ओलम्पिक सहभागिताको समीक्षा हुनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ — राजनीतिको उच्च पदमा पुगेर कसैले पनि नेपाली खेलकुदबारे यति सटिक धारणा यसअघि राखेकै थिएन होला । नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार भएको ओलम्पिक डे कार्यक्रमका मुख्य अतिथि थिए, उपराष्ट्रपति नन्दबहादुर पुन ।

ओलम्पिक सहभागिताको समीक्षा हुनुपर्छ : उपराष्ट्रपति पुन

कार्यक्रममा उनको पनि बोल्ने पालो थियो । जतिबेला उनले बोले, त्यसले लगभग नेपाली खेलकुदको चित्र कोरेको थियो । सम्भवतः उनी मज्जाले गृहकार्य गरेर कार्यक्रममा आएका थिए ।

उनको मुख्य तर्क थियो, ओलम्पिकजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागितालाई लिएर समीक्षा हुनुपर्छ । नेपालका लागि अहिलेसम्म हकले ओलम्पिक खेल्ने दुईजना मात्र खेलाडी छन्, तेक्वान्दोका संगीता वैद्य र दीपक विष्ट । दुवैले छनोट भएर नै ओलम्पिक खेले । त्यसबाहेक जतिले सहभागिता जनाए, ती सबै कि त कोटाका खेलबाट थिए । होइन भने वाइल्ड कार्डबाट उनीहरूले सहभागिता जनाए । अनि यसबीचको प्रदर्शनमा पनि नेपाल अधिकांश समय पुछारमै रहेको छ ।

यस्तोमा उपराष्ट्रपतिको प्रश्न थियो, किन यस्तो भइरहेको छ त ? एक महिनापछि नै जापानको टोकियोमा ओलम्पिक हुँदै छ र त्यसमा जति पनि सहभागिता हुनेछ, ती कोटाको खेल र वाइल्डकार्ड नै रहेको छ । उपराष्ट्रपति पुनले थपे, ‘नेपालको सहभागिताको लक्ष्य पदक हुनुपर्छ र त्यसै अनुसार योजना पनि बनाउन आवश्यक छ ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलकुद उच्च प्रदर्शनका लागि कहाँनिर चुकिरहेको छ त ? त्यसबारे आफ्नो मन्तव्यका क्रममा प्रश्न राखे ।

उनी यत्तिकैमा मात्र रोकिएनन् । उनको लिखित भाषणमा ऐतिहासिक ओलम्पिकदेखि आधुनिक ओलम्पिकसम्मको छोटो इतिहास थियो । ओलम्पिकमा नेपालको सभागिताबारे पनि उनले मज्जाले बोले । अझ उनले तेजवीर बुढाको प्रसंग पनि उप्काए । इतिहासले भन्छ, सन् १९२४ मा ब्रिटिस सेनाका तर्फबाट सगरमाथा आरोहणका लागि बुढालाई शीतकालीन ओलम्पिकमा स्वर्ण पदक दिइएको थियो । उपराष्ट्रपतिको अनुरोध थियो, यसबारे पनि पूरा सोधपुछ भएर सत्यतथ्य बाहिर आओस् ।

उनले ओलम्पिक डेलाई लिएर भने, ‘विश्व खेलकुद क्षेत्रका लागि यो महान् दिन हो । ओलम्पिकको इतिहास भनेको समग्र मानव सभ्यताको उचाइ पनि हो ।’ कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालका झण्डा झन्डोत्तोलन पनि गरे । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा पनि भन्डोत्तोलन गरे । त्यस अवसरमा मुकुन्द श्रेष्ठको नेतृत्वमा ओलम्पियन खेलाडीको समूहले उपराष्ट्रपतिलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका थिए ।

प्रकाशित : असार १०, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?