‘ऋणमा ओलम्पिक तयारी गर्दै थिएँ’- खेलकुद - कान्तिपुर समाचार

‘ऋणमा ओलम्पिक तयारी गर्दै थिएँ’

धावक गोपीचन्द्र पार्की भन्छन्– ‘ओलम्पिक भन्ने खेलाडीलाई बिदा मनाउन पठाउने ठाउँ हो ? कति वर्षको त्याग, तपस्या र मिहिनेतपछि त्यहाँ पुग्न सकिन्छ भन्ने हाम्रो देशका खेल पदाधिकारीले बुझ्नुभएकै होला ।’
कुशल तिमल्सिना

काठमाडौँ — ‘म छनोट प्रतियोगिता खेलेर टोकियो ओलम्पिकमा छनोट भएको हो । त्यसयता ५ लाख रुपैयाँ ऋण गरेर तयारी गरेको थिएँ । मैले ओलम्पिक छात्रवृत्ति पनि पाइनँ । आफूहरूले कहाँ–कहाँ, के–के गल्ती गरे अहिले सबै दोष मलाई दिन लागेका छन् ।’

आसन्न टोकियो ओलम्पिक खेल्नबाट वञ्चित गराइएका म्याराथन धावक गोपीचन्द्र पार्कीले शनिबार भने, ‘तीन पक्ष मिलेर वक्तव्य जारी गरे । त्यहाँ मेरो क्वालिफिकेसन टाइमिङ नपुगेको भनेर ओलम्पिक खेल्न नपाउनुको कारण मलाई नै बनाइएको छ ।’

नेपाल एथलेटिक्स संघ, नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहीबार संयुक्त वक्तव्यमार्फत आसन्न टोकियो ओलम्पिकका लागि छनोट गरिएका गोपीचन्द्र प्राविधिक छनोटका कारण खेल्न नपाउने र उनको स्थानमा अर्का खेलाडी लाई ओलम्पिकमा पठाइने जनाएका थिए । महत्त्वपूर्ण घटनाक्रममा फरक कित्तामा उभिने यी संस्थाका नेतृत्व एक खेलाडीलाई ओलम्पिकको सपना देखाएर पूरा नगरी फिर्ता ल्याउन एकबद्ध थिए । उनको ठाउँमा छोटो दुरीकी धाविका सरस्वती चौधरीलाई पठाइने भएको छ ।

ओलम्पिकजस्तो खेलमेलाका लागि देशबाट छनोटमा परेर झन्डै एक वर्षदेखि प्रतियोगितालक्षित तयारी गरेका खेलाडीका लागि यो ठूलो बज्रपात थियो । त्यसमा छनोट समय (क्वालिफिकेसन टाइमिङ) नपुगेका कारण प्रतियोगिता खेल्न नपाएको भनेर वक्तव्य सार्वजनिक गरेकामा गोपीचन्द्रले आफ्नो बेइज्जत महसुस गरेका छन् ।

एपीएफका ३० वर्षे गोपीचन्द्रको हकमा एनओसी र एथलेटिक्स संघले नयाँ पाठसहितको दुर्घटना बेहोरे । सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेका नेपाली खेलाडीलाई अहिलेसम्म यस्तो समस्या आइलागेको थिएन । गोपीलाई अहिले एउटैमात्र गुनासो के छ भने आफूले खेल्न नपाएको किन हो ? यसबारे जनमानस्लाई प्रस्ट पार्नुपर्ने उनको जिकिर छ । ‘मलाई केही समय अघिदेखि नै तिमीले ओलम्पिक खेल्न नपाउने सम्भावना छ है भनेर सुनाएका थिए । बल्ल थाहा भयो सबैतिर सेटिङ रहेछ । ओलम्पिक भन्ने कुरा खेलाडीलाई बिदा मनाउन पठाउने ठाउँ हो ? कति वर्षको त्याग, तपस्या र मिहिनेतपछि त्यहाँ पुग्न सकिन्छ भन्ने कुरा हाम्रो देशका खेलपदाधिकारीले बुझ्नुभएकै होला,’ गोपीको प्रश्न थियो ।

कोरोना भाइरस महामारीसँगैको देशव्यापी लकडाउनबाट चलायमान हुन लागेको समयमा गत वर्ष मंसिर ५ मा नेपालगन्ज म्याराथन जितेर गोपी टोकियो ओलम्पिकलाई छनोट भएका थिए । १३ औं दक्षिण एसियाली खेलकुदमा ५ किलोमिटरतर्फ स्वर्ण विजेता उनले कान्तिपुरसँग भने, ‘यति लामो तयारी र खुसी मेरा लागि क्षणभरमै धुमिल भयो । मरेतुल्य भएँ । आफू उभिएको जमिन नै भासिएजस्तो लाग्यो । अहिले ट्रेनिङ पनि राम्रोसँग गर्न सक्दिनँ । मेरो यो मानसिक र शारीरिक क्षति कस्ले पूर्ति गर्न सक्छ ?’

