विश्वकपको असफलता बिर्साउने जित

रोयटर्स

लन्डन — सन् २०१८ को विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलमा जुन प्रकारको हार बेहोरेको थियो । त्यसले दिएको पीडा अब बिर्सने समय आएको दाबी प्रशिक्षक गारेथ साउथगेटको छ ।

विश्वकपको असफलता बिर्साउने जित

तीन वर्षअगाडि इंग्ल्यान्ड विश्वकपमा क्रोएसियाको हातबाट अतिरिक्त समयमा हारेको थियो । अहिले भने इंग्ल्यान्डले डेनमार्कलाई एक गोलले पछाडि रहेको स्थितिमा जित निकालेर युरो २०२० को फाइनल यात्रा तय गरेको छ ।

प्रशिक्षक साउथगेटले भने, ‘अब पुराना दिन बिर्सने अवसर आएको छ ।’ उनले थपे, ‘आफ्ना खेलाडीको प्रदर्शनलाई लिएर मैले गर्व महसुस गरिहेको छु । यस इंग्लिस टिममा आबद्ध हुन पाउनु पनि ठूलो हो । हामीले जुन टिमको मदतमा फाइनल यात्रा तय गरेका छौं, यसलाई प्रभावशाली र सुदृढ दुवै मान्नुपर्छ ।’

इंग्ल्यान्डले अब आइतबार फाइनलमा इटालीको सामना गर्नेछ र वेम्बलीमा ६० हजार दर्शकअगाडि खेल्नेछ । साउथगेटले थपे, ‘टिमले तय गरेको यात्राले पूरा देश र यसका समर्थकमा खुसी छाएको छ । यो पनि उत्तिकै ठूलो उपलब्धि हो, यसले हामीलाई असीमित खुसी दिन्छ ।’

डेनमार्कका प्रशिक्षक कास्पर हिजुलमन्ड भने हारमा स्तब्ध देखिए । उनले भने, ‘हामी निकै निराश छौं । मलाई अहिले कुरा गर्न गाह्रो भइरहेको छ । सायद केही दिनपछि मात्र राम्रोसँग बोल्नसक्ने हुनेछु । हामी फाइनलको निकै नजिक त पुग्यौं, तर अतिरिक्त समयमा हामीलाई भाग्यले साथ दिएन । हाम्रोविरुद्ध जुन पेनाल्टी दिइएको थियो, त्यो पेनाल्टी दिनुपर्ने निर्णय नै थिएन । हामीलाई यसमै सबैभन्दा बढी गुनासो रहनेछ ।’

उनले थपे, ‘खेलेपछि हार हुन्छ नै । यो सबैलाई थाहा छ, तर जसरी हामी पराजित रह्यौं, दुःख त्यसमै हो । नत्र खेल निकै प्रतिस्पर्धात्मक थियो । हामी जुन प्रकारले प्रतियोतिगाबाट बाहिरिएका छौं, त्यसले हामीलाई दुःख नै दिएको छ । हामीले प्रतियोगितामा अविस्मरणीय यात्रा तय गरेका छौं, तर पीडासँगै भन्नुपर्छ, यो टुंगिएको छ ।’

उनले आफ्ना समर्थकलाई धन्यवाद दिन भुलेनन् । उनी मान्छन्, क्रिस्टियन एरिक्सनको घटनापछि डेनमार्क टिमलाई आफ्नो देशको समर्थन आवश्यक थियो । डेनमार्कले समूहका सुरुआती दुवै खेल गुमाएर पनि नकआउट चरणमा प्रवेश गरेको थियो । फिनल्यान्डविरुद्धको पहिलो खेलको पहिलो हाफमै एरिक्सन हृदयघात भएर मैदानमै ढलेका थिए ।

प्रकाशित : असार २५, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?