कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्लेयर्स टु वाच : टिमु पुकी र ओलेक्जान्डर जिनचेन्को

युरो २०२० अन्तर्गत सोमबार राति चारवटा खेल हुँदै छन् ।  राति ९ : ४५ बजे बुखारेस्टमा युक्रेन र अस्ट्रिया भिड्दै छन् भने एम्स्टर्डममा उत्तरी मेसोडेनियाविरुद्ध नेदरल्यान्ड्सले खेल्दै छ । त्यस्तै राति १२ : ४५ बजे सेन्ट पिटर्सबर्गमा फिनल्यान्डविरुद्ध बेल्जियम तथा कोपनहेगनमा रुसविरुद्ध डेनमार्कले  प्रतिस्पर्धा गर्नेछन् 

प्लेयर्स टु वाच : टिमु पुकी र ओलेक्जान्डर जिनचेन्को

आजको 'प्लेयर्स टु वाच' मा हामीले फिनल्यान्डका टिमु पुकी र युक्रेनका ओलेक्जान्डर जिनचेन्कोलाई छानेका छौं ।

टिमु पुकी (फिनल्यान्ड)

५५ लाख जनसंख्या रहेको सानो मुलुक फिनल्यान्डलाई युरोमा छनोट गराउन टिमु पुकीको योगदानका कारण उनलाई राष्ट्रिय नायकको सम्मान दिइन्छ । क्रिस्टियन इरिक्सनको हृदयघातका कारण छायाँमा परेको सुरुआती खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको फिनल्यान्डले ऐतिहासिक नकआउट चरणमा प्रवेश पाउन उच्च लयमा रहेको बेल्जियमलाई रोक्न सक्नुपर्छ । यसका लागि फिनल्यान्डको अग्रपंक्तिमा मुख्य जिम्मेवार रहनेछन् पकी । उनले स्पेन, जर्मनी, स्कटल्यान्ड र डेनमार्कको शीर्ष लिगमा खेलेका छन् । सन् २०१८ यता उनी नर्विच सिटीमा आबद्ध छन् । २०१९/२० को प्रिमियर लिगमा टिम रेलिगेसनमा परे पनि उनको प्रदर्शन उच्चस्तरको थियो । ३१ वर्षे उनले २००९ मा डेब्यु गरेयता फिनल्यान्डका लागि ९३ खेलमा ३० गोल गरेका छन् ।

ओलेक्जान्डर जिनचेन्को (युक्रेन)

समूह ‘सी’ को अन्तिम खेलमा अस्ट्रियाविरुद्ध जित पाएको खण्डमा युक्रेनले युरो २०२० को नकआउट चरणमा प्रवेश पाउनेछ । म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलिरहेका मिडफिल्डर ओलेक्जान्डर जिनचेन्कोले आफ्नो अनुभव अस्ट्रियाविरुद्ध प्रयोग गर्नुपर्नेछ । गृहयुद्धका कारण १७ वर्षे उमेरमै युक्रेन छाडेर भाग्नुपरेका जिनचेन्को रुसी क्लब युफा हुँदै म्यानचेस्टर सिटीसम्म पुग्नुअघि मस्कोको सडकमा एक्लै अभ्यास गरिरहेका हुन्थे । २४ वर्षीय उनको संघर्षको कथा लामो छ । गत सिजन सिटीले प्रिमियर लिग जित्दा उनी पेप ग्वार्डिओलाको मुख्य हतियारमध्ये एक थिए । सन् २०१६ यता युक्रेन टिमबाट खेलिरहेका उनले क्लब स्तरमा भन्दा अगाडि बढेर आक्रामक फुटबल खेल्न पाउँछन् । सिटीबाट उनले लेफ्टब्याक पोजिसनमा खेल्ने गरेका छन् ।

प्रकाशित : असार ७, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?