लय कायम राख्ने इटालीको उद्देश्य

एएफपी

रोम — इटालीले अहिले लगातार उत्कृष्ट प्रदर्शन गरिहेको छ । युरो २०२० मा बुधबार स्विट्जरल्यान्डको सामना गर्दा इटालीको उद्देश्य यही लय कायम राख्ने हुनेछ । आफ्नो पहिलो खेलमा इटाली टर्कीविरुद्ध निकै बलियो देखिएको थियो ।

लय कायम राख्ने इटालीको उद्देश्य

त्यसमा उसले आत्मघाती गोल मद्दतमा अग्रता लिएपछि सिरो इमोबाइल र लोरेन्जो इन्सिग्नेले गोल गरेका थिए । यो इटालीको लगातार नवौं जित हो । यी सबै खेलमा इटालीले कुनै गोल पनि खाएको छैन ।

अब रोबर्टो मान्चिनीको इटालीले दसौं खेलमा पनि गोल नखाएर जित निकाले यस्तो उत्कृष्ट लय उसको फुटबल इतिहासमै दोस्रोपल्ट मात्र हुनेछ । स्विट्जरल्यान्डले भने वेल्सविरुद्धको आफ्नो पहिलो खेल गोलरहित बराबरी खेलेको थियो । यसपल्ट इटालीको सामना गर्दा स्विस टिमले केही न केही प्राप्त गर्ने उद्देश्य राख्न सक्नेछ । यो गोलका रूपमा हुन सक्छ वा एक अंकका रूपमा । स्विस प्रशिक्षक भ्लादिमिर पेट्कोभिच मान्छन्, यो खेल निकै कठिन हुनेछ ।

उनले भनेका छन्, ‘इटालीविरुद्धको खेल पक्कै फरक हुनेछ । हामीले वेल्सविरुद्ध निकै धेरै आक्रमण बुन्यौं र अवसर बनायौं, तर त्यसबाट खाली एकै गोलमात्र गर्न सक्यौं । यो हाम्रा लागि निराशाजनक रह्यो ।’

मान्चिनीले भने स्विसविरुद्धको खेललाई लिएर भनेका छन्, ‘टर्कीविरुद्ध हाम्रो प्रदर्शन सुन्दर रह्यो । विश्वास गरौं, अबको खेल पनि यस्तै हुनेछ । मलाई लाग्छ, यस्तो नतिजा अझै आउने छ । हामीलाई लामो बाटो तय गर्नुपर्नेछ र यो उपाधितर्फ नै हुनेछ ।’

टर्कीविरुद्ध वेल्स

बाकु– टर्कीले बुधबार समूह ‘ए’ मा वेल्सको सामना गर्दा दुवै टिम आफ्नो स्थिति बलियो बनाउने उद्देश्यमा हुनेछ । वेल्सले स्विट्जरल्यान्डविरुद्धको आफ्नो पहिलो खेलमा १–१ को बराबरी खेलेको थियो । टर्की भने इटालीको हातबाट ३–० ले पराजित भएको थियो । त्यो खेलमा टर्की कमजोर देखिएको थियो । ‘डार्क हर्स’ मानिए पनि टर्कीले इटालीविरुद्ध यस छविअनुसार प्रदर्शन गर्न सकेन । लगातार दोस्रो हारको अर्थ टोलीका लागि प्रतियोगिताबाट लगभग बाहिरिनु हुनेछ ।

वेल्स भने तुलनात्मक रूपमा केही बलियो स्थितिमा छ । टर्कीले इटालीको सामना गर्नु अगाडि लगातार ६ खेलमा हार बेहोरेको थिएन । वेल्सविरुद्धको खेलमा टर्की केही अगाडि रहेको छ । टर्की वेल्ससँग सन् १९८१ मा पछिल्लो पटक पराजित भएको थियो । यो समूहमा सबैभन्दा बलियो टिम इटाली हो र उसले नै समूह जित्ने सम्भावनाबीच अन्य तीन टिमका लागि बराबरीको नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन सक्नेछ ।

फिनल्यान्डविरुद्ध रुस

सेन्ट पिटर्सबर्ग– युरो २०२० को समूह ‘बी’ मा बुधबार फिनल्यान्डले रुसको सामना गर्दा दुवै टिमको मनस्थिति फरक हुनेछ । फिनल्यान्डले युरोमा गरेको डेब्यु खेलमा डेनर्माकलाई हराएको थियो । त्यसमा जोएल फोजानपालो हेडबाट निर्णायक गोल गरेका थिए । अझ त्यसमा गोलरक्षक लुकास हाडेकीले पेनाल्टीमा गोल जोगाएर फिनल्यान्डको जित निश्चित पारेका थिए । भलै, यो खेल क्रिस्टियन एरिक्सनको घटनाले ओझेलमा परे पनि फिनल्यान्ड जितमा खुसी भने छ ।

त्यसको ठीकविपरीत रुस आफ्नो पहिलो खेलमा बेल्जियमसँग ३ गोलले पराजित भएको थियो । त्यसमा रुस आफ्नो विपक्षी टिम अगाडि कमजोर नै देखिएको थियो । युरोमा रुसले आफ्ना पछिल्ला ६ खेलमा जित निकाल्न सकेको छैन, त्यसमध्ये ४ खेलमा पराजित छ । फिनल्यान्डविरुद्धको खेलमा भने रुस अगाडि छ । टोलीले आफ्नो छिमेकीविरुद्ध बेहोरेको एकमात्र हार सन् १९१२ को ओलम्पिकमा सम्भव भएको थियो ।

प्रकाशित : असार २, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?