१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आलोचकलाई इटालीको जवाफ

रोयटर्स

लन्डन — इटालीका प्रशिक्षक रोबर्टो मान्चिनी मान्छन्, आफ्नो टिमले आलोचकलाई गलत साबित गरिदिएको छ । यसैक्रममा युरो २०२० को फाइनल यात्रा तय गरेको छ । उनले भनेका छन्, ‘लगभग कसैले पनि इटालीमाथि विश्वास गरेको थिएन ।

आलोचकलाई इटालीको जवाफ

तर हामी सेमिफाइनल त पुग्यौं ।’ इटालीले सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पराजित गरेको हो । उनी के मान्छन् भने स्पेनविरुद्धको खेल सजिलो थिएन । यो त्यस्तो खेल हो, जसमा दुवै टिमलाई खाली गाह्रोमात्र हुन्छ ।

उनी थप्छन्, ‘केही यस्ता खेल हुन्छन्, जुन गाह्रो साह्रो हुन्छ । आफूले भने जस्तो गरेर खेल र खेलाउन सकिन्न । सेमिफाइनलमा स्पेनको सामना गर्नुपर्छ भन्दा नै थाहा भइसकेको थियो, यो खेल सजिलो हुने छैन । यसैले सबै खेलाडीले यो खेलका लागि भने कडा मिहिनेत गरेका थिए । अन्त्यमा पछिल्लो तीन वर्ष जो जसले इटाली टिमका लागि मिहिनेत गरेका छन्, ती सबैलाई यो सफलताको श्रेय जानुपर्छ । पछिल्लो तीन वर्षको बाटो सजिलो थिएन ।’

सन् २०१२ यता पहिलोपल्ट युरो फाइनल प्रवेश गर्दा इटाली वेम्बलीमा टाइब्रेकरमा विजयी रहेको हो । सन् २०१२ मा इटाली स्पेनको हातबाट पराजित भएको थियो । सन् २००० मा भने फ्रान्सविरुद्धको खेल गुमाएको थियो इटालीले । अहिलेसम्म इटालीले युरो जितेको भनेको सन् १९६८ मा एकपल्ट मात्र हो । त्यसैले मान्चिनी थप्छन्, ‘इटालीका फुटबलप्रेमीलाई खुसी दिन सकेकामा हामी अझ धेरै खुसी छौं । तर हामीलाई अझै एक खेल खेल्नु छ ।’

इटालीका ५६ वर्षीय प्रशिक्षक मान्छन्, ‘बलमाथि नियन्त्रण लिने पक्षमा स्पेनको छेउछाउ कोही पुग्न सक्दैन । हामीविरुद्ध पनि स्पेनले त्यसरी नै खेलेको थियो, त्यसैले हामी समस्यामा रह्यौं । हामीलाई आफ्नो काम गर्न कठिनाइ भएको थियो र यसका लागि कडा मिहिनेत गर्नुपरेको थियो । हामीलाई फाइनल पुग्नु थियो, त्यसैले अन्त्यसम्म पनि आस छाडेनौं । हामीले ठीक यहीं स्पेनको उच्च प्रदर्शनको प्रशंसा गर्नुपर्छ, म स्पेनको प्रदर्शनबाट कायल भएँ ।’

स्पेनी प्रशिक्षक लुइस एनरिकेलाई यो हारमा धेरै ठूलो गुनासो छैन । उनी भन्छन्, ‘म यो हारको रात पीडादायी थियो पटक्कै भन्दिनँ । खाली हामी निरास भने छौं । प्रत्येक हार र जितले केही न केही शिक्षा दिन्छ । हाम्रो काम त्यसमै सिक्ने हो । स्पेनी खेलाडीलाई मेरो बधाई छ, मलाई कुनै गुनासो छैन । हामीले एउटा टिमका रूपमा खेल्यौं । अबको काम भनेको यो हारबाट मुक्त भएर अगाडिको बाटो हेर्ने हो । हामी फेरि विश्वकप छनोटमा खेल्नेछौं ।’

बार्सिलोनाका पूर्वप्रशिक्षक एनरिकेले त्यही क्लबका मध्यपंक्तिका खेलाडी पेड्रोको विशेष प्रशंसा गरे । उनले भने, ‘कोही पनि १८ वर्षका खेलाडीले पनि यत्तिको खेल प्रदर्शन गर्न सक्दैन । उनको प्रदर्शन वास्तवमै प्रशंसा योग्य छ । उनी कति राम्रो खेलाडी हुन् भने यसपछाडिको कारण खोज्दा केही पनि तर्क ठीक देखिन्न । उनी फुटबललाई निकै बुझ्ने खालका छन् र यसै अनुसार टिमका लागि लगातार अवसर सिर्जना गरिरहेका हुन्छन् ।’

इटालीका सेन्टर ब्याक लियोनार्डो बोनुची स्पेनविरुद्धको सेमिफाइनललाई आफूले खेलेको अहिलेसम्मकै सबैभन्दा कडा प्रतिस्पर्धा मान्छन् । उनी के मान्छन् भने टिमको जिम्मेवारी सकिएको छैन, अब सबैको उद्देश्य हुनुपर्छ, सन् १९६८ यता पहिलोपल्ट युरोपेली उपाधि जित्ने । उनले भनेका छन्, ‘म स्पेनलाई बधाई दिन चाहन्छु । तर इटालीको प्रदर्शन पनि कम्तीको रहेन । गाह्रो परिस्थितिमा खेलेर जित्नु नै सबैभन्दा महत्त्वपूर्ण हुने गर्छ ।’

प्रकाशित : असार २४, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?