उनलाई आफू राजनीतिको सिकार भएजस्तो लागेको छ । खेलकुद नेतृत्वसामु आफूले किन र के को आशामा करिअर जारी राख्ने भन्ने उनको प्रश्न छ । राष्ट्रिय प्रतियोगिता अनि सागमा स्वर्ण जितेका खेलाडीलाई ओलम्पिकको सम्मुख फिर्ता बोलाएर आफ्नो करिअरमै प्रहार गरेको गोपीको बुझाइ छ । उनले भनेका छन्, ‘वैकुण्ठ गुरुको कीर्तिमान तोड्ने मेरो लक्ष्य थियो । मलाई आगामी ओलम्पिकका लागि छात्रवृत्ति दिने, अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्था गरिदिन्छु भन्नेजस्ता कुरा लिएर कोही पनि खेलअधिकारी आउनुभएको छैन । मैले शतप्रतिशत प्रयास गरेर मात्र पुग्ने रहेनछ । अब त सुरुमै ग्यारेन्टी गरेर खेल्नुपर्ने स्थिति आयो ।’

भएको के हो ?

ओलम्पिकमा छनोटको तीन आधार हुन्छन् । पहिलो, छनोट प्रतियोगिता वा टाइमिङ पार गर्ने । यसमा नेपाली खेलाडीको सम्भावना निकै कमजोर छ । नेपालका अहिलेसम्म भाग लिएका ८४ ओलम्पियनमध्ये तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र छनोट पार गरेका छन् । त्यसबाहेक अन्य दुई प्रक्रियामा वाइल्ड कार्ड र विश्वव्यापी सहभागिता हो ।

एथलेटिक्स र पौडीमा विश्वव्यापी सहभागिता गराइन्छ । नेपालले टोकियो ओलम्पिकका लागि एक पुरुष खेलाडीको कोटा पाएको थियो । सोहीअनुसार नेपाल एथलेटिक्स संघले नेपाल ओलम्पिक कमिटीमार्फत गत नोभेम्बरमा गोपीचन्द्रको नाम पठाएको थियो । उनले लङलिस्टमा नाम आइसकेको थियो भने प्रवेशपत्र पनि पाइसकेका थिए ।

कोरोनाका कारण ओलम्पिक एक वर्ष ढिला भयो । ओलम्पिक म्याराथनमा विश्व एथलेटिक्स महासंघसँग मिलेर आयोजकले २ घण्टा ११ मिनेट ३० सेकेन्डको क्वालिफाइङ टाइम निर्धारण गरेको छ । गोपीको म्याराथन टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्डको छ । ‘यस संस्करणमा १ सय १० धावकले टोकियोमा म्याराथन दौडिन पाउँछन् । तीमध्ये १ सय ५ धावक क्वालिफिकेसन टाइमिङभित्रका छन्,’ एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले कान्तिपुरसँग भने, ‘बाँकी ५ धावक विश्वव्यापी कोटामार्फत आउने हुन् । त्यसमा गोपीको नाम अटाउन नसकेको हो ।’

उनले अहिलेसम्म अनुभवका आधारमा गोपीले ओलम्पिक खेल्ने निश्चित गरे पनि यो दुर्घटनाले पाठ सिकेको स्विकारे । ‘म अघिल्लो सातासम्म गोपीले नै ओलम्पिक खेल्नेमा ढुक्क थिएँ । विश्वव्यापी कोटामा यस्तो हुँदोरहेछ भन्नेबारे बल्ल बुझ्यौं । गोपीलाई विधा परिवर्तन गरेरै भए पनि राख्न विश्व एथलेटिक्स महासंघ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पनि प्रयास गर्‍यौं तर सफल भएनौं,’ अध्यक्ष शाहले भने, ‘झट्ट सुन्दा हामी स्तब्ध भयौं । तर ओलम्पिक कमिटीले प्रस्टीकरणमा सहमत भएपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गरेको हुँ । यसले सकारात्मक सन्देश जाओस् भन्ने अपेक्षा थियो ।’ अध्यक्ष शाहले ओलम्पिक खेल्न नपाएको पीडामा आफूहरू सधैं गोपीचन्द्रको साथमा रहेको दाबी गरे ।

