१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्पेन सुरक्षित, पोल्यान्ड बाहिरियो

स्पेनले झन्डै दशकपछि प्रमुख प्रतियोगिताको एकै खेलमा ४ वा सोभन्दा बढी गोल गरेको हो ।
रोयटर्स

सेभिया — स्पेनले युरो २०२० मा पहिलो जित हात पार्नेक्रममा आफ्नै शैलीमा स्लोभाकियालाई ५–० ले पराजित गरेको छ । पहिलो दुई खेलमा बराबरी नतिजामात्र निकाल्न सकेपछि कठिन अवस्थामा पुगेको स्पेनले बुधबार सानदार नतिजा निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

स्पेन सुरक्षित, पोल्यान्ड बाहिरियो

समूह ‘ई’ को उपविजेता बनेको स्पेनले समूह ‘डी’ को उपविजेता क्रोएसियासँग सोमबार क्वाटरफाइनलमा स्थान बनाउन कोपनहेगनमा खेल्नेछ । स्विडेन समूह ‘ई’ को विजेता बन्यो । इन्ज्युरी समयमा भिक्टर क्लेसनले गरेको गोलमा स्विडेनले नाटकीय खेलमा पोल्यान्डलाई ३–२ ले हरायो ।

कप्तान रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड यस नतिजापछि समूह चरणबाटै बाहिरिएको छ । उनले दुई गोल गरे पनि पोल्यान्डको हार टार्न सकेनन् । सेन्ट पिटर्सबर्गमा इमिल फोर्सबर्गले ८२ सेकेन्डमै स्विडेनको खाता खोलेका थिए । आरबी लाइप्जिगका मिडफिल्डर फोर्सबर्गले ५९ औं मिनेटमा दोस्रो गोल थपे । लेवान्डोस्कीले त्यसको दुई मिनेटपछि र ८४ औं मिनेटमा गोल गर्दै पोल्यान्डलाई बराबरीमा ल्याएका थिए ।

क्लेसनले ९३ औं मिनेटमा गोल गर्दै नाटकीय खेल स्विडेनको पक्षमा पारेका थिए । पोल्यान्डले १ अंकमात्र जोड्दै पुछारमा रह्यो । स्लोभाकियाको ३ अंकसहित तेस्रो स्थानमा छ, तर टोलीको उत्कृष्ट तेस्रो टोली भई नकआउट चरणमा प्रवेश गर्ने सम्भावना समाप्त भएको छ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ, त्यसबाट प्रत्येक समूहको शीर्ष दुई टोली सोझै अन्तिम १६ मा पुग्नेछन् भने तेस्रो हुने उत्कृष्ट चार टोली पनि नकआउट चरणमा पुग्नेछन् ।

स्पेनले झन्डै दशकपछि प्रमुख प्रतियोगिताको एकै खेलमा ४ वा सोभन्दा बढी गोल गरेको हो । युरो २०१२ को फाइनलमा इटालीलाई ४–० ले पराजित गरेयता स्पेनले पहिलो पटक ४ गोल गर्‍यो । लुइस इनरिकेको टोलीबाट आयमेरिक लापोर्टे, पाब्लो सराबिया र फेरान टोरेसले गोल गरे । फ्रान्सको नागरिकता त्यागेर आएका लापोर्टेले स्पेनबाट पहिलो पटक गोल गरेका हुन् । स्पेनका अन्य दुई गोल स्लोभाकियाका मार्टिन डुब्राभ्का र जुराज कुक्काको आत्मघातीबाट आएको थियो ।

स्पेनले १२ औं मिनेटमै अग्रता लिने मौका पाएको थियो । तर अल्भारो मोराटाका प्रहारलाई न्युक्यासलबाट खेल्ने स्लोभाकियाका गोलरक्षक डुब्राभ्काले रोकेका थिए । स्पेनले लगातार पाँचौं पेनाल्टी गोल गर्न चुकेको हो । यसै युरोमा स्पेनले लगातार दोस्रो पटक पेनाल्टीमा गोल गर्न नसकेको हो ।

अन्तिम १६ मा स्थान पक्का गरेका टोलीमा वेल्सले डेनमार्कसँग र इटालीले अस्ट्रियासँग खेल्नेछन् । नकआउट चरणमा प्रवेश गरे पनि नेदरल्यान्ड्स, बेल्जियम, इंग्ल्यान्ड, स्विडेनले कोसँग खेल्ने निर्क्योल हुन बाँकी छ ।

प्रकाशित : असार १०, २०७८ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?