इंग्ल्यान्डको जितका तीन आयाम

काठमाडौँ — इंग्ल्यान्ड ५५ वर्षको लामो प्रतीक्षापछि पहिलोपल्ट कुनै ठूलो फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । इंग्ल्यान्डले बुधबार युरो २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयको खेलपछि २–१ ले पराजित गर्‍यो । उपाधि भिडन्तमा इंग्ल्यान्डले अब इटालीको सामना गर्नेछ ।

इंग्ल्यान्डको जितका तीन आयाम

सन् १९६६ मा इंग्ल्यान्ड अन्तिम पटक विश्वकपको फाइनल पुगेको थियो र उपाधि जित्न सफल भएको थियो । यसपल्ट फाइनल पुग्न एक गोलले पछाडि रहेको स्थिति उल्टाउनुपरेको थियो ।

वेम्बलीमा भएको खेलमा मिकेल डाम्सगार्डको गोलमा डेनमार्कले ३० औं मिनेटमा अग्रता लिएको हो । यो इंग्ल्यान्डले जारी प्रतियोगितामा खाएको पहिलो गोल थियो । यसअघिका ५ खेलमा टोलीले कुनै गोल खाएको थिएन । पहिलो हाफ सकिन ६ मिनेटअगाडि डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरे । उनले बुकायो साकाको क्रसलाई आफ्नै पोस्टको दिशा दिए । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको थियो ।

त्यसको १ सय ४ औं मिनेटमा कप्तान ह्यारी केनले निर्णायक गोल गरे । रहिम स्टर्लिङलाई जोकिम मेहेलले लडाएपछि प्राप्त पेनाल्टीमा केनको सुरुआती प्रहार डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले बचाएका थिए । तर त्यसमै फर्केको बलमा केनले गोल गरेका हुन् । इंग्ल्यान्डले भारको निर्णयबाट पेनाल्टी प्रहारको अवसर पाएको थियो । डेनमार्कमाथि प्राप्त यस जितको तीन आयामबारे फ्रान्सेली समाचार संस्था एएफपीले तयार पारेको सामग्री :

लयमा स्टर्लिङ

सन् २०१६ को युरोमै इंग्ल्यान्ड आइसल्यान्डसँग पछारिँदा समर्थकले रहिम स्टर्लिङको अपमान गर्नेसम्म काम गरे । उनको प्रदर्शन उस्तै थियो । त्यसको ५ वर्षपछि तिनै समर्थकले उनको नाम लिएर जयजयकार गर्न थालेका छन् । डेनमार्कविरुद्धको खेलमा उनले विपक्षी टिमको डिफेन्स तोड्न प्रभावशाली प्रदर्शन गरे ।

जतिबेला खेल टाइब्रेकरमा जाने छाँट देखिएको थियो, स्टर्लिङले डेनमार्कलाई लगातार दबाबमा राख्ने प्रयास गरे । यसकै कारण त हो, इंग्ल्यान्डले पेनाल्टी प्रहारको अवसर पाएको । साकाको गोलमा पनि उनको भूमिका थियो । पछिल्लो सिजन म्यानचेस्टर सिटीका लागि खासै राम्रो गर्न नसकेका उनले युरो २०२० मा भने दमदार प्रदर्शन गरेका छन् ।

स्माइकलले तेर्स्याएका चुनौती

इंग्ल्यान्ड समर्थकले लगाएको एउटा नारा थियो, फुटबल फेरि आफ्नै घरमा फर्केको छ । त्यसको सिधा–सिधा अर्थ हो, फुटबल वेम्बलीमा फर्केको छ, त्यो पनि ठूलो अवसरका रूपमा । यही नारालाई डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले भने फरक तरिकाले व्याख्या गरे । उल्टै प्रश्न गरे, वेम्बलीमा इंग्ल्यान्डले ढंगसँग जितेको पो कहिले छ र ?

इंग्ल्यान्डविरुद्ध उनको प्रदर्शन पनि यस्तै रह्यो । उनले लगातार बलियो गोलरक्षणको मदतमा इंग्ल्यान्डसामु चुनौती तेर्स्याइरहे । स्टर्लिङका केही प्रहारमा उनले प्रभावशाली बचाउ गरे । कप्तान ह्यारी केनको पेनाल्टी पनि उनले बचाएका थिए, तर त्यसमै फर्केको बललाई भने गोल हुनबाट उनले रोक्न सकेनन् । यद्यपि यी खेलाडीको प्रदर्शन उच्च रह्यो ।

साकाले तिरे गुन

डेनमार्कले लिएको अप्रत्याशित अग्रतापछि एक प्रकारले इंग्ल्यान्ड तर्सिएको थियो । अझ भनौं, भयभित नै भयो । यसको एकमात्र उत्तर भनेको फेरि डेनमार्कविरुद्ध उस्तै आक्रमण बुन्नु त हो । इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले सुरुदेखि नै आफ्ना किशोर खेलाडी बुकायो साकामाथि विश्वास गरेका थिए । आखिरमा उनले त्यसको गुन तिरे ।

जर्मनीविरुद्धको अन्तिम १६ को खेलमा पनि राम्रा गरेका आर्सनल फरवार्डले डेनमार्कविरुद्ध जाडोन सान्चोभन्दा पहिले खेल्न अवसर पाए । एक गोलले पछाडि रहेको स्थितिमा उनकै क्रस त हो, आत्मघाती गोलमा परिणत भएको । यो क्रस आफैमा सटिक थियो, त्यसैले यसमा गोल नै लेखिएको थियो ।

तस्बिरहरू : एपी

प्रकाशित : असार २५, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?