खेल संस्कार नै छैन : राणा

एथलेटिक्सका पूर्वमुख्य प्रशिक्षक सुशील नरसिंह राणा ‘मागेको कुरामा रोज्न’ पाइँदैन भन्ने तथ्य खेलाडीलगायत सबैलाई प्रस्ट बुझाउन चुक्दा समस्या आएको बताउँछन् । ‘ओलम्पिकको वाइल्ड कार्ड वा युनिभर्सिलिटी कार्ड भनेको माग्ने कुरा हो । माग्दा यही विधाको चाहिँ लेउ भन्न पाइँदैन । आयोजक कमिटीले आफूलाई सहज हुने ठाउँमै परिपूर्ति गर्न खोज्छ । यसबारे न संघलाई जानकारी थियो न त खेलाडीलाई गराइयो,’ राणाले भने, ‘अन्तर्राष्ट्रिय मान्यता नै नभएको प्रतियोगितामार्फत खेलाडी छनोट गराइयो र ओलम्पिकको सपना देखाएर धोका दिइयो ।’

एथलेटिक्सका प्रशिक्षण प्रशिक्षक राणाले गोपीचन्द्रको क्वालिफिकेसन टाइमको लेखाजोखा नगरिकन ओलम्पिक छनोट गराउने एथलेटिक्स संघ र संघकै सिफारिसका आधारमा मात्र धमाधम नाम पठाउने नेपाल ओलम्पिक कमिटीको कमजोरीलाई गम्भीरतापूर्वक नलिने हो भने भविष्यमा यो समस्या दोहोरिन सक्ने दाबी गरे ।

‘ओलम्पिकको क्वालिफिकेसन टाइम एक वर्षअघि नै निर्धारण गरिएको हो । म्याराथनको पूर्ण कोटा र क्वालिफिकेसन टाइमिङमा अटाउने धावक विश्वमा कति छन् । हाम्रा खेलाडीको सम्भावना कति हुन्छ भनेर संघले लेखाजोखा गर्नुपर्दैन ?,’ राणाले प्रश्नहरू तेर्स्याए, ‘यसले खेलाडीको मानसिकतामा कति असर परेको छ भन्ने अनुमान खेल नेतृत्वले लगाउन सक्छ ? गोपी अहिलेका स्टार खेलाडी हुन् । उनलाई प्रेरणा मानेर एथलेटिक्स खेल्न थालेका भाइबहिनीले आफ्नो करिअरलाई किन निरन्तरता दिने ?’ ट्र्याकभित्र खेलाडीमात्र होइन ट्र्याकबाहिर संघ र अन्य निकायहरू उत्तिकै चनाखो र सक्रिय हुनुपर्ने आशय उनको थियो ।

संघका पूर्व उपाध्यक्षसमेत रहेका राणाले छनोट प्रतियोगिता वा क्वालिफिकेसन टाइमिङबाट ओलम्पिक खेल्न दीर्घकालीन विकासको योजना तर्जुमा गरी कार्यान्वयन नगरेसम्म यही समस्याको पुनरावृत्ति भइरहने दाबी गरेका छन् ।

प्रकाशित : असार २०, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

बजेटमा खेलकुद : पूर्वखेलाडीलाई सहुलियत ऋण

कुशल तिमल्सिना

काठमाडौँ — खेलाडीको सामाजिक सुरक्षाका लागि आवश्यक नीतिको दबाब बढिरहेका बेला सरकारले पूर्वखेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत ऋणको नयाँ योजना सार्वजनिक गरेको छ । 

अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालनका लागि सहुलियत कर्जाको व्यवस्था गरेको जानकारी दिए । तर उनले सहुलियत मापदण्ड चाहिँ खुलाएनन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलगायतका पूर्व तथा वर्तमान खेलाडीहरूको संस्थाले खेलाडीको आजीवन सामाजिक सुरक्षाको माग लामो समयदेखि उठाउँदै आएका थिए । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सरकारको यो निर्णयको स्वागत गरे । तर कार्यान्वयनको सुनिश्चित नभएसम्म खुसी हुने स्थिति नरहेको प्रस्ट पारे ।

