कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्लेयर्स टु वाच : म्यानुयल नोया र जेरार्ड मोरेनो

काठमाडौँ — युरो २०२० अन्तर्गत शनिबार महत्त्वपूर्ण ३ वटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ६ : ४५ बजे बुडापेस्टमा हंगेरीविरुद्ध फ्रान्सले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै राति ९ : ४५ बजे म्युनिखमा पोर्चुगलविरुद्ध जर्मनी र १२ : ४५ मा सेभियामा हुने खेलमा स्पेनविरुद्ध पोल्यान्डले प्रतिस्पर्धा गर्नेछ ।

प्लेयर्स टु वाच : म्यानुयल नोया र जेरार्ड मोरेनो

आजको 'प्लेयर्स टु वाच' मा हामीले जर्मनीका गोलरक्षक म्यानुयल नोया र स्पेनका स्ट्राइकर जेरार्ड मोरेनोलाई छानेका छौं ।

म्यानुयल नोया (जर्मनी)

म्यानुयल नोयाले जब संन्यास लिनेछन्, उनलाई आफ्नो समयका विश्वकै महान गोलरक्षकका रूपमा स्मरण गरिनेछ । बक्सबाहिर निस्किएर निडर दृष्टिकोण बनाउने तथा वान भर्सेस वानको अवस्थामा उपयुक्त निर्णय लिनसक्ने उनको क्षमता अद्भूत मानिन्छ ।

म्याट हमल्सले आत्मघाती गोल गरेपछि युरो २०२० को आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजित जर्मनीलाई नकआउट चरणमा पुग्न पोर्चुगलमाथि प्रभावशाली प्रदर्शन अत्यावश्यक छ । पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोको आक्रमण रोक्न नोयाले आफ्नो अनुभवको उच्चतम उपयोग गर्नुपर्नेछ । २०१४ को विश्वकप जर्मनीले जित्दा उनले करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए । युरोमात्र यस्तो उपाधि हो, जुन उनले अहिलेसम्म जित्न सकेका छैनन् । ३५ वर्षीय उनले जर्मनीका लागि २००९ यता १ सय १ क्याप जितेका छन् ।

जेरार्ड मोरेनो (स्पेन)

कीर्तिमानी बल पोसेसन लिएर पनि स्विडेनसँगको निराशाजनक बराबरीपछि खेलाडी छनोटलाई लिएर स्पेनिस प्रशिक्षक लुइस इनरिकेको चर्को आलोचना भइरहेको छ । ला लिगामा लियोनल मेसीपछि सर्बाधिक गोलकर्ता तथा भिल्लारियललाई युरोपा लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका स्ट्राइकर जेरार्ड मोरेनोले सुरुआती ११ मा स्थान पाएनन् ।

तीनपल्टको युरो विजेता स्पेनलाई लयमा फर्कने दबाबबीच उच्च लयमा रहेका स्ट्राइकर मोरेनोले पोल्यान्डविरुद्ध सुरुआती अवसर पाउने सम्भावना छ ।

गत सिजन ४६ खेलमा ३० गोल र ११ असिस्ट गरेका उनले स्पेनिस अग्रपंक्तिमा फेरान टोरेस र अल्भारो मोराटासँग उपयुक्त सन्तुलन मिलाउन सक्छन् । २९ वर्षीय यी स्ट्राइकरले सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता १२ खेलमा ५ गोल गरेका छन् ।

प्रकाशित : असार ५, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?