कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ब्राजिलले हरायो कोलम्बियालाई

एजेन्सी

रियो डे जेनेरियो — एक गोलले पछाडि रहेको स्थिति उल्ट्याएर ब्राजिलले कोपा अमेरिकामा बिहीबार कोलम्बियालाई २–१ ले हराएको छ । कासिमिरोले इन्ज्युरी समयको दसौं मिनेटमा हेडबाट निर्णायक गोल गरे । रोबर्टो फिरमिनोले गरेको विवादास्पद गोलको मद्दतमा ब्राजिलले खेल बराबरीमा ल्याएको थियो ।

ब्राजिलले हरायो कोलम्बियालाई

समूह बीको खेलमा कोलम्बियाले दसौं मिनेटमा लुइस डियाजको गोलले अग्रता लिएको थियो । तर फिरमिनोले ७८औं मिनेटमा बराबरी गोल फर्काए । नेयमारले प्रहार गरेको बल रेफ्रीलाई लागेको स्थितिमा बनेको आक्रमणमा फिरमिनोले गोल गरेका हुन् ।

त्यति वेला कोलम्बियाली खेलाडी खेल रोकिने सोचेर अलमलिएको अवस्थामा थिए । भारको मद्दतमा गोलले मान्यता पाएपछि कोलम्बियाली खेलाडीले लामो समय मैदानमा विवाद गरे । ब्राजिलको यो लगातार दसौं जित हो । यसअघि यसै समूहको अर्को खेलमा इक्वेडर र पेरुले २–२ को बराबरी खेले ।

ब्राजिल तीन खेलबाट नौ अंकसहित समूहको शीर्ष स्थानमा छ । टोली यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनल पुगिसकेको छ । कोलम्बिया भने चार खेलबाट चार अंकसाथ दोस्रो स्थानमा छ । यस्तै पेरुको चार र इक्वेडरको दुई अंक छ । भेनेजुएला दुई अंकसाथ समूहको पुछारमा रहेको छ । कुल पाँच टिम सम्मिलित समूहबाट चार टिम नकआउट चरण पुग्नेछन् ।

प्रकाशित : असार १०, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?