कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेसको वृत्त फैलाएका जोशी

‘राजेशहरि जोशीको निधन नेपाली चेसका लागि ठूलो क्षति हो । सम्भवतः उनी जत्तिको व्यक्तित्व नेपाली चेसले पाउने छैन ।’
हिमेश

काठमाडौँ — फुटबल र क्रिकेट त त्यसै भइहाले, नेपाली मिडियामा प्रायः यिनै दुई खेल बढी छाउने गर्छ । पछिल्लो समय भलिबल भयो । त्यसपछि ? ठ्याक्कै उत्तर दिन गाह्रो हुनसक्छ, तर त्यसको नजिक पुग्ने खेल हो, चेस (बुद्धिचाल) ।

चेसको वृत्त फैलाएका जोशी

यसमा ग्ल्यामर छैन । न त यसले कुनै ठूलो अन्तर्राष्ट्रिय उपलब्धि नै हात पारेको छ । तर नेपालमा यो चलायमान खेल हो । यो खेलमा केही न केही भइरहन्छ । यसको कारण हो, यो खेललाई असाध्यै माया गर्ने केहीको पागलपन ।

यस्तै नेपाली चेसलाई असाध्यै माया गर्नेमा पर्थे राजेशहरि जोशी । उनको पृष्ठभूमि खेलाडीको होइन । उनी पदाधिकारीका रूपमा नेपाली चेसमा प्रवेश गरे, यसलाई एउटा उचाइ दिए । अहिले यिनै जोशी एकाएक हराएका छन् । हराएको के अर्थमा भने नेपाली चेसलाई स्तब्ध पार्दै नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष जोशीको आइतबार निधन भयो । उनी ६३ वर्ष थिए । अझै धेरै गर्नसक्थे नेपाली चेसमा । पाटन सुन्धारास्थित घरमा छँदै आइतबार साँझ हृदयघात भएको थियो ।

भनिन्छ, चेस त्यस्तो एकमात्र खेल हो, जससँग एकपल्ट नजिक हुनुपर्छ, त्यसपछि टाढा हुन सकिन्न । यसैमा झुम्मिने हुन्छ । त्यो पनि एकोहोरो । केही नभए पनि १५ वर्षअगाडि उनी औपचारिक रूपमा नेपाली चेससँग जोडिएका थिए, मकवानपुर चेस संघको उपाध्यक्ष भएर । त्यतिबेला नेपालमा पहिलोपल्ट रेटिङ प्रतियोगिता भएको थियो । उनी यसै अवसरमा यो खेलसँग जोडिए । २०६४ सालमा उनी पहिलोपल्ट चेस संघको अध्यक्ष भए ।

उनले दुई कार्यकाल नेपाली चेसको नेतृत्व गरे । उनको अध्यक्षता २०७२ सालसम्म चलेको थियो । ‘नेपाली चेसका लागि यो नै त्यो समय हो, जतिबेला यसले उडान लिएको थियो । एक प्रकारको निर्णायक परिवर्तनबाट गुज्रिएको थियो,’ अनुभवी खेलाडी तथा चेस व्यक्तित्व सुजेन्द्रप्रसाद श्रेष्ठ मान्छन् । नेपाली चेस संघको आधिकारिक इतिहास पनि धेरै लामो छैन । नेपाल बाघचाल र बुद्धिचाल संघ २०३५ सालतिर अस्तित्वमा आएको थियो, ०४९ पछि चेसको मात्र आफ्नै अलग संघ बन्यो । त्यसयता अहिलेसम्म पाँच अध्यक्ष बने । जोशी चौथो अध्यक्ष थिए । उनले नेपाली चेसमा कायापलट गरे ।

‘जोशीको निधन नेपाली चेसका लागि ठूलो क्षति हो । सम्भवतः उनी जत्तिको व्यक्तित्व नेपाली चेसले पाउने छैन,’ श्रेष्ठ मान्छन् । मखन चेस क्लबका श्रेष्ठको यो दाबी ठीक पनि हो । यो के अर्थमा भन्दा जोशीले नेपाली चेसवृत्तलाई ठूलो पारे । त्यो भनेको अन्तर्राष्ट्रियकरण गरे । एकप्रकारले उनमा पर्याप्त कूटनीतिक चलाखी थियो, नेपाली चेसका लागि त्यसको भरपूर प्रयोग गरे ।

चेस संघका अध्यक्ष छँदा एक प्रसंगमा जोशीले यस संवाददातासँग भनेका थिए, ‘नेपाली चेसलाई विकास गर्नु छ भने घरमै मात्र सीमित रहेर हुन्न । नेपाली चेसले अन्तर्राष्ट्रिय सम्बन्ध पनि उत्तिकै मजबुत बनाउनुपर्छ ।’ हो पनि । यसैक्रममा उनी एसियाली जोनल–३.२ को एक कार्यकालका लागि अध्यक्षसमेत बने । भारत छाडेर यसमा दक्षिण एसियाली देश सदस्य हुने गर्छन् । नेपाली चेसका कोही व्यक्ति त्यति ठूलो अन्तर्राष्ट्रिय पदमा पुगेको यो एक्लो उदाहरण हो ।

पछिल्लो समय उनी अन्तर्राष्ट्रिय चेस महासंघको इथिक्स कमिटीका सदस्य पनि थिए । उनको अध्यक्ष कार्यकालमा दुई ठूला प्रतियोगिता नेपालमा भए । पहिलो त ग्रान्ड मास्टर्सको प्रतियोगिता थियो भने अर्को एसियाली जोनलकै । उनको पालामा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता पनि बाक्लो रह्यो । मनीष हमाल फिडे मास्टर भएको उनकै कार्यकालमा हो । उनले नेपाली आर्बिटरको विकासका लागि उत्तिकै भूमिका खेले ।

पेसाले इन्जिनियर र नेपाली सहकारीमा पनि उत्तिकै दख्खल तथा योगदान दुवै रहेका जोशीको अर्को एउटा ठूलो विशेषता छ । त्यो उनले नेपाली चेसमा व्यक्तिगत रूपमा लगानी गरे, त्यसको प्रतिफल खोजेनन् । व्यक्तिगत रूपमा उनी उत्तिकै भलाद्मी थिए । प्रायः उनको मुहार हँसिलो रहने गर्थ्यो । नेपाली चेससँग लामो समयदेखि कुनै न कुनै रूपमा आबद्ध ज्ञानेन्द्र खाइजुले ठीकै भनेका छन्, जोशीको निधन भनेको नेपाली चेसले अभिभावक गुमाएजस्तै हो । नेपाली चेस उनीप्रति सधैं ऋणी रहनेछ ।

प्रकाशित : असार १, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?