१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्पेनिस टोली दबाबमा

बीबीसी

लन्डन — स्पेन कुनै समय विश्व फुटबलको प्रमुख शक्ति थियो । तर युरो २०२० मा एक अर्को अपूर्ण प्रदर्शनपछि स्पेनिस टोली समूहको अन्तिम खेलका लागि गम्भीर दबाबमा पर्दा टोलीका पूर्व उपलब्धिहरू फिक्का हुन थालेको छ । 

स्पेनिस टोली दबाबमा

लुइस इनरिकेको टिम शनिबार राति पोल्यान्डसँग १–१ को बराबरीमा रोकियो । समूह ‘ई’ को पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित खेलेको थियो । यसको अर्थ तीनपल्टको युरोपियन च्याम्पियन स्पेन नकआउट चरणमा पुग्न समूहको अन्तिम खेलमा स्लोभाकियालाई हराउनैपर्ने अवस्थामा पुगेको छ ।

‘हामीलाई भाग्यको थोरै अभाव देखियो । हामीले आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका हौं । हामीले प्रयास गरिरहेका छौं र सफल हुनेछौं,’ स्पेनिस डिफेन्डर जोर्डी अल्बाले भने, ‘हाम्रो प्रयासबारेमा कसैले पनि प्रश्न उठाउने ठाउँ छैन । हाम्रो टिमको सकारात्मक परिणाम चाहनेले प्रदर्शनमा दोष दिनु स्वाभाविक हो ।’

एकातिर स्पेनको प्रदर्शन लड्खडाइरह्यो भने पोल्यान्डका लागि त्यो ठूलो सफलता थियो । सुपरस्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले प्रतियोगितामा पहिलो गोल गरेपछि स्पेनको जित रोकेर अर्को चरणको सम्भावना कायमै राख्न पोल्यान्डले धेरै मिहिनेत गरेको छ ।

सन् २००० को दशक र २०१० को सुरुआततिर स्पेन विश्व फुटबलमा डरलाग्दो शक्तिका रूपमा उदाएको थियो । स्पेनले आफ्नो मौलिक ‘टिकीटाका’ शैलीले विश्वभरका विपक्षीलाई हायलकायल पारेको थियो । त्यसैले त २००८ र २०१२ मा लगातार युरो जित्ने कीर्तिमानसहित २०१० को विश्वकप उपाधिसमेत भित्र्याएको थियो ।

पास र बल पोसेसनमा अहिले पनि उनीहरूको प्रभाव उस्तै छ । स्विडेन र पोल्यान्डविरुद्ध क्रमशः ८५ र ७६ प्रतिशत बल पोसेसनको तथ्यांक आफैमा उत्साहजनक हो । तर, बल पोसेसन नियन्त्रणमा राखेर उपयुक्त समयमा आक्रमण गर्ने खेलाडी पनि चाहिन्छ, जसले मुस्किललाई पार लगाउन सकोस् । उनीहरूले अहिले भोगिरहेको समस्या यही हो ।

‘फुटबल अहिले पनि एक शारीरिक खेल हो,’ जर्मनीका पूर्व प्रशिक्षक योर्गेन क्लिन्सम्यानले स्पेनी फुटबलबारे टिप्पणी गरेका छन्, ‘कार्लोस पुयोल, सर्जियो रामोस, सर्जियो बुस्केटहरूले विपक्षीलाई एउटा डर देखाउँथे । त्यो युद्धमैदान जस्तै हुन्थ्यो । अहिलेको स्पेनिस टोली प्राविधिक रूपमा सशक्त छ, उनीहरूलाई मैदानमा कसरी उपयुक्त क्षेत्र निर्माण गर्ने भन्ने थाहा छ । तर, उनीहरूप्रतिको डर बाँकी रहेन ।’

‘जब विपक्षी मैदानमा आउँछन् । त्यहाँ उनीहरूले वार्मअपमा रहेको स्पेनी टिममा पुयोल र रामोस देख्दैनन् भने मनमनै खुसी व्यक्त गर्छन्, हामीलाई अब अवसर भन्ने हुन्छ,’ क्लिन्सम्यानले थपे । स्पेनले २ खेलमा २९ पल्ट पोस्ट आक्रमण गरेको छ तर एक गोलमात्र गरेको छ । पोल्यान्डविरुद्ध अल्भारो मोराटाको क्लोज रेन्ज गोल सुरुमा अफसाइड भएको भन्दै खारेज गरिए पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले मान्यता दिएको थियो ।

पहिलो खेलमा स्विडेनविरुद्ध दुई सानदार अवसर खेर फालेपछि मोराटाले आलोचना खेप्नुपरेको थियो । तर कमजोर आक्रमणका लागि स्पेनको अग्रपंक्तिमा उनीमात्र एक्ला खेलाडी होइनन् । पोल्यान्डसँग जेरार्ड मोरेनोले पेनाल्टी प्रहार पोस्टमा लागेर गोल हुन सकेन । ड्यानी ओल्मोले परिवर्तित हुनुअघि एकमात्र पोस्ट आक्रमण गर्न सके ।

‘स्पेनिस टिममा अहिले धेरै राम्रा खेलाडीको उपस्थिति छ,’ इंग्ल्यान्डका पूर्व डिफेन्डर मिका रिचर्डसले भने, ‘मानिसहरूले हल्ला गरेजस्तो स्पेनमा नाम चलेका सुपर स्टारको कमी भएजस्तो मलाई लाग्दैन । उनीहरूले मात्र एकजना स्ट्राइकरको अभाव महसुस गरिरहेका छन्, जसले अवसरलाई गोलमा परिणत गर्न सकोस् ।’ स्पेनिस फुटबल लेखक गुइलेम बालाग भने स्ट्राइकरको अभावमात्र स्पेनको कमजोरी भएको स्विकार्न तयार छैनन् । ‘योभन्दा खराब मिडफिल्ड स्पेनिस टोलीमा मैले अहिलेसम्म देखेको छैन,’ उनको विश्लेषण छ ।

स्पेनसँग परिस्थिति परिवर्तन गर्ने अझै समय छ । समूह ‘ई’ मा सबै टोलीको सम्भावना खुला छ । स्पेनसँग पहिलो हाफमा पोल्यान्डको अवस्था निरीह देखिएको थियो । तर लेवान्डोस्कीले गोलको खाता खोल्दा आशा जीवित भएको छ । बायर्न म्युनिकका यी सुपरस्टार पछिल्ला वर्षहरूमा क्लब र अन्तर्राष्ट्रिय फुटबलमा उच्च लयमा छन् । सन् २०१९/२० को सिजन ४७ खेलमा ५५ गोल गरेपछि उनी फिफा अवार्डबाट सम्मानित भएका थिए । तर उनी आफ्नो देशका लागि प्रमुख प्रतियोगितामा संघर्षरत छन् । युरोका १३ खेलमा उनको यो तेस्रो गोल हो ।

प्रकाशित : असार ७, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?