कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डेनमार्क क्वाटरफाइनलमा

पहिलो खेलमा क्रिस्टियन एरिक्सन मैदानमै हृदयाघात भएर खेल्न नसक्ने भए पनि डेनमार्कले त्यसयता प्रभावशाली प्रदर्शन गर्दै आएको छ
रोयटर्स

एम्स्ट्रडम — डेनमार्क युरो २०२० को क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ । डेनमार्कले शनिबार वेल्सलाई ४–० ले पराजित गरेको हो । ५ वर्षअघि फ्रान्समा भएको प्रतियोगिताको पछिल्लो संस्करण सेमिफाइनल पुगेको वेल्सलाई डेनमार्कले कुनै अवसर दिएन । वेल्सले प्रमुख प्रतियोगिता खेलेको यो केवल तेस्रो अवसरमात्र हो ।

डेनमार्क क्वाटरफाइनलमा

पहिलो दुई खेलमा पराजित डेनमार्कले पछिल्ला दुई खेलमा समान ४ गोल गर्दै अन्तिम आठमा पुगेको हो । डेनमार्कले सेमिफाइनलमा स्थान पाउन नेदरल्यान्ड्स र चेक गणतन्त्रबीचको विजेतासँग अजरबैजानको बाकुमा शनिबार खेल्ने छ । डच र चेकले आइतबार खेल्नेछन् ।

फिनल्यान्डसँगको पहिलो खेलमा आफ्ना स्टार खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै हृदयघात भएर खेल्न नसक्ने भए पनि डेनमार्कले त्यसयता प्रभावशाली प्रदर्शन गर्दै आएको छ ।

डेनमार्कले समूह चरणको सबै खेल कोपेनहेगनमा खेलेको थियो । यो पहिलो खेल थियो, टोलीले विदेशी भूमिमा खेलिरहेको थियो । कास्पर डोलबर्गका लागि भने यो घरेलु मैदानसरह थियो । युथ एकेडेमीदेखि सुरुआती वर्ष अयाक्सबाट खेलेका उनले योहान क्राएफ एरिनामा २७ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट सानदार गोल गर्दै डेनमार्कको खाता खोलेका थिए । रंगशालामा उपस्थित १६ हजारमध्ये ५ हजार डेनिस समर्थक थिए, त्यसले पनि डेनमार्कलाई घरैमा खेलेजस्तो अनुभूति भएको थियो ।

कोनर रोबर्टस घाइते भएपछि ४० औं मिनेटमा मैदानमा आएका निको विलियम्सले गरेको गल्तीमा डोलबर्ग नै ४८ औं मिनेटमा दोस्रो गोल गर्न सफल भए । विलियम्सले गरेको क्लियर डोलबर्गको खुट्टामा परेपछि उनले त्यसमा कुनै गल्ती गरेनन् । जोकिम महेलेले ८८ औं मिनेटमा तेस्रो गोल गरे । वेल्सका अर्का वैकल्पिक खेलाडी ह्यारी विल्सनले ९० औं मिनेटमा सिधा रेडकार्ड पाए । इन्ज्युरी समयको चौथो मिनेटमा बार्सिलोनाका स्ट्राइकर मार्टिन ब्रेथवेटले चौथो गोल गरेर खेल टुंग्याएका थिए ।

प्रकाशित : असार १३, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?