इटालियन टिममा जेमनको प्रभाव

एपी

रोम — यी ७४ वर्षीय चेक प्रशिक्षकले लगातार चुरोट खान्छन् । त्यसैले उनको वरिपरि चिम्नीभट्टाजस्तै देखिन्छ । अहिले युरो २०२० खेलिरहेको इटालीको टिममा प्रशिक्षक रोबर्टो मान्चिनीको जति प्रभाव छ, त्योभन्दा बढी यिनै ७४ वर्षे चेक प्रशिक्षकको छ ।

इटालियन टिममा जेमनको प्रभाव

सिरो इमोबाइल, लोरेन्जो इन्सिग्ने र मार्को भेराट्टी । यी तीनै खेलाडी सिरी ‘बी’ क्लब पेस्काराबाट मूलधारको इटालियन फुटबलमा पुगेका हुन् । त्यो पनि एक दशकजति अगाडि ।

त्यतिबेला उनीहरूले आक्रामक फुटबलको रणनीति सिके । अहिले इटालीका लागि लागू गरिरहेका छन् । त्यो त्यही बेला पेस्कारामा सिकेको हो । त्यतिबेला पेस्काराका लागि उनै चेक प्रशिक्षक थिए जेडेनिक जेमन । इटालीले टर्की र स्विट्रल्यान्डलाई हराउँदा सबैभन्दा बढी छाएका खेलाडी इमोबाइल र इन्सिग्ने नै थिए । छनोट यात्रामा भेराट्टीको योगदान पनि कम्ती थिएन । लामो समयदेखि इटालीको राष्ट्रिय टिममा लगातार छाइरहेका छन् यी खेलाडीहरू ।

त्यसैले जेमनलाई यो तथ्यमा खुबै गर्व छ । उनी भन्छन्, ‘म सम्झन्छु यी तीन मैदानमा उत्रँदा उनीहरूले एकअर्काको भाषा आँखा चिम्लेर पनि बुझ्थे, अहिले यसैले मज्जाले काम गरिरहेको छ ।’ गजेटा डेलो स्पोर्ट्सले यसबारे एउटा सम्पादकीय नै लेखेको छ । त्यसमा जेमनले भनेका छन्, ‘इमोबाइल र इन्सिग्नेलाई लिएर सबैभन्दा सुन्दर पक्ष हो, यी जोडिएका दुई खेलाडी हुन्, जसको प्रदर्शन एकापसबीचको साझेदारीमा टिक्छ । उनीहरू एकापसका लागि खेल्छन् । एकले अर्कोलाई खोज्छन् र एकले अर्कोलाई पाउँछन् पनि ।’

सन् २०११–०१२ को सिजनमा पेस्काराका लागि इमोबाइलले २८ गोल गरेका थिए भने इन्सिग्नेले १८ । रमाइलो के भने यी सबै गोलमा सबैभन्दा बढी सहयोगीको भूमिका निभाएका थिए, त्यतिबेलाका १८ वर्षे भेराट्टीले । त्यो सिजन पेस्काराले बढुवा खाएर सिरी ‘ए’ को यात्रा तय गरेको थियो । भेराट्टीले त माथिल्लो कुनै पनि डिभिजनमा नखेलेर सिधै पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्तो शक्तिशाली क्लबमा आवद्ध हुने अवसर पाए ।

चोटका कारण अहिले भेराट्टीले चिताएजस्तो अवसर भने पाइरहेका छैनन् । तर प्रतियोगिता अगाडि बढ्दै जाँदा उनको उपयोग हुने छ नै । मान्चिनीले पनि जेमनको जस्तै ४–३–३ को शैली नै अपनाउने गर्छन् । अझ कहिलेकाहीं एकैचोटि पाँच खेलाडीलाई आक्रमणमा लगाउने गर्छन् । ठीक यही बेला जेमनको टिमभन्दा फरक के भने अहिलेको इटालीको टिम डिफेन्समा धेरै मजबुत देखिन्छ । पेस्काराले त्यस सिजन अविश्वसनीय रूपमा ९० गोल गरेको थियो ।

तर यसबीच उसले ४२ खेलमा ५५ गोल पनि खाएको थियो । यसले प्रस्ट देखाउने गर्छ, जेमनले कति धेरै आक्रमणलाई मात्र ध्यान दिएका थिए भनेर । पेस्काराले लगातार आक्रमण बुन्दा टिमको डिफेन्समा कहिलेकाहीं ह्वाङ्ग प्वाल पर्ने गर्थ्यो । अहिलेको इटालीको टिमले जतिबेलादेखि मान्चिनीको नेतृत्वमा खेलेको छ, आक्रमणमा ध्यान दिएको छ नै । डिफेन्समा पनि उत्तिकै ध्यान दिइएको छ । त्यसैले जेमन भन्छन्, ‘इटालीले युरो २०२० मा लामो यात्रा तय गर्ने निश्चित छ ।’

प्रकाशित : असार ४, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?