‘खेलजीवनपछि व्यवसायका लागि सहुलियत ऋण दिने कुरा हाम्रा लागि नौलो छ । वास्तवमै यसको प्रभावकारी कार्यान्वयन भयो भने त हामीले लामो समयदेखि उठाइरहेको सामाजिक सुरक्षाको माग अप्रत्यक्ष सम्बोधन हो,’ बजेटबारे प्रतिक्रिया दिँदै आठौं र नवौं सागका स्वर्णधारी कराते खेलाडी श्रेष्ठले भने, ‘यसले खेलाडीको मनोवल बढाउने काम त्यतिबेला गर्नेछ, जतिबेला वास्तविक पूर्वखेलाडीले लाभ लिन सक्छन् ।’

यस वर्षको बजेटमा खेलकुदको अर्को एउटा महत्त्वाकांक्षी तर दूरगामी प्रभावको कार्यक्रमले प्रवेश पाएको छ । खेल पर्यटनको कुरा यसअघिका बजेटमा उल्लेख भए पनि खेल विद्यालयको अवधारणाले पहिलोपल्ट प्रवेश पाएको हो । ‘नेपाललाई खेल पर्यटनको गन्तव्यको रूपमा विकास गर्न अन्तर्राष्ट्रियस्तरको खेल विद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ,’ बजेट भाषणमा अर्थमन्त्री पौडेलले भने ।

यी बाहेक यसवर्ष बजेटमा पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । युवा तथा खेलकुदका लागि सरकारले २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ करोडले बढी हो । यो संयुक्त बजेट भएकाले खेलकुदको बजेट २ अर्ब हाराहारीमा हुनेछ । यसअघि युवा तथा खेलकुद मन्त्रालयले १ अर्ब ८३ करोड बजेटको सिलिङ आएको बताएको थियो । तर सिलिङभन्दा झन्डै १ अर्ब बढी बजेट विजियोजन गरिएको छ ।

बजेट वक्तव्यमा सम्दुायस्तरबाट नै खेलकुदको विकासका लागि पूर्वाधार, प्रतियोगिता र प्रशिक्षणलाई प्रभावकारी बनाउने उल्लेख छ । त्यस्तै झापाको दमकमा ५० हजार दर्शक क्षमताको मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य २ वर्षभित्र सम्पन्न गर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका–३ चुलाचुली, दुम्सेमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशालाको अवधारणा यसै वर्षदेखि सुरु भएको हो । यहाँ फुटबलका साथै बहुउद्देश्यीय खेलकुद केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

मोरङको बैजनाथपुर, काठमाडौंको मूलपानी, रूपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगन्ज र कञ्चनपुरको महेन्द्रनगर क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यी योजना पछिल्ला दुई आर्थिक वर्षदेखि निरन्तर छन् । सरकारले आगामी वर्ष पोखरा रंगशालाको निर्माण सम्पन्न गर्ने बताएको छ । पोखरा रंगशालाको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी काम पूरा गरी यही वर्ष नवौं राष्ट्रिय खेलकुद आयोजना गर्न पनि बजेट छुट्याइएको छ । कोरोना महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद एक वर्ष सारिएको हो ।

यसै वर्षदेखि धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, वीरगन्ज, जनकपुर र इटहरीमा प्रादेशिक रंगशाला निर्माण अभियान सुरु गरिने भएको छ । लुम्बिनीको प्रादेशिक रंगशालाको रूपमा नेपालगन्ज रंगशालाको निर्माण यसअघि नै सम्पन्न भए पनि पोखराबाहेक अन्य प्रदेशमा सुविधासम्पन्न रंगशाला छैन । देशभरका सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने पुरानै योजनाले निरन्तरता पाएको छ । यस वर्ष १ सय ६८ स्थानीय तहमा खेलग्राम निर्माण गरिने लक्ष्य छ । यसअघिका दुई आर्थिक वर्षमा १ सय ६० स्थानीय तहमा खेलग्राम निर्माण सुरु भएका थिए ।

सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माणका लागि पनि बजेट विनियोजन भएको छ । अघिल्लो वर्षको बजेटमा सम्भाव्यता अध्ययन हुने बताइएकोमा यस वर्ष स्थान पहिचान गरी बजेट विनियोजन भएको हो । तर विज्ञहरूले भने ठूलो लगानीमा निर्माण गरिने यस्ता पूर्वाधारको उपादेयताबारे पर्याप्त अनुसन्धान गरिनुपर्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्ने खेल पहिचान गरी प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गर्न पनि बजेट छुट्याएको अर्थमन्त्रीले बताए । अघिल्ला बजेटमा खेल पूर्वाधार निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्य गरिने भनिएको थियो । तर यस वर्षदेखि त्यो अवधारणा बजेट वक्तव्यमा उल्लेख गरिएको छैन ।

प्रकाशित : जेष्ठ १६, २०७८ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×