खेलाडी एस्ली बार्टीले शनिबार विम्बल्डनको महिला एकलको उपाधि जितेकी छन् । यसका लागि उनले चेक गणतन्त्रकी क्यारोलिन प्लिस्कोभालाई ६–३, ६–७ (४/७) र ६–३ ले पराजित गरिन् ।

अल इंग्ल्यान्ड क्लबमा भएको उपाधि भिडन्तमा २५ वर्षीया बार्टीले पहिलो सेट सजिलै जितेकी थिइन् । तर दोस्रो सेटमा भने कडा प्रतिस्पर्धा भएको थियो र त्यसमा २९ वर्षीया प्लिस्कोभाले कडा चुनौती पेस गरिन् । यस्तोमा सेट टाइब्रेकरमा गएको थियो ।

तेस्रो सेटमा बार्टी फेरि लयमा फर्किन र यसलाई आफ्नो पक्षमा पारिन् । बार्टीले जितेको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो । यसअघि उनले सन् २०१९ मा फ्रेन्च ओपन जितेकी थिइन् ।

प्लिसकोभा भने कुनै पनि ग्रान्ड स्लामको फाइनल पुगेको यो दोस्रो पल्ट हो । यसअघि उनी सन् २०१६ को यूएस ओपन फाइनलमा पनि पराजित भएकी थिइन् ।

प्रकाशित : असार २६, २०७८ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्

सिटिजन्समा सिर्जना गाभिएपछिको एकीकृत कारोबार सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स गाभिएपछिको एकीकृत कारोबार सुरु भएको छ ।


बैंक र फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको स्वीकृतिपछि शनिबारदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक समारोहबीच बैंकका सञ्चालक समिति अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको सुरुवात गरे ।

बैंकका अनुसार २०७८ असार २५ सम्मको तथ्यांकका आधारमा बैंकले फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ ।

त्यस्तै सोही अवधिमा सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ ।

प्रकाशित : असार २६, २०७८ २१:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×