२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्लेयर्स टु वाच : गोरान पान्डेभ र जर्जिनियो विज्‍नाल्डम

काठमाडौँ — युरो २०२० अन्तर्गत बिहीबार ३ वटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ६ : ४५ बजे बुखारेस्टमा युक्रेनविरुद्ध उत्तरी मेसेडोनियाले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै राति ९ : ४५ बजे कोपनहेगनमा डेनमार्कविरुद्ध बेल्जियम र १२ : ४५ मा रोममा हुने खेलमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रियाले प्रतिस्पर्धा गर्नेछ ।

प्लेयर्स टु वाच : गोरान पान्डेभ र जर्जिनियो विज्‍नाल्डम

आजको 'प्लेयर्स टु वाच' मा हामीले उत्तरी मेसेडोनियाका गोरान पान्डेभ र नेदरल्यान्ड्स जर्जियो विज्नाल्डमलाई छानेका छौं ।

गोरान पान्डेभ (उत्तरी मेसेडोनिया)

युगोस्लाभियाबाट सन् १९९१ मा अलग भएको उत्तरी मेसेडोनियाले २००१ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यो २० वर्षको मेसेडोनियाको अन्तर्राष्ट्रिय फुटबल यात्रामा निरन्तर छन् टोलीका स्ट्राइकर गोरान पाण्डेभ । यसक्रममा उनले १ सय २० खेल खेल्दै ३८ गोल गरिसकेका छन् । उनले जर्जियाविरुद्धको प्लेअफमा निर्णायक गोल गरेर मेसेडोनियालाई युरोपियन च्याम्पियनसिपमा ल्याएका थिए ।

पहिलो पटक प्रमुख प्रतियोगिता खेलिरहेको मेसेडोनिया पहिलो खेलमा अस्ट्रियासँग ३–१ ले पराजित भए पनि पाण्डेभकै गोलमा उनले आफ्नो टोलीलाई एक समय खेल बराबरीमा ल्याएका थिए । बिहीबार युक्रेनविरुद्ध खेल्दा लाजियो र इन्टर मिलानबाट खेलिसकेका ३७ वर्षे पाण्डेभमै मेसेडोनियाको आशा रहनेछ ।

जर्जिनियो विज्नाल्डम (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सका यी कप्तान अहिले चर्चामा छन् । लिभरपुल छाडेपछि ३० वर्षे उनी बार्सिलोना जाने चर्चा थियो, तर विज्नाल्डम खुला सरुवामार्फत पुगे पेरिस सेन्ट जर्मेन । अर्को नियमित कप्तान भर्जिल भान डाइक चोटका कारण खेल्न नसक्ने भएपछि उनले यस युरोमा नेदरल्यान्ड्सको कप्तानी गरिरहेका छन् । उनले नै युक्रेनविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्सका लागि पहिलो गोल गरेका थिए ।

मिडफिल्डका यी क्रियाशील खेलाडीले नेदरल्यान्ड्सबाट ७६ खेलमा २३ गोल गरिसकेका छन् भने गोलका लागि पास मिलाउन उत्तिकै माहिर छन् ।

प्रकाशित : असार ३